coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन्छौं: घिसिङ

नेपाल विद्युत् प्राधिकरणको ३७ औं वार्षिकोत्सव

फाइल तस्बिर

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरेर अर्ध र पूर्ण जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले प्राधिकरणले आगामी वर्ष पूर्ण र अर्धजलाशययुक्त आयोजनालाई प्रथामिकतामा राखेर निर्माण गर्ने घोषणा गरेका हुन्। प्राधिकरणले ६३५ मेगावाटको दूधकोशी, १०६१ मेगावाटको अपर अरूण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–पाँचौं र ६० मेगावाटको मोदी (माथिल्लो र तल्लो) जलविद्युत् आयोजनाहरूको निर्माणलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य अघि बढाएको उनले बताए।  

‘प्राधिकरण र सतलज जलविद्युत् कम्पनीबीच ४९०.२ मेगावाटको अरूण–४ जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गरिनेछ,’ उनले भने– ‘प्रतिस्पर्धात्मक प्रक्रियाबाट सौर्य ऊर्जा खरिद गरिनेछ भने जलप्रवाहको अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्न प्रोत्साहन हुने गरी विद्युत् खरिद गर्ने नीति लिइनेछ।’  

कार्यकारी निर्देशक घिसिङले काठमाडौं लगायतका प्रमुख शहरहरूमा वृद्धि भैरहेको उच्च विद्युत् मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै जाने बताए।  

‘हुलाकी राजमार्ग आसपास डेडिकेटेड चार सय केभी र मल्टी सर्किट २२० केभी लगायतका विभिन्‍न क्षमताका दक्षिण कोरिडोर प्रसारण लाइन निर्माण गर्न आवश्यक वित्तीय स्रोत नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एक्जिम बैङ्कहरू लगायतका विभिन्‍न दातृ निकायहरूबाट जुटाइने छ,’ उनले भने– ‘निकट भविष्यमा नै थप विद्युत् आयोजनाहरू सञ्‍चालनमा आई वर्षभरि मुलुक आवश्यकता भन्दा अधिक ऊर्जा उत्पादन गर्न सक्ने अवस्थामा पुग्नेछ।’ प्राधिकरणले स्वदेशमै विद्युत्को खपत वृद्धि गरी खपत नभएको विद्युत् मात्र निर्यात गर्ने नीति अवलम्वन गरी सोही अनुरूप खपत वृद्धि गर्न विद्युतीय चुलो, विभिन्‍न विद्युतीय उपकरण, विद्युतीय सवारी साधनको प्रयोग गर्न उपभोक्ताहरू समक्ष चेतना मूलक विद्युत् खपत प्रवद्र्धन कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्‍चालन गर्ने योजना अघि सारेको छ। प्राधिकरणले विद्युतीय ऊर्जा खपत हुने मात्र नभई पेट्रोलियम पदार्थ तथा ग्यासमा खर्च हुने राष्‍ट्रको अर्बौ विदेशी मुद्रासमेत बचत हुने दाबी गरेको छ।  

प्राधिकरणले गत आवमा सौर्य प्लान्टसहित कुल ७३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जडान भएको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीहरूबाट निर्माणाधीन जलविद्युत् आयोजनाहरू सम्पन्‍न भई प्राधिकरणको प्रणालीमा विद्युत् थप हुँदै जाने अवस्था भएकाले आन्तरिक खपतको साथसाथै विदेश निर्यात गर्ने योजना अघि सारेको बताए।  

‘विगत तीन वर्षदेखि लगातार विद्युत् महसुल घटाउँदै करिब २० देखि २५ प्रतिशत विद्युत् महसुल कम हुँदा पनि प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा बढी नाफा कमाउन सफल भएका छौं,’ उनले भने– ‘आजभन्दा ६ वर्ष अगाडि करिब ६२ प्रतिशत जनताले मात्र ग्रीडको विद्युत् बाल्न पाएकोमा आज करिब ९३ प्रतिशत जनताले ग्रीडको विद्युत् उपभोग गर्न पाएका छन्।’  

प्राधिकरणका अनुसार वैकल्पिक ऊर्जासमेत गर्दा करिब ९६ प्रतिशत जनताले विद्युत् सुविधा पाएको जनाएको छ। हाल ४२ जिल्लामा पूर्ण विद्युतिकरण भैसकेको छ। आगामी दुई वर्षभित्र शतप्रतिशत जनतासामु विद्युत्को पहुँच पुर्‍याउने सरकारी लक्ष्यसहित प्राधिकरणले काम गर्दै आइरहेको छ। विगत ६ वर्ष अगाडि २५.७८ प्रतिशत रहेको चुहावट हाल १५.३८ प्रतिशतमा झरेको जनाएको छ।

प्रकाशित: २ भाद्र २०७९ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App