१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरामा एक करोड लिटरका डिजेल ट्यांक

नेपाल आयल निगमले पोखरामा निर्माण गरेको डिजेल भण्डारण गृह। तस्बिरस: नागरिक

पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्यांक निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाल आयल निगमले पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा गण्डकी प्रादेशिक कार्यालय माताहतको निगम डिपो परिसरमै ५–५ हजार किलोलिटर क्षमताका दुई वटा डिजेल भण्डारण गृह बनाएको हो।

१० हजार किलोलिटर (१ करोड लिटर) का डिजेल भण्डारण ट्यांक निर्माणको काम पुस मसान्तसम्म सम्पन्न हुने आयोजना प्रमुख मनोज ठाकुरले बताए। ‘ट्यांक निर्माणको मेकानिकल काम ९२ प्रतिशत सम्पन्न भएको छ,’ ठाकुरले भने, ‘सिभिल र फिनिसिङको केही काम बाँकी छ।’ निगमले करिब ७७ करोड रूपैयाँको लगानीमा भण्डारण गृह निर्माण गरेको हो। अत्याधुनिक प्रकारको भण्डारण गृह निर्माण भएको ठाकुरले बताए। यो आयोजना निर्धारित समयमै सम्पन्न गर्ने तयारी छ।  

निगमको इतिहासमा झण्डै दुई दशकपछि भण्डारण क्षमता विस्तार भएको छ। निगमले वि.सं. २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन। पर्याप्त भण्डारण क्षमता नहुँदा २०७२ सालमा भारतले नाकाबन्दी गर्दा मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार भएको थियो। त्यसपछि सरकारले तीन महिनलाई पुग्ने गरी इन्धन भण्डारण क्षमता पु¥याउन निगमलाई निर्देशन दिएको भए पनि कार्यान्वयन हुन सकेको छैन। भण्डारण क्षमता बढेपछि बन्द, हड्तालका भए पनि पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता हुनेछ।

इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरकोे पानी भण्डारण ट्यांक पनि निर्माण गरिएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो।  

भण्डारण स्थलमा आगजनी भए वा धुवाँ निस्केमा स्वचालित मेसिनबाट अग्नि नियन्त्रण गर्ने प्रविधि समेत जडान गरिएको छ। ‘अत्याधुनिक फायर फाइटिङ जडान गरिएको छ,’ उनले भने, ‘आगलागी भएमा अटोमेटिक रूपमा सेन्सरले अटो फायर गर्ने व्यवस्था मिलाएको छ। निर्माणको काम समानान्तर, रेलिगियर र भारत ट्यांकले गर्दै आएका छन्।

१० हजार केएल क्षमताका दुई ट्यांक निर्माण गरेपछि पोखरामा डिजेलको भण्डारण क्षमता करिब सवा करोड लिटर पुगेको छ। एक किलोलिटर भनेको एक हजार लिटर हो । अहिलेसम्म डिजेल भण्डारण क्षमता २२ लाख ८० हजार लिटर (२२ सय ८० केएल) मात्र छ। अब डिजेल भण्डारण क्षमता बढेर १ करोड २२ लाख ८० हजार (१२ हजार ८० केएल) लिटर पुग्ने भएको छ।

पोखरामा अहिलेसम्म पेट्रोल भण्डारण क्षमता ११ सय १० किलोलिटर पुगेको छ। ३ सय ५० किलोलिटर रहेकोमा ७ सय ६० किलोलिटरका मट्टितेल ट्यांकलाई पेट्रोलमा कन्भर्जिङ गरिएको छ। गण्डकी प्रादेशिक कार्यालय मातहतका पम्पलाई एक महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता पुगेको छ।

भण्डारण गृह र लोड, अनलोडमा अटोमेसन सिस्टम जडान गरिएको छ। चार वटा अटो लोडिङ÷अनलोडिङ सिस्टम पनि जडान गरिएको छ। अटोमेसन सिस्टम भएकाले नयाँ लोडिङ प्वाइन्टमा रडले तेल नाप्नु पर्दैन। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण गरिएको छ।  

डिपोको डिजाइन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरका विज्ञको टोलीले गरेको थियो। परियोजनाको सुपरभिजन काठमाडौं विश्वविद्यालयका विज्ञहरूले गरेका छन्।

त्यहाँबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ। पोखरा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक दुई सय ८० किलोलिटर, पेट्रोल एक सय २० किलोलिटर बिक्री हुन्छ।

सरकारले निगमलाई तीन महिनालाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निर्देशन दिए पनि मुुलुकभर भण्डारण क्षमता कमजोर छ। निगमले चालु आर्थिक वर्षमा इन्धन भण्डारण पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्ति सुनिश्चित गर्नका लागि अन्य ठाउँमा पनि भण्डारण स्थल निर्माण गर्ने तयारी रहेको निगमले जनाएको छ।  

यसैगरी, निगमले पोखरामा हवाई इन्धनको भण्डारण स्थल पनि निर्माण गर्ने तयारी गरेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ । अहिले पोखरा विमानस्थलमा ६४ किलोलिटरको मात्र हवाई इन्धन डिपो छ। 

प्रकाशित: २० कार्तिक २०७९ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App