७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षको तीन महिनामा ७०५ सवारी आयात

चालु आर्थिक वर्षको बजेटमा एक सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा लाग्दै आएको १० प्रतिशत अन्तःशुल्क हटाएसँगै तीन महिनाका अवधिमा एक सय किलोवाट क्षमताका सवारी साधनको आयात ह्वातै बढेको छ।  

भन्सार विभागका अनुसार चालु आवको तीन महिनाको अवधिमा ७ सय ५ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। एक सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क घटाएसँगै तीन महिनाका अवधिमा एक अर्ब ९१ करोड रूपैयाँ बराबरको ६ सय ८६ वटा विद्युतीय कार, जीप र भ्यान ६ सय ८६ वटा आयात भएका छन्।  

सरकारले चालु आवको बजेटमा एक सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा अन्तःशुल्क हटाए पनि अन्य विद्युतीय सवारी साधनमा भने अन्तःशुल्क बढाएकाले ठूला क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै घटेको छ।  

सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको थियो। त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको ४५ प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत पु¥याएको थियो ।

त्यसैगरी यी तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधन अन्यन्तै न्युन संख्यामा मात्रै आयात हुँदै आइरहेका छन्। सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत पु¥याएको छ।  

आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सार दर ३० प्रतिशत रहेकोमा अहिले वृद्धि गरेर ४५ प्रतिशत कायम गरेको छ। तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ ।

तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷८९ को अध्यादेशमार्फत ल्याएको बजेटमा एक सय किलोवाट क्षमताको विद्युतीय सवारी साधन आयात गर्दा १० प्रतिशत भन्सार दर कायम गरेका थिए। त्यसैगरी दुई सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत र दुई सयदेखि तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन आयात गर्दा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको थियो ।

सोही अवधिमा २३ करोड रूपैयाँका २३ सय ९३ वटा तीन पाङग्रे विद्युतीय सवारी साधनको आयात भएको छ। विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७÷७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। गत आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै झण्डै ६ गुणा बढी विद्युतीय सवारी साधन भित्रिएका हुन्।  

विभागका अनुसार गत आर्थिक वर्षमा २ अर्ब ६६ करोड रूपैयाँको एक सय किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यान ९ सय ९६ वटा भित्रिएका छन्। सो अवधिमा ३ करोड ६७ लाख रूपैयाँ बराबरको १५० किलोवाट क्षमताको १३ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। यसैगरी दुई अर्ब ५६ करोड रूपैयाँको १०० देखि २ सय किलोवाट क्षमताका ७९२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।  

विभागका अनुसार २०० देखि ३०० किलोवाट क्षमताका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ४१ लाख रूपैयाँ खर्च भएको थियो। त्यस्तै गरी ३ सय किलोवाट क्षमताका दुई वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ५६ लाख रूपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १८ करोड ५५ लाख रूपैयाँ बराबरको एक सय किलोवाट क्षमताको विद्युतीय कार, जीप र भ्यान १२० वटा आयात गरिएको थियो।  

त्यसैगरी ७ करोड ६४ लाख रूपैयाँको ५० देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यान २५ वटा आयात भएको थियो। १६ करोड ६४ लाख रूपैयाँ बराबरको एक सयदेखि १५० किलोवाट क्षमताका ५३ वटा विद्युतीय सवारीसाधन आयात भएको थियो। त्यसैगरी २२ करोड ९३ लाख रूपैयाँ बराबरको १५० देखि २ सय किलोवाट क्षमताका ५३ वटा विद्युतीय सवारी साधन आयात भएको थियो।  

सरकारले गत आर्थिक वर्षमा ६२ करोड १९ लाख रूपैयाँको ६ हजार ४ सय पाँच वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन भित्र्याएको थियो। आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ४९ लाख रूपैयाँको १९ सय ४३ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात गरिएको थियो ।

प्रकाशित: २० कार्तिक २०७९ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App