१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा विमानस्थलको आम्दानी अहिलेसम्मकै बढी ११ करोड ५९ लाख

आन्तरिक यात्रु आउजाउका भरमा पनि आम्दानीले नयाँ रेकर्ड बनायो

पोखरा विमानस्थलबाट उडानको तयारीमा रहेका जहाज। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले करिब दुइवर्ष जति पर्यटक आउजाउ ठप्प जस्तै भयो। विदेशी पर्यटकको आगमन त अहिले पनि सुस्त नै छ। तर, पछिल्लो समय आन्तरिक पर्यटनको क्षेत्रमा भने निकै नै चहलपहल बढ्यो। अफसिजनका कारण यतिबेला आन्तरिकको संख्या केही कम भएपनि सिजनका बेला आन्तरिक पाहुनाको संख्याले निकै नै आकार लिएको यहाँका व्यवसायीले बताउँदै आएका छन्।

कोरोना संक्रमण सुस्ताएको मौका पारेर आन्तरिक पर्यटकको आउजाउ यतिसम्म बढ्यो की हवाई यात्रामा पनि उत्तिकै भीडभाड थपियो। पर्यटकीय सहर पोखराको विमानस्थल आन्तरिक पाहुनाका कारण अधिकांश दिन व्यस्त बन्यो, त्यस्तै हवाई उडान पनि थपिए। त्यसकै परिणाम स्वरुप पोखराको चालु विमानस्थल अहिलेसम्मकै बढी आम्दानी गर्न सफल पनि भयो।

विदेशी पाहुना अभावमा पनि आन्तरिक यात्रुको भरमा गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आम्दानी गर्न पोखराको यो विमानस्थल सफल भएको छ। विदेशी पाहुना अभावमा पनि आन्तरिक पाहुनाकै कारण हवाई उडान थपिएको र त्यसले गर्दा आम्दानी बढाउन सघाएको विमानस्थलले बताएको छ।  

विमानस्थलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पोखराको यो विमानस्थलले ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अहिलेसम्मकै बढी भएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। विमानस्थलका अनुसार आर्थिक वर्ष २०७७/७८ को आम्दानी जम्मा ४ करोड ५० लाख रुपैयाँ आम्दानी भएको थियो। कोरोना संक्रमणका कारण हवाई उडान कम हुँदा आम्दानी पनि त्यो आर्थिक वर्ष ह्वात्तै घटेको सुवेदीले जानकारी दिए।

विमानस्थलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा भने यो विमानस्थलले ७ करोड ४८ लाख रुपैयाँ कमाएको थियो। त्यो भन्दा अगाडि आर्थिक वर्ष २०७५/७६ मा भने पोखरा विमानस्थलको आम्दानी ९ करोड ४८ लाख रुपैयाँ थियो। आर्थिक वर्ष २०७४/७५ मा भने विमानस्थलको कमाई ८ करोड ३७ लाख रुपैयाँ थियो। ‘कोरोनाले गर्दा बीचका दुइवर्ष आम्दानी घटेपनि पछिल्लो वर्ष भने आम्दानीले फड्को मार्न सकेको उनले बताए।  

‘कोरोना संक्रमणका कारण अघिल्ला वर्षको आम्दानी कम भएपनि गत आर्थिक वर्षमा भने आन्तरिक पाहुनाको आगमन ह्वात्तै बढ्यो। त्यसले गर्दा पनि आम्दानी बढ्न गएको हो,’ सुवेदीले भने, ‘आन्तरिक पाहुनाको कारण हवाई उडान क्षेत्रमा वृद्धि भयो। पोखरा–काठमाडौं क्षेत्रमा मात्र नभई पोखराबाट अन्य ठुला सहरमा पनि हवाई उडान सुरु भए।’ 

पछिल्लो समय त आन्तरिकको आगमन निकै नै बढ्न जाँदा सबैतिरका गन्तव्यमा हवाई उडान थपिएको उनले बताए। अहिले पोखराबाट नियमित रुपमा काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा र जनकपुरसम्म उडान भईरहेका छन्। केही वर्षअघिसम्म पोखराबाट जोमसोम र काठमाडौंका लागि मात्र नियमित उडान थिए। तर, पछिल्लो समय नयाँ गन्तव्यसम्म पनि उडान थपिएपछि यात्रुको आउजाउ बढ्न गएको उनले बताए।  

आर्थिक वर्ष २०७८/७९ मा विमानस्थलको आम्दानी (११ करोड ५९ लाख रुपैयाँ) मध्ये ८ करोड ११ लाख रुपैयाँ त यात्रुबाट संकलित करबाट उठेको रकम हो। बाँकी रकम भने हवाईजहाज ल्याण्डिङ, संचार–नेभिगेसन, पार्किङ तथा ह्यांगरको भाडाबाट संकलित भएको थियो। ‘कोरोना संक्रमण कम भएको मौकामा यति धेरै आन्तरिक पर्यटक पोखरा ओइरिए की कतिपय दिन त व्यवस्थापनमा समेत हम्मेहम्मे भएको थियो,’ सुवेदीले भने, ‘नयाँ गन्तव्यमा समेत उडान थपिँदा यात्रु बढ्न पुगे। त्यसले गर्दा आम्दानी बढाउन सहज भयो।’  

पोखराबाट यतिबेला भईरहेका उडानमध्ये काठमाडौंसँगको हिस्सा बढी छ। काठमाडौसँगको पोखराको उडान संख्या अहिले दिनमा डेढदर्जन बढी छन। ती पनि ठुला आकारका जहाज (७२ सिट क्षमताका एटिआर ७२–५००) बाट अधिकांश उडान भईरहेका छन्। यती र बुद्ध एयरलाइन्ससँग ती आकारका जहाज छन्। त्यसबाहेक पोखरालाई अन्यका ठुला सहरमा हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले गति लिएको छ। निजी हवाई कम्पनि अझै नयाँ गन्तव्यमा पोखरालाई जोड्ने योजनामा छन्।

‘कोरोना अघि सानो आकारका जहाजबाट उडान हुने गरेकोमा अहिले हुने उडानका सबैजसो जहाज ठुला आकारका छन्,’ उनले भने, ‘एकैपटक धेरै संख्यामा यात्रु आउजाउ गर्न पाएका छन्। त्यसबाहेक हवाई उडान संख्या पनि बढेका छन्।’ पछिल्लो समय पोखरासँगको हवाई सञ्जालले तिब्रगतिमा फड्को मार्दै जाँदा विमानस्थलको आम्दानी पनि थपिएको उनले बताए। ‘कोरोना संक्रमणले अरु क्षेत्र साँघुरिएको भएपनि पोखराले आन्तरिक हवाई रुटमा भने आफुलाई बिस्तार गर्न सफल भएको छ,’ सुवेदीले भने, ‘आन्तरिक उडानमा काठमाडौंपछि सबैभन्दा गन्तव्यसम्म उडान गर्ने सहर पोखरा बनिसकेको छ।’

‘विदेशी पाहुनाबिनाको हवाई उडान संख्या निकै नै राम्रो मान्नुपर्छ। कोरोना संक्रमण यत्तिकैमा रोकिने र विदेशी पाहुना आउन थाल्ने हो भने यो उडानले झनै गति लिनेछ,’ उनले भने, ‘घुमघाममा निस्कनुपर्छ भन्ने आन्तरिक यात्रुमा भावना पलाएको छ।’ कोरोनाले गर्दा लामो समय घरभित्रै थुनिएका नागरिक अहिले घुमफिरमा निस्कन थालेका छन। त्यसले गर्दा पनि हवाई क्षेत्रले गति लिएको उनले बताए।

प्रकाशित: ३० श्रावण २०७९ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App