५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन। विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ।

विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ।

बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ। हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यहाँको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेपछि सडक ‘एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको जानकारी दिए।

'यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि रु तीन करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो,' उनले भने, 'एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो। तर, वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो।'

कार्यालय प्रमुख पटेलले आव सुरु हुने बित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको बताए। रासस

प्रकाशित: २७ असार २०८२ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App