१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

अघिल्लो वर्षको बाढीले बगाएर २८ दिनमा तयार भएको पाँचथर–ताप्लेजुङ जोड्ने हेवाखोला माथिको बेलिब्रिज पुल शनिबार बिहान बगाएपछि मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्डमा यातायात अवरुद्ध भएको छ।

बेलिब्रिज नाम निसाना नै नराखी बाढीले बगाएको हेवाखोला नजिकै रहेकी नर्वदा सुनुवारले जानकारी दिइन्। चाडवाडकै मुखमा हेंवाखोला माथिको पुल बाढीले बगाएपछि अब मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फ आउने सवारी माध्यम अस्तव्यस्त हुने देखिएको छ।

हेंवाखोलाको पुल बगाउँदा ताप्लेजुङतर्फको सबै भेग र पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा सवारी आवागमनमा प्रत्यक्ष असर पर्ने छ।

यता बाढीले यहाँको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलामा अस्थायी काठे पुल बगाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनका अनुसार शनिबार बिहान अविरल वर्षासँगै ओलाङचुङगोलास्थित दाङजेटार भन्ने स्थानमा डाँडा माथिबाट पहिरो खसेर काठे पुल र याक हिँड्ने करिब १० मिटर जतिको गोरेटो बाटो बगाएको हो।

सशस्त्र प्रहरीको बिओपी ओलाङचुङगोलाका सशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको नेतृत्वमा सात जनाको बाढी तथा पहिरोग्रस्त क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरीले बताएको छ।

यता फुङलिङ नगरपालिका वडा नं-८ स्थित वैशाखे खोल्सामा आएको लेदो सहितको बाढीले मेची राजमार्गको ल्याङ्वा–बहानन्दे खण्ड अवरुद्ध भएको छ।

बाटो खुलाउने प्रयास जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए। ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यहाँ विगत २४ घण्टामा १०७.८ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित: १२ आश्विन २०८१ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App