३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रकम हिनामिना प्रकरणमा छानबिन गर्दै राष्ट्र बैंकको टोली

फाइल तस्बिर

रूपन्देहीको मर्चवारमा सञ्चालन गरिएको माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रमार्फत सर्वसाधारणको ठूलो रकम हिनामिना गरिएपछि नेपाल राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका उपनिर्देशक दिपक अधिकारी, राष्ट्र बैंक भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डे र सहनिर्देशक विवेक बुढाथोकी सम्मिलित टोली सोमबार मर्चवार पुगेको छ। टोलीले सेवा केन्द्रको अवस्था र सो सेवा केन्द्र मार्फत गरिएको रकम हिनामिनाका सम्बन्धमा केन्द्रका एजेन्ट, व्यवस्थापक र स्थानीयसँग सोधपुछ गर्न थालेको छ।

रकम हिनामिना भएको घटना बाहिरिएपछि माछापुच्छ्रे बैंकले सेवा केन्द्र बन्द गर्न निवेदन दिएकाले आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको स्थलगत अध्ययनमा आएका राष्ट्र बैंकका उपनिर्देशक दिपक अधिकारीले बताए।

माछापुच्छ्रे बैंककले २०७४/४/२६ गते मर्चवारको सम्मरीमाई गाँउपालिका ५ रोइनीहवामा शाखारहित सेवा केन्द्र सञ्चालन गरेको थियो। सो सेवा केन्द्रमार्फत सेवाग्राहीको करोडौं रकम हिनामिना गरिएको घटना सार्वजनिक भएपछि बल्ल बैंकले सेवा केन्द्र बन्द गर्न राष्ट्रबैंक समक्ष निवेदन दिएको हो।

सोही निवेदन उपर छानबिनका लागि राष्ट्रबैंकको टोली सोमबार मर्चवार आएको हो। टोलीले सेवा केन्द्रका एजेन्ट, व्यवस्थापक र पीडितहरूसँग सोधपुछ गरेको छ। सोधपुछका क्रममा सर्वसाधारणको झण्डै डेढ करोड रूपैयाँ हिनामिना भएको प्ररम्भिक विवरण प्राप्त भएको बताइएको छ। प्ररम्भिक अध्ययनकै क्रममा रहेकाले यकिन तथ्याङ्क र घटनाको यथार्थ बारे अहिले नै केही बोली हाल्ने अवस्था भने नरहेको टोली प्रतिनिधिले बताएका छन्। स्थानीयले भने पीडितको संख्या र रकम त्योभन्दा धेरै रहेको दाबी गरेका छन्।

पाँच वर्षदेखिको ठगी धन्दा

ग्रामीण क्षेत्रमा बैंकिङ सेवा उपलब्ध गराउने भनेर खोलिएको भनिएको शाखाले पाँच वर्षको अवधिमा सयौं स्थानीयको ठूलो रकम हिनामिना गरेको घटना केही महिनाअघि बाहिरिएको थियो। गत जेठमा सम्मरीमाई ५ रोइनीहवाका दयाराम अहिर सेवा केन्द्रका व्यवस्थापक सिकन्दर ठाकुरसँग पैसा माग्न गए। ठाकुरले पहिले जस्तै मागेकोभन्दा आधा रकम दिन सक्ने भन्दै आलटाल गरे। अहिर खेती किसानीका साथै पेटी ठेक्केदारको रूपमा साना तिना आयोजनामा काम गर्छन्। आफ्ना कामदारको पारिश्रमिक भुक्तानी गर्नुपर्ने भएकाले आवश्यकता अनुरूपको पैसा झिक्न भैरहवा शाखामा गए।

अहिरले धान, गहु र गाई बेचेको अनि ठेक्काको समेत गरी झण्डै १३ लाख रूपैयाँ केन्द्रमार्फत जम्मा गरेका थिए। त्यही पैसा झिक्न भैरहवा पुगेका अहिरलाई बैंकका व्यवस्थापक र कर्मचारीले खातामा पैसा जम्मा नै नगरिएको भन्दै झपारेर पठाइदिए।

त्यसपछि उनी बैंकको लुम्बिनी प्रदेश कार्यालयमा पुगे। त्यहाँका प्रमुख नारायण केसीले उनलाई हल्ला नगरी चुपचाप बस्न भन्दै केही दिन भित्र पैसा मिलइदिने आश्वासन दिए। पैसा पाइने आसमा केही समय अहिर लगायतका सेवाग्राही चुपचाप बसे तर दुई तीन महिना बित्दा पनि बैंकले समस्या सम्बोधन गर्ने चासो नै देखाएन। त्यसपछि बल्ल अहिरले आफू ठगिएको चाल पाए। अन्य सेवाग्राहीले पनि आफ्नो पैसाको हिसाब किताब खोज्न थाले। यो सेवा केन्द्र मार्फत पैसा बचत गरेका अधिकांश सेवाग्राहीको खातामा पैसा नै जम्मा नगरी हिनामिना गरिएको पाइएपछि पीडितहरू आत्तिएका छन्।

बैंकले सेवा केन्द्रका लागि स्थानीय एजेन्ट निरञ्जन पाठकसँग सम्झौता गरी सेवा सुरू गरेको हो। बैंकका कर्मचारीको रोहबरमा केन्द्रको व्यवस्थापकमा अर्का स्थानीय सिकन्दर ठाकुरलाई नियुक्त गरिएको थियो। गाँउकै बीचमा खुलेको सेवा केन्द्रमा कर्मचारी पनि गाउँले नै भएपछि स्थानीयले पनि खेती किसानी, मेला–मजदुरी सँगै विदेशबाट आफन्तले पठाएको र वृद्धभत्ताको रकमसमेत बैंकमा जम्मा गरेका थिए।

बैंककै मिलोमतोमा ठगी धन्दा चलाइएको दाबी

बैंककै मिलोमतोमा सेवा केन्द्रका एजेन्ट र व्यवस्थापक मिलेर स्थानीयको करोडौं रकम गायव पारेको दाबी स्थानीयले गरेका छन्। सम्मरीमाई ५ का वडाध्यक्ष श्रवणकुमार यादवले बैंकको मिलोमतो र लापरबाही बिना एजेन्ट र व्यवस्थापकले मात्रै यति ठूलो घोटाला गर्न नसक्ने बताए। ‘यो घटनामा धेरै ठूलो साजिस छ, गरीब जनता ठग्ने बैंक, तीनका एजेन्ट र व्यवस्थापकलाई कारबाही गरियोस्।

जनताको पैसा व्याजसहित रकम फिर्ता गरीयोस्। होइन भने पीडितहरू सडकमा ओर्लिन बाध्य हुनेछन्’ वडाध्यक्ष यादवले भने। मर्चवार क्षेत्रका प्रतिनिधि सांसद प्रमोद यादवले पनि ग्रामीण भेगका सोझा किसानको पसिनाको कमाइमा ठगी धन्दा चलाउनेलाई तत्काल छानबिन गरी कानुनी कारबाही गर्न र स्थानीयको पैसा फिर्ता गर्न माग गरे। बैंकको मिलोमतोमै गठी धन्दा चलाइएको यादवको दाबी छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App