२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छः मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन्। बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले सरकारको स्वामित्वमा सञ्चालन भइ नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए। मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए।

उनले पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भएपनि सञ्चालनमा ल्याउने उल्लेख गरे।

मन्त्री बडूले अहिले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेको बताए। उनले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गरे।

मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताए। उनले मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिने दाबी गरे। मन्त्री बडूले अब निजी क्षेत्र र सरकार दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्ने बताए।

उनले सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए। मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए। 

प्रकाशित: ११ श्रावण २०७९ १०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App