७ वैशाख २०८१ शुक्रबार
अर्थ

विश्व पर्यटन दिवसः ‘लाभ बिनाको पर्यटकीय सिजन’

माछापुच्छ्रे मोडल ट्रेकमा विदेशी पदयात्री। फाइल तस्बिरः नागरिक

पर्यटनको मुख्य सिजन सुरु भएको करिब एकमहिना भयो। पर्यटन व्यवसायीले सेप्टेम्बर लागेसँगै पर्यटकीय सिजन सुरु भएको ठान्छन। यो सिजन नोभेम्बरसम्म निकै नै राम्रो हुने गरेको व्यवसायी नै बताउँछन्। डिसेम्बर–जनवरी केही खस्कने सिजन फेब्रुअरी पछि पुन उकालो लाग्ने व्यवसायीको अनुभव छ।  

व्यवसायीको बुझाईमा सेप्टेम्बरदेखि सिजन सुरु भएपनि सेप्टेम्बर मध्यदेखि पर्यटनमा बल्ल परिवर्तन हुने गर्दथ्यो। कोरोना संक्रमण फैलनु अघि सेप्टेम्बर मध्यपछि पर्यटन क्षेत्रमा निकै नै चहलपहल बढ्थ्यो। अक्टोवर लाग्ने बेलातिर त पर्यटन क्षेत्र निकै नै व्यस्त बनिसक्दथ्यो। तर, कोरोना संक्रमणपछि पर्यटनले गति लिन नसकेको भन्दै व्यवसायीले सिजनको अनूभुत गर्न नसकेको बताउँदै आएका छन्।  

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। यो वर्ष ‘रिथिङकिङ टुरिजम’ नाराका साथ मंगलबार दिवस मनाउँदै गर्दा पर्यटन क्षेत्र योपटकको पर्यटकीय सिजनसँग उत्तिसारो खुसी छैन, सिजनको पनि अनूभुत गर्न पाएको छैन। पर्यटन व्यवसायी सबैतिरबाट निराश छन्। कोरोनाले लामो समय थलिएको पर्यटन व्यवसाय अझै माथि उठ्न सकेका छैनन। सिजन सुरु भएको एकमहिना बितिसक्दा पनि विदेशी पाहुना आउने छाँटकाँट नै व्यवसायीले देखेका छैनन। आगामि महिनाको बुकिङ पनि सन्तोषजनक हुन नसकेको उनीहरुको गुनासो छ। आन्तरिक पाहुनाका कारण अबको एक महिना केही चहलपहल हुने अनुमान व्यवसायीले गरेपनि विदेशी पाहुना खचाखच हुने संकेत व्यवसायीले कतै देखेका छैनन।  

कोरोना अघिका वर्षमा यो बेला पर्यटन क्षेत्रमा चमक छाइसक्थ्यो। विदेशी पर्यटकको घुँइचो लागिसक्थ्यो। धेरै पाहुनाले नेपाल भ्रमणको तालिका तय गरिसकेका हुन्थे। होटलको अग्रिम बुकिङको पारो निकै नै माथि उक्लिएको हुन्थ्यो। तर, कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अहिले निराशाको चाङ छ। एकातिर पाहुना नआउँदा पर्यटन क्षेत्र सुनसान छ भने अर्काेतिर यहीबेला बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा व्यवसायी हायलकायल भएका छन्। व्यवसायी भन्छन, ‘हामी बाहिर मात्र हसिला देखिएका छौ। भित्री पीडा भनिसाध्य छैन। रुदै हिड्न नभएर मात्र हामी बाध्यताले हासेका छौ, तर भित्रभित्र रोएका छौं।’

पोखरा पर्यटन परिषद (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा भन्छन्, ‘पर्यटन क्षेत्र अहिले झमेलामा छ, संकटमा छ। समस्यै समस्यामा जकडिएको छ। सबैतिर समस्यै समस्या हुँदा पर्यटन क्षेत्रले खुसी अनुभूत गर्न पाएको छैन। बाहिरबाट हेर्दा पर्यटन क्षेत्र खुला देख्दा व्यवसायीले कमाएको अनुमान हुन्छ। तर, बास्तवमा भन्ने हो भने पर्यटन क्षेत्र अहिले निराश छ। यसले पर्यटन दिवसको अनुभव पनि गराउन सकेको छैन।’

उनको बुझाइमा यो बेला पर्यटन क्षेत्र सुस्ताउनुमा कोरोना त मुख्य कारक नै हो, त्यसबाहेक कोरोनापछिका केही कमजोर गतिविधिले गर्दा विदेशी पर्यटक नेपाल भित्रिन सकेका छैनन्। ‘विदेशी पर्यटकलाई नेपाल आउन सहज छैन। सिमित उडान हुँदा अहिले पर्यटकले महंगो हवाई शुल्क तिर्नुपर्ने अवस्था छ। त्यसले गर्दा विदेशी पाहुना अन्य मुलुकतिर डाइभर्ट भएका छन्। राज्यले सस्तो बनाउन सक्ने अवस्था सिर्जना गर्न सकेन,’ उनले भने, ‘ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको उडान पर्यटनको श्रोत बजारसम्म बिस्तार गर्न सक्ने हो भने केही परिवर्तन देखिन्थ्यो। तर, त्यसमा चाँसो नै देखिएन।’  

उनको बुझाईमा एकमहिने सिजन सकिने बेला भएको छ। यो बेलासम्म पनि पर्यटन बजार गुल्जार हुन सकेको छैन। ‘विदेशी पर्यटक ल्याउने भन्ने कुरा, जुन व्यवसायीको व्यक्तिगत पहुँचले सम्भव हुँदैन, राज्यको पनि साथ चाहिन्छ,’उनले भने, ‘पर्यटक भिœयाउन पर्याप्त हवाई सञ्जाल बढाउन सक्नुपछ। जुन, अहिले निकै नै साँघुरो छ।’ केही मुख्य श्रोतमा नेपालले सिधा हवाई उडान संचालन गर्ने हो भने पर्यटन क्षेत्रले फड्को मार्ने उनी बताउँछन्।  

‘कोभिड पछाडि जुन रुपमा पर्यटनका लागि युद्धस्तरमा लाग्नुपर्ने थियो। अन्तर्राष्ट्रिय नियोग परिचालन गर्नुपर्ने हो, त्यो पनि हुन सकेको छैन। विभिन्न श्रोत मुलुकका पर्यटन निकायसँग सहकार्य पनि हुन सकेन। पर्यटक बढाउने रणनीति कतै अपनाइएको छैन,’ उनले भने, ‘श्रोत मुलुक पहिचान गरेर त्यहाँसम्म पहुँच पु¥याउन सक्ने हो भने पर्यटक बढ्नेछन्। भारत, चीन हाम्रा निकै नै सम्भावनायुक्त श्रोत मुलुकसम्म पनि सहजै पुग्न सकिएको छैन।’  

यो बेला पदयात्राको सिजन पनि सुरु हुन्छ। वर्षायाम सकिने भएकोले विदेशीहरु पदयात्राका लागि आउने गर्छन। पदयात्रा संस्थागत रुपमा जानुपर्ने हुन्छ। पदयात्रा, पर्वतारोहण लगायतका गतिविधिका लागि योजना नै बनाउनुपर्छ। तर, त्यो अनुसार पर्यटक आएका छैनन। ‘सोधपुछ राम्रो छ। तर, विदेशीको एकमात्र गुनासो हवाई भाडा महंगो भयो भन्ने भन्ने छ। पहुँचका हिसाबले हामी टाढा हुँदा समस्या भएको हो,’ थापाले भने, ‘कतिपय मुलुकका नागरिकलाई नेपालसम्म आउनुभन्दा अन्यत्र जान सहज र सस्तो पर्छ। अन्य मुलुकको हवाई कनेक्टिभिटी निकै नै राम्रो छ। तर, हाम्रो पहुँच हुन सकेन। यो बेला सिजनको अनुभवै गर्न पाएनौ।’  

कोरोनापछि पर्यटन क्षेत्र ब्यूताउन अन्य मुलुकमा सिंगो राज्यशक्ति नै पर्यटनमा परिचालन भएपनि नेपालले त्यो इच्छाशक्ति देखाउन नसकेको उनको गुनासो छ। ‘हामीकहाँ पहुँचमा राज्यले चाँसो दिएन। विदेशी मुद्रा कमाउने मुख्य माध्यम पर्यटन भन्ने थाहा हुुँदा हँुदै पनि राज्यशक्ति परिचालन हुन सकेन। पर्यटक भिœयाउने रणनीति बनाउन ढिला भईसकेको छ,’ उनले भने।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशीलराज पौडेल पनि व्यवसायी उत्साही हुन नसकेको बताउँछन्। ‘वर्षकै प्रमुख सिजन यो बेला हो। पर्यटक आउने समय हो। तर, विश्व पर्यटन दिवस मनाइरहँदा व्यवसायीमा त्यो उत्साह देखाउने संंकेत पाएका छैनौ,’ पौडेलले भने, ‘२०२२ को अन्तिम सिजन सुखद हुनेमा आशावादी थियौ। तर, सोचे अनुसार भएन। २०२३ मा राम्रो हुनेमा अपेक्षा गर्नुको विकल्प छैन।’

कोरोना संक्रमण कमजोर भएकोले यो बेला पर्यटक आउँछन् भन्नेमा व्यवसायी आशावादि थिए। तर, तर अपेक्षाकृत हुन सकेन। ‘घुम्न चाहने विदेशीको पनि आम्दानी घटेको छ। नेपालसम्मको हवाई सञ्जाल अधिक महंगो भएको छ,’ पौडेलले भने, ‘यात्रा महंगो पर्दा पर्यटकको गन्तव्य नै डाइभर्ट हुन थालेका छन्। नेपाल आउजाउ र घुमफिर महंगो भएपछि पर्यटक अन्य मुलुकमा जान थालेका छन।’

त्यसबाहेक आन्तरिक कमजोरीका कारण यो पटक अन्नपूर्ण क्षेत्रको बुकिङ निकै नै कमजोर रहेको उनले बताए। पौडेलको अनुभवमा अहिले मनास्लु र एभरेस्ट क्षेत्रका गन्तव्यमा बढी माग छ। ‘कोरोनापछि अपेक्षा अनुसार हुन सकेन, पर्यटकको संख्या भन्दा पनि व्यवसायीले लाभ पाउन सकेका छैनन। २०२२ को अक्टोवर–नोभेम्बर राम्रो हुने संकेत देखिएको छैन,’ उनले भने, ‘लाभ बिनाको पर्यटन सिजनमा हामी गुज्रिएका छौ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि सिजनको अनूभुति गर्न नपाएको बताउँछन्। ‘यो बेला हामी निकै नै सकसमा छौ। एकातिर बैंक तथा वित्तीय क्षेत्रको दवावमा छौ भने अर्काेतिर सिजनले संकेत देखाएको छैन। कमाउने अपेक्षमा रहेका पर्यटन व्यवसायी निराश हुनुपरेको छ,’ श्रेष्ठले भने, ‘यो सिजनमा राम्रो कमाई हुने अपेक्षामा रहेका व्यवसायी अहिले निराशा बनेका छन। पर्यटक आउनेमा ढुक्क भएका व्यवसायीमा अन्योलता बढ्दै गएको छ।’

प्रकाशित: १० आश्विन २०७९ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App