११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सडकले जोडिदै खाँदबारी–किमाथांका

सङ्खुवासभा-किमाथांका क्षेत्रकाहरुलाई प्रशासनिक कामका लागि खाँदबारी नआई नहुने। भौगोलिक विकटताले दक्षिणकाहरु माथि उक्लन असहज। खासै जाने काम पनि नपर्ने भएकाले जिल्लाको दक्षिणी भेगका बासिन्दाहरुका लागि केही बर्षअघिसम्म किमाथांका अर्कै संसार' झैं थियो।


चौध बर्षअघि सदरमुकाम खाँदबारीदेखि उत्तरी सीमा किमाथांकासम्म सडक बनाउने योजना पनि अपत्यारिलो र अनावश्यकझैं थियो । तै, किमाथांका–खाँदबारी मोटरबाटो निर्माण नागरिक मुल समिति गठन गरियो । समितिले बाटो बनाउन रकम जुटाउने उद्देश्यले एक रुपैयाँ' अभियान सञ्चालन गरेको थियो । खाँदबारी आईपुगेका चिनियाँ राजदुतले पनि अभियानमा ऐक्यवद्धता जनाउँदै एक रुपैयाँ दिएका थिए । त्यसबेला जम्मा भएको करिब पाँच हजार रुपैयाँ अझैपनि बैंकमा सुरक्षित रहेको अभियन्ता जीवनाथ खनालले बताए।

तर, समयले मोटरबाटोको आवश्यकता र सान्दर्भिकता मात्र प्रमाणित भएन, ५० कोष टाढाको खाँदबारी र किमाथांका सडक मार्गमा जोडिदैछन् । बहुप्रतिक्षित र बहुचर्चित उत्तर–दक्षिण (कोशी) सडक आयोजनाको ट्र्याक खोल्न बाँकी अन्तिम खण्डको पनि टेण्डर आव्हान भएको छ । आयोजनाको खाँदबारी–किमाथांकाअन्तर्गत अन्तिम खण्ड हटियाको पेजुङदेखि चेपुवाको छुम्सुरसम्म ३६ किलोमिटर सडकको ट्रयाक खोल्न टेण्डर आव्हान भएको हो।

यसअघि किमाथांकातर्फबाट छुम्सुरसम्मको करिब १९ किलोमिटर सडक निर्माणको ठेक्का सम्झौता भई काम भईरहेको छ। खाँदबारी उत्तर पनि अरुणपारिसम्म १८ किलोमिटर सडक निर्माण भईसकेको छ । त्यसउता पाथिभराको एकुवाबाट पेजुङसम्म ४० किलोमिटर सडकको ठेकेदार कम्पनीले काम गरिरहेको छ ।

अन्तिम खण्डको दुई प्याकेजमा ठेक्का आव्हान गरिएको खाँदबारीस्थित उत्तर–दक्षिण (कोशी) सडक आयोजना कार्यालयले जनाएको छ । पेजुङ–हान्दाक र हान्दाक–छुमसुर गरी दुई प्याकेजमा ट्रयाक खोल्ने कार्यको प्रक्रिया अगाडि बढाईको कार्यालय प्रमुख हरिकुमार पोखरेलले जनाए । प्रमुख पोखरेलका अनुसार , पहिलो प्याकेज १५ र दोश्रो २१ किलोमिटर लामो हुनेछ ।

सडक कम्ती साढे सात मिटर चौडा र डबल लेनको निर्माण हुनेगरी ठेक्का सम्झौता हुने कार्यालयका ईञ्जिनियर पशुपति ज्ञवालीले बताए। उनका अनुसार, ठेक्का अवधि दुई बर्षको हुनेछ।

यो खण्ड अहिलेसम्मकै सबैभन्दा कठिन रहेको कार्यालय प्रमुख पोखरलले बताए । 'यो अहिलेसम्मकै उचाईमा पर्ने र हिमापात हुने क्षेत्र हो । बढी भिर भएकाले अत्याधिक चट्टान पनि छ', पोखरेलले भने । यो खण्डमा दश हजार घनमिटर चट्टान कटानका लागि बिष्फोटनसमेत गराउनु पर्ने कार्यालयले जनाएको छ।

अन्तिम खण्डका लागि ट्रयाक खोल्ने प्रक्रिया अगाडि बढेपछि स्थानीयमा खुशी छाएपनि अघिल्लो प्याकेजको काम भने उत्साहप्रद नभएको गुनासो हुँदै आएको छ । निर्धारित अवधि सकिन लाग्दा दुवैतर्फका ठेकेदार कम्पनीहरु समय थपको प्रयासमा लागेको कार्यालयले जनाएको छ।

काम भईरहेको र ठेक्का आव्हान भएको प्याकेज निर्धारित अवधिमै पुरा भए भारतको जोगवनीदेखि खाँदबारी भएर चीनसम्म पुग्ने यो सबैभन्दा छोटो दुरीको मार्ग हुनेछ । जोगवनी–किमाथांकाको सडक मार्ग दुरी तीन सय ७८ किलोमिटर रहेको ईञ्जिनियर ज्ञवालीले जनाए । यसअन्तर्गत जोगवनीदेखि खाँदबारीसम्म पक्की सडकमा यातायात सञ्चालन भईरहेको छ । खाँदबारीदेखि अरुण नदीको फ्याक्सिन्दासम्म ५० किलोमिटर कच्ची सडक निर्माण भईसकेको छ । खाँदबारीदेखि किमाथांकासम्मको सडक दुरी भने एक सय ६३ किलोमिटर छ ।

पछिल्लो पटक चीनसँगको सात नाका खोल्ने सरकारी निर्णयपछि मात्र किमाथांका चर्चामा रहेको हो । सडक सञ्जाल नपुगेकाले नाका खुल्ने निर्णय सार्थक नहुने बताईदै आईएको छ।

प्रकाशित: १० वैशाख २०७३ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App