२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी भन्छनः विदेशी छैनन्, अहिलेको भीड ‘सिजनल’ हो

विदेशीको सिजनमा स्वदेशी पाहुनाको भीड

पोखरा लेकसाइडमा घुमघाममा रहेका स्वदेशी र विदेशी पाहुना। तस्बिरः उमेश पुन÷पोखरा

यो बेला विदेशी पर्यटकको ‘पिक सिजन’ हो। तर, कोरोना भाइरस संक्रमणपछि विदेशीको आगमन न्यून छ। कोरोना संक्रमण अघि यो बेला पोखरामा विदेशी पर्यटकको आगमन बढ्ने र त्यसैमा आन्तरिक पाहुना थपिँदा यहाँका सबैखाले होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा पुग्थ्यो। कतिपय चल्तीका होटल त कैयौं दिनका लागि ‘सोल्ड आउट’ भइसकेका हुन्थे।  

तर, कोरोना संक्रमणपछि पर्यटन पूर्ववत अवस्थामा फर्किन सकेको छैन। विदेशीको आगमन पिक सिजनमा पनि उकालो लाग्न सकेको छैन। आन्तरिक पाहुनाको आगमनले पर्यटन क्षेत्र केही चलायमान जस्तो मात्र देखिएको व्यवसायीले बताएका छन्। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रमा देखिएको चलायमानलाई व्यवसायीले ‘मौसमी भीडभाड’ भन्ने गरेका छन्। नेपालीको मुख्य चाँडबाँड यहीबेला पर्ने भएकोले अघिकांश पर्यटकीय गन्तव्यमा पाहुना त छन, तर ती सबै स्वदेशी हुन्। विदेशीको भीड फाट्टफुट्ट बाहेक देख्न पाइँदैन। व्यवसायीका अनुसार पिक सिजनको आगमन निराशाजनक छ। आन्तरिक पाहुनाको आगमनले पर्यटन क्षेत्रमा केही भीडभाड देखाएपनि त्यो क्षणिक छ।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले आन्तरिक पाहुनाका कारण मात्र पर्यटन क्षेत्रमा चलहपहल देखिएको बताउँछन्। उनका अनुसार यो बेला खासमा पर्यटन क्षेत्रको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा हुनुपर्ने थियो। तर, मुस्किलले २५ प्रतिशत अकुपेन्सीमा अहिले होटल क्षेत्र चलेका छन्।

‘यो बेला चल्तीका होटलमा कोठा पाउन सकस हुन्थ्यो। कोरोना अघिको त्यो अवस्था अहिले छैन, अहिले मुस्किलले २५ प्रतिशत अकुपेन्सी छ,’ सुवेदीले भने, ‘विदेशीको आगमनमा नेपाली पाहुना पनि थपिँदा पर्यटन क्षेत्र यो बेला गुल्जार हुन्थ्यो, तर, अहिले आन्तरिक पाहुना आउँदा केही भीडभाड देखिएको मात्र हो।’

अहिले आन्तरिक सहित केही भारतीय पाहुना घुम्न आएका छन। भारतीय र आन्तरिक पाहुनाले गर्दा व्यवसायलाई थोरै भएपनि राहत मिलेको उनले बताए। ‘स्वदेशी, भारतीयको भीडमा न्यून मात्रामा विदेशी पाहुना छन। पदयात्रामा गएका र घुमघाममा निस्केका सबै पाहुना लेकसाइडमा भेला हुँदा भीडभाड मात्र देखिएको हो,’ उनले भने, ‘तर, सोचेजति पाहुना आएका होईनन।’ चाँडबाँड सकिएलगत्तै अहिलेको भीडभाड पनि कम भईहाल्ने उनले बताए। ‘साप्ताहिक बिदामा पनि आन्तरिक पाहुनाको आगमन केही बढ्छ । यो बेला त बढ्ने नै भयो। तर, विदेशी नआएपछि पर्यटन फस्टाउन सक्दैन,’ अध्यक्ष सुवेदीले भने।  

उनका अनुसार विदेशी पाहुना कम आउनुमा रसिया र युक्रेनको द्वन्द्व मुख्य कारण हो। त्यसबाहेक कोरोनापछि चिनियाँ पाहुना अझै आउन पाएका छन्। पोखरा चिनियाँ पाहुनाको मुख्य गन्तव्य हो। यहाँको आकाशमा प्याराग्लाइडिङ गर्नका लागि नेपाल भित्रिएका अधिक चिनियाँ पोखरा आउँथे। तर, अहिले चिनियाँको आगमन हुन नसक्दा पनि पर्यटन क्षेत्रले नोक्सान खेपेको छ। ‘सिजनले यतिसम्म व्यवस्तता बढाउँथ्यो की, चल्तीका होटलमा कोठा नै नपाएर हैरान खेप्नुपर्ने अवस्था थियो। अहिले त्यस्तो छैन,’ उनले भने।

अध्यक्ष सुवेदीका अनुसार कोरोना अघि विदेशी पाहुना पर्याप्त आउँदाताका यहाँको चहलपहल दीर्घकालिन हुन्थ्यो। चाँडबाँडका आन्तरिक पाहुना घुमेर फर्किसक्दा पनि पर्यटन क्षेत्र चलायमान रहिरहन्थ्यो। तर, अहिले भने विदेशी अभावमा स्वदेशीको आगमन क्षणिक हुने गरेको छ। ‘अहिले चाँडबाँडको सिजनले गर्दा केही भीडभाड देखिएको मात्र हो। चाँडबाँड सकिएपछि सबैतिर सुनसान भईसक्छ । यो भीडभाड क्षणिक हो,’ उनले भने।  

अध्यक्ष सुवेदीका अनुसार पछिल्लो समय पोखरा आन्तरिक पाहुनाको ट्रान्जिट सहर बनेको छ। आन्तरिक पाहुना पनि पदयात्रामा जान थालेका छन्। मर्दी हिमाल, अन्नपूर्ण आधारशिविर क्षेत्र लगायतका पदमार्गमा अहिले पाहुना पुग्दा पोखराको बसाई निकै नै कम हुने गरेको छ। ‘पोखरा ट्रान्जिट सहर बनेको छ। आउदा र जाँदा बास बस्ने गन्तव्य पोखरा बनेको छ। पाहुनालाई पोखरा बसाउने अवस्था रहेन। पाहुनाको बसाई लामो हुन सकेमा व्यवसायिलाई लाभ पुग्थ्यो,’ उनले भने, ‘पोखरा अहिले एकरातको बास बस्ने थलो मात्र बनेको छ।’  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाट्टा) गण्डकी अध्यक्ष हरिराम अधिकारीले पनि अहिले पर्यटकीय क्षेत्रमा देखिएको भीडभाड मौसमी रहेको बताउँछन। ‘मौसमी भीडभाड देखिएको छ। चाँडबाँडका कारण बिदाले गर्दा अहिले पर्यटन क्षेत्रमा पाहुना देखिएका हुन्,’ अधिकारीले भने, ‘तर, यो क्षणिक हो। अब एक–दुइदिनमा सबै पर्यटकीय ठाउँ सुनसान भइसक्छन्।’  

उनका अनुसार शनिबार पोखरा–काठमाडौं रुटमा २० वटा पर्यटक बसमा यात्रु थिए। अरुबेला मुस्किलले ५÷७ वटा बसमा यात्रु पुुग्छन्। शनिबारका यात्रुमध्ये ८० प्रतिशत आन्तरिक र बाँकी भारतीय सहित तेश्रो मुलुकका थिए। ‘पर्यटक बसका यो बेलाका यात्रु करिब ८० प्रतिशत नेपाली हुन्। भारतीय र तेश्रो मुलुकका पाहुनाको हिस्सा करिब २० प्रतिशत छ,’ अधिकारीले भने, ‘खासमा यो बेला ८० प्रतिशत विदेशी हुने सिजन हो । तर, अहिले २० प्रतिशत मात्र होलान।’ चीन नखुल्दासम्म पर्यटन क्षेत्रमा पाहुना अभाव भईरहने उनले सुनाए।  

‘चीन खुलेको छैन। चिनियाँ पाहुना आउन नपाउँदा पर्यटन क्षेत्रमा चमक छैन। कोरोना पछि सबैतिर आर्थिक मन्दी लागेको छ। त्यसले गर्दा हिडडुल कमजोर भएको अनुमान हो,’ उनले भने, ‘केही मुलुकबीच द्वन्द्व हुँदा पनि पर्यटकीय गतिविधिमा समस्या छ । हाम्रो मात्र कारणले गर्दा पाहुना नआएका होइनन।’  

अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीका अनुसार अहिले पदमार्गमा आन्तरिक पाहुनाको भीडभाड छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किसम गुरुङका अनुसार अहिले घान्द्रुकमा दिनमा करिब एकहजार पाहुना उक्लिने गरेका छन्। ती मध्ये ७० प्रतिशत हाराहारीमा स्वदेशी र अरु विदेशी पाहुना छन। ‘दिनमा अहिले एकहजार हाराहारीमा पाहुना आएका छन्। ७० प्रतिशत जति आन्तरिक छन। अरु विदेशी हुन। सबै होटलमा अहिले पाहुना छन,’ उनले भने, ‘व्यवसायीलाई काम पुगेको छ । हुन त अहिले सिजन विदेशीको हो, तर, पनि स्वदेशी पाहुनाले हिस्सा बढाएका छन् । यसले व्यवसायीलाई उत्साही बनाएको छ।’  

यो बेला विदेशीको सिजन भएपनि कोरोना भन्दा अघिको जस्तो आगमन अझै नभएको माछापुच्छ«े आधारशिविर (एमबिसी)का पर्यटन व्यवसायी दिलिप गुरुङले बताए। उनका अनुसार अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा दिनमा पाँच सय भन्दा बढी पाहुना उक्लेका छन्। एमबिसी पनि एबिसी पदमार्गमै पछ। ‘कोरोना भन्दा अगाडिको आकारको आगमन त विदेशीको छैन। तर, अहिले एबिसीसम्म उक्लिने पाहुनामा विदेशी केही बढि छन। तल्लो भेगमा स्वदेशी भएपनि माथिसम्म विदेशीको आकार ठुलो छ,’ उनले भने।  दसैंको बेला आधारशिविरसम्म पनि आन्तरिक पाहुना बढी थिए। अहिले विदेशी केही बढेको उनले बताए। ‘तर विदेशीको आगमन सिजन अनुसारको होईन। यो बेला त झन्डै सतप्रतिशत पाहुना नै विदेशी हुनुपर्ने हो। तर, त्यो हुन सकेको छैन,’ उनले भने।  

प्रकाशित: १२ कार्तिक २०७९ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App