२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

डेढ दशकमा साढे ६ लाखले लिए ‘एनओसी’

फाइल तस्वीर

काभ्रेकी रञ्जिता श्रेष्ठ उच्च शिक्षाका लागि क्यानडा जाने तयारी गरिरहेकी छिन्। कक्षा १२ को नतिजा कुरिरहेकी रञ्जिताले अबको शिक्षा क्यानडामा हासिल गर्ने सोच बनाएकी छिन्। परीक्षा सकिएलगत्तै उनले क्यानडाका लागि चाहिने आइएलटिएस, छात्रवृत्तिका लागि टोफेल लगायतको पनि परीक्षा सकेर आवश्यक कागजात तयारीमा जुटेकी छिन्। उनको एउटै लक्ष्य छ, क्यानडाको राम्रो विश्वविद्यालयबाट आइटीमा उच्च शिक्षा हासिल गर्ने।

स्देशमा पढाइपछि पनि रोजगारी सुरक्षित नभएको र पछि आफू फेरि पनि बिदेसिनुपर्ने नै भएकाले अहिले नै बिदेसिने तयारीमा जुटेको उनको भनाइ छ। ‘कक्षा १२ को नतिजा कुरिरहेकै समयमा मैले यता क्यानडाका विश्वविद्यालयमा पनि अनलाइनमार्फत बुझें, कन्सल्टेन्सीमा पनि पुगेर आफूले अध्ययन गर्ने विषयबारे बुझ्ने काम सकें,’ १८ वर्षीया रञ्जिताले आफ्नो योजना सुनाइन्, ‘के गर्ने नेपालमा मैले स्नातकसम्म पढ्नुपरेमा आमाबुवामाथि आर्थिक रूपमा भर पर्नुपर्ने अवस्था छ। पास भइहाले पनि रोजगार सुरक्षित छैन। ‘बरु पछि जानुभन्दा र समय खेर फाल्नुभन्दा अहिले कक्षा १२ पासपछि नै गए धेरै कुरा सिकिन्छ। विदेशमा आफैं कमाएर पढ्न सकिने अवस्था हुन्छ।’

शिक्षा मन्त्रालय एनओसी शाखामै भेटिएका चित्र शर्मा जापान जाने तयारीमा छन्। उनले गत वर्ष कक्षा १२ पास गरेको भए पनि यस वर्ष भाषा अध्ययनका लागि जापान जान लागेको बताए। ‘जापानमा पढाइका साथै हप्ताको २८ घण्टा काम पनि गर्न पाइन्छ,’ चित्रले नागरिकसँगको भेटमा सुनाए, ‘भाषा पढेपछि प्राविधिक शिक्षा वा विश्वविद्यालय शिक्षा हासिल गर्ने पनि अवसर रहेको मैले नेटइन्टरनेटमार्फत बुझेको छु। शिक्षा हासिल गर्दागर्दै र शिक्षा हासिलपछि पनि रोजगार सुरक्षित छ।’

‘यसकारण मैले एक वर्ष कुरेर भए पनि जापान जान लागेको हुँ। सामाजिक प्रतिष्ठा कायम हुने र आफूले हासिल गरेको ज्ञानअनुसारको काम पाउने भएकाले मैले बिदेसिने तयारी गरेको हुँ,’ उनले भने।

अध्ययनका साथै अवसर पनि पाइने भएकाले रञ्जिता र चित्रजस्ता लाखौं युवा अहिले विदेशमा शिक्षा हासिल गर्नका लागि जाने गरेको तथ्यांकले देखाएको छ। विगतमा कामका लागि मात्र खाडी मुलुक जाने गरेका नेपाली युवा पछिलो समय उच्च शिक्षाका लागि बिदेसिने क्रम ह्वात्तै बढेको छ।

नेपालमा नयाँ नयाँ विषय पनि थपिएकै छन्। विदेशी सम्बन्धनका उत्कृष्ट कलेज पनि खुलेकै छन्। तापनि सरकारले पढाइअनुसारको अवसर सृजना गर्न नसकेकै कारण आर्थिक वर्ष २०८०/८१ अर्थात् २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको एनओसी (नोअबजेक्सन लेटर) अर्थात् विदेशमा अध्ययन गर्ने अनुमति पत्रको संख्या कुल ६६ देशका लागि एक लाख १२ हजार ५९३ रहेको छ। यसमध्ये पनि यो आवमा सबैभन्दा बढी जापानका लागि एनओसी लिएको एनओसी शाखाप्रमुख नृपध्वज मगरले बताए। यति मात्र होइन, नेपालमै पढाइने विषयमै विद्यार्थीले एनओसी लिएर बिदेसिने गरेको देख्दा उनी छक्क परेका छन्।

विदेशमा अध्ययनका लागि एनओसी लिनेहरू विशेष गरी व्यवस्थापन, आइटी, इन्जिनियरिङ, बिजनेस, कप्युटर साइन्स, विज्ञान र विज्ञान तथा प्रविधि, स्वास्थ्य शिक्षा, मानविकीका विषय नै रहेको प्रमुख मगरले बताए। यस पटक जापानका लागि एनओसी लिनेको संख्या सबैभन्दा बढी ३४ हजार ७३१ रहेको छ।

विदेशमा विषगत हिसाबले अध्ययनका लागि सबैभन्दा बढी जापानिज भाषाका लागि नै एनओसी लिएका छन्। जापानिज भाषाका लागि एनओसी लिने विद्यार्थीको संख्या यो वर्ष कुल ३३ हजार ६९७ रहेको मन्त्रालयको तथ्यांक छ। व्यवस्थापन विषयका लागि २८ हजार ८९१, बिजनेसमा १० हजार २९, आइटीमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, कम्प्युटर साइन्समा चार हजार ९९२, विज्ञान तथा प्रविधिमा चार हजार १०२ र हस्पिटालिटीमा दुई हजार ५४३ ले एनओसी लिएका छन्।

यसैगरी नेपाली विद्यार्थीको उच्च शिक्षाको मुख्य गन्तव्य जापान, क्यानडा, अमेरिका, बेलायत, अस्ट्रेलिया नै रहेको उनले बताए। कुल एनओसी लिने विद्यार्थीमध्ये जापानका लागि ३४ हजार ७३१, क्यानडाका लागि १५ हजार ९८२, अस्ट्रेलियका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१ र रिपब्लिक अफ कोरियाका लागि ६ हजार ८ ८९ रहेका छन्।

विगत १६ वर्षको तथ्यांक हेर्ने हो भने हालसम्म कुल ६ लाख ४६ हजार १९६ ले एनओसी लिएका छन्। २०६५ देखि २०७८ सम्म चार लाख १६ हजार ३६४ ले एनओसी लिएका थिए। त्यस्तै २०७९ मा एक लाख १७ हजार ५६३ ले एनओसी लिएका थिए। आव २०६५/६६ मा कुल २४ हजार ८२४ ले विभिन्न देशका लागि एनओसी लिएका थिए भने २०७५/७६ मा ६३ हजार २५९ रहेकामा २०७९/८० मा यो संख्या बढेर एक लाख १७ हजार ५६३ पुगेको थियो। २०८०/८१ मा एक लाख १२ हजार ५९३ पुगेको छ।

नेपाल शैक्षिक परामर्श संघका पूर्व अध्यक्ष प्रकाश पाण्डेका अनुसार नेपाली युवा स्तरीय शिक्षा हासिल गर्नुका साथै अवसरकै खोजीमा बिदेसिने गरेका हुन्। ‘डेढ दशकभित्र बिदेसिने विद्यार्थीको संख्या हजारबाट लाखमा पुगेको छ। यसले स्वदेशमा पढाइअनुसार अवसरको कमी रहेको तथ्यांक सार्वजनिक गरेको छ,’ उनले भने, ‘अहिले विश्व नै ग्लोबल भिलेजको अवधारणामा अघि बढरहेको छ। स्वदेशमा पढाइअनुसारको काम र अर्कोतर्फ पर्याप्त रोजगार राज्यले सृजना गर्न सकेको छैन, शिक्षा हासिल गरेपछि पनि बिदेसिने नै हो भने अहिले नै किन विदेश नजाने भन्ने सोच युवा विद्यार्थीमा पाइन्छ। यसकारण सहज र असहज परिस्थितिका बाबजुद पनि विद्यार्थी बिदेसिन बाध्य बनेका छन्।’

राज्यले स्वदेशमा पढाइअनुसारको अवसर सृजना गर्न सके विद्यार्थीलाई स्वदेशमै टिकाउन र दक्षता हासिलपछि विश्वमै बिकाउन सकिने पाण्डेको सुझाव छ।

प्रकाशित: १२ श्रावण २०८१ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App