१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुटवलमा दशैँ सस्तो बजार सुरु

बुटवलमा आजदेखि (सोमबार) दशैँ सस्तो बजार सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषर वालमन्दिरमा दशैँ सस्तो बजार सुरु भएको हो।

पाँच दिनसम्म सञ्चालन हुने दशैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमका बीच उदघाटन गरे। सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेले दशैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै उनले बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोच्ने बेला आएको बताए। बुटवललाई पर्यटकको आकर्षण केन्द्र बनाउन वडा नं. १ को पुरानो बुटवल (बटौली) लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले कामको थालनी गरेको जानकारी दिए।

बुटवलमा पार्किङको समस्या रहेको बताउँदै पार्किङ व्यवस्थापनको लागि पुराना भवनहरुलाई पुनः निर्माण गरी अन्डरग्राउण्ड २ तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माणको तयारी भइरहेको बताए।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको बिक्री वितरण गरिने बताए। सर्वसाधारणलाई लक्षित गरेर राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको, नुन, तेल, चिनी, मसला लगायतका दैनिक उपभोग्य सामान राखिएको बताए।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुनेगरी व्यवस्था मिलाउन आग्रह गरे। विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाइको गुणस्तर तथा उपभोक्ता मूल्यलाई समेत ध्यान दिनुपर्ने बताए।

जिल्ला सुरक्षा समितिले चालपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले अपराधिक गतिविधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पण्डित पौडेलले रसिया युक्रेन युद्धले नेपालमा मात्रै नभएर विश्वमै मूल्यवृद्धि भएको बताइन्। त्यसकै कारण अर्थतन्त्र ठूलो दबावमा रहेको बताउँदै दुई तीन वर्ष यता आयातमा भएको अत्यधिक वृद्धिले अधिक व्यापार घाटा, विदेशी सञ्चिती कमजोर भएको बताइन्।

त्यसका बावजुद विदेशी सञ्चिती भने सुधारोन्मुख रहेको पनि उनले जानकारी दिइन्। बैंक तथा वित्तीय संस्थामा लगानी योग्य साधनको अभाव रहेको र व्याजदर वृद्धि हुँदा कर्जा महंगो पर्न गएको बताउँदै उनले जुन क्षेत्रमा कर्जा चाहेको हो त्यही क्षेत्रमा लगानी गर्न पनि आग्रह गरिन्। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीसंघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले शुभकामना दिए।

असोजको १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दशैँ सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामानसहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामगिहरुको बिक्री वितरण गरिनेछ।

त्यस्तै दशैँ सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ, लायन्स क्लब अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७९ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App