coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीका लागि मलेसिया प्रमुख गन्तव्य

नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार विगत ५ महिनामा (गत बैशाखदेखि भदौसम्म) १ लाख ६९ हजार ६ सय ९३ जना विदेश गएका छन्। तीमध्ये मलेसिया जानेको संख्या ८० हजार ८ सय २३ जना रहेको छ। बैशाखमा मलेसिया जानेको संख्या २ हजार ५ सय ३८ जना, जेठमा ७ हजार १ सय ४१, असारमा १५ हजार ७ सय ८०, साउनमा २२ हजार ३ सय ६१ र भदौमा ३३ हजार ३ जना गएका छन्। केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो भने अहिले मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए। दिन प्रतिदिन नेपालीहरू वैदेशिक रोजगारीको खोजी गर्दै मलेसिया जानेको संख्या बढिरहेको उनले बताए।

विभागको तथ्याङ्क अनुसार बैसाखदेखि भदौसम्ममा मलेसिया पछि साउदी अरब जानेको संख्या २२ हजार ७ सय ८९ रहेको छ। त्यस्तै गरी कतारमा २० हजार ६ सय ३२, कुवेतमा १७ हजार ३ सय ६२ जना र युएईमा १४ हजार ८ सय १ जना वैदेशिक रोजगारीको क्रममा गएको तथ्याङ्क छ। गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाली मजदुरका रूपमा गएको देखिन्छ।

त्यसैगरी सरसफाइ गर्ने कामदार, कारखानाका कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका भुसालले बताए। म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका श्रमिक रहेको तथ्याङ्कले देखाउँछ। पछिल्लो समयमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि व्यक्तिगत प्रयासमा युएई जाने गरेको तथ्याङ्क छ।

यही बैशाखमा व्यक्तिगत प्रयास गरी महिला पुरुष गरेर जापान जानेको संख्या ६ सय ९० जना र जेठ, असार, साउनमा युएई जानेको संख्या ३ हजार ७ जना पुगेको छ। भदौ महिनामा भने दक्षिण कोरिया जाने पुरुष १ हजार ४ सय २४ र महिला २ सय ८० गरेर जम्मा १ हजार ७ सय ४ जना पुगेको निर्देशक भुसालले बताए।

यही वैशाखदेखि भदौ सम्ममा वैदेशिक रोजगारीका लागि सबै भन्दा बढी सिप भएका व्यक्तिहरू गएको भुसाल बताउँछन्। यसअवधिमा सिपभएका जम्मा १ लाख ८३ हजार २ सय ९३ जना वैदेशिक रोजगारीका लागि गएको तथ्याङ्क विभागले दिएको छ।

त्यस्तैगरी वैदेशिक रोजगारीमा सिप नभएका १ लाख ३ हजार १ सय ९७, अर्ध दक्ष २२ हजार ७ सय २०, व्यावसायिक सिप भएका ३ सय ८१ र पूर्ण दक्ष (सबैभन्दा कम) ५७ जना रहेका छन्। तलब एवं सेवासुविधाका आधारमा आकर्षक श्रम बजारमा भन्दा पनि जहाँबाट माग आयो त्यहीं नेपाली कामदार पठाउने प्रवृत्ति रहेको कतिपय विज्ञ बताउँछन्। जहाँबाट धेरै कामदारको माग आउँछ त्यतै जाने गरेको वैदेशिक रोजगार विभागका भुसालले बताए

विभागको तथ्याङ्क अनुसार प्रत्येक महिना धनुषा जिल्लाबाट उच्च मात्रामा रोजगारीको खोजी गर्दै विदेशिएका छन्। पाँच महिना (वैशाख-भदौ सम्म) को अन्तरालमा महिला पुरुष गरेर धनुषा जिल्लाबाट मात्रै ९ हजार ४ सय १४ जना विदेश गएका छन्।

‘हामीले दक्ष कामदार पठाउन सकेको भए उनीहरूले पठाउने रेमिट्यान्स पनि बढी हुन्थ्यो र राज्यले उद्धार लगायतका काममा पनि धेरै समय खर्चिनु पर्दैनथ्यो’ निर्देशक भुसाल भन्छन्, ‘घरेलु हिंसामा पर्ने, अलपत्र पर्ने नेपाली कामदारको संख्या पनि कम हुन्थ्यो। यो अवस्थामा सुधारका निम्ति प्रयासहरू जारी रहे पनि अझै अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको निर्देशक भुसालको भनाइ छ।

नेपालमा रोजगारी पाउने स्थिति नभएपछि अन्य मुलुकमा जाँदा केही सिप सिकेर जानु पर्छ भन्ने सोच एकदमै कम मानिसहरूमा मात्र रहेको देखिन्छ। हाम्रा कामदारले कहाँ राम्रो र धेरै सुविधा पाउँछन् उनीहरूको कहाँ धेरै सुरक्षा हुन्छ भन्ने कुरामा त्यति ध्यान दिइएको देखिँदैन। कामको खोजीमा केही विचार नगरी आफ्नो मुलुक छोड्नेहरूको संख्या उच्च रहेकाले अधिक समस्या देखिएको छ।

निर्देशक भुसालका अनुसार नेपालले दक्ष कामदारहरू पठाउन सकेको भए यहाँ भित्रिने विप्रेषणले अर्थतन्त्रलाई राम्रै टेवा पुर्‍याउने थियो। ‘नेपाल आउने रेमिट्यान्स नै अहिलेको भन्दा दुई/तीन गुना बढी हुन्थ्यो। कामदारले व्यक्तिगत रूपमा र राज्यले लिने फाइदा पनि उल्लेख्य हुन्थ्यो, उनले बताए। श्रम कूटनीति र अर्थ कूटनीतिलाई लिएर राज्य गम्भीर हुनुपर्ने उनको सुझाव छ।  

प्रकाशित: २७ कार्तिक २०७९ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App