३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

भ्रमण दशक घोषणाको तयारी

फाइल तस्बिर

सरकारले सन् २०२३ देखि २०३३ लाई ‘नेपाल भ्रमण दशक’ मनाउने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै भ्रमण दशक तयारी गरिरहेको जानकारी गराएको छ। मन्त्रालयको पर्यटन प्रवद्र्धन महाशाखाका प्रमुख तथा सहसचिव होमप्रसाद लुइँटेलले भ्रमण दशकका लागि चालु आर्थिक वर्षमा आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताए। ‘भ्रमण दशकको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी तीन महिनाभित्रै गरेर घोषणा गर्ने कार्यक्रम राखेका छौं,’ उनले भने, ‘सरकारले हाल भ्रमण दशकको लागि तीब्र गतिमा तयारी गरिरहेको छ।’  

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ ल्याउने घोषणा गरेका थिए। सोही घोषणा अनुसार नै मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना –२०७९ सार्वजनिक गरेको हो। मन्त्री श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनामार्फत पर्यटन प्रवद्र्धन हुने र भ्रमण दशकले पर्यटन व्यवसायीहरूलाई अर्थपूर्ण सहयोग पुग्ने दाबी गरे।  

उनले कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई उकास्दै नेपाललाई विश्व पर्यटन आगमनको केन्द्र बनाउने गरी काम भइरहेको बताए।  

सहसचिव लुइँटेलले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजनाको लागि गत असार १३ गते समितिले पेश गरेको प्रतिवेदनका आधारमा पुनरुत्थान कार्ययोजना तयार पारिएको जानकारी दिए।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति, सेवा तथा व्यवसायलाई सुविधा र सहुलियतको व्यवस्था गरिएको छ।  

सहसचिव लुइँटेलले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरूलाई सम्मान स्वरूप परिचय पत्र दिने तथा सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान स्थिति र भविष्यको जोखिम सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरिने बताए। सोही अध्ययन समितिको प्रतिवेदनमा आधारित भएर आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने कार्ययोजनामा उल्लेख छ।  

कार्ययोजना अनुसार पर्यटन दशक घोषणा भएको दुई महिना भित्र पर्यटन नीति, पर्यटन ऐन, पर्यटन बोर्ड ऐन, पर्वतारोहण नियमावलीलगायतका कानुनहरूको समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ। यस्तै उपत्यकामा रात्रिकालीन पर्यटन विस्तार गर्ने अवधारणा अनुरूप दुई महिनाभित्र काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा ‘रात्रीकालीन सम्पदा यात्रा’ सुरूवात गरिने भएको छ।

त्यस्तै मन्त्रालयले एनआरएनको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ। त्यसैगरी अन्तर प्रादेशिक हवाई सेवा विस्तारलाई समेत निरन्तरता दिने भएको छ। यस्तै सरकारले तीन महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उपत्यकाका महत्वपूर्ण स्थानसम्म पुग्ने गरी विद्युतीय यातायात सेवा सञ्चालन गर्ने र उपत्यकाका प्रमुख स्थलहरूमा निजी क्षेत्रको सहकार्यमा होप अन/अफ सिटीबस सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरेको छ।  

यस्तै मन्त्रालयले ६ महिनाभित्र पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका अन्य हिमालहरूको आरोहण खुला गर्ने तयारी गरेको छ। त्यस्तै एक महिनाभित्र ‘क्लिन नेपाल ग्रिन नेपाल’को अवधारणा अन्तर्गत प्रदेश, स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ एवं रङ–रोगन अभियान चलाउने घोषणा गरेको छ।

कार्ययोजनामा विमानस्थलभित्र रहेको नेपाल पर्यटन बोर्डको सूचना कक्षमा दुई महिनाभित्र धेरै पर्यटक आउने प्रमुख मुलुकका नागरिकले बोल्ने भाषाका सहयोगी तथा डिजिटल इनफरमेसन बोर्ड राखिने उल्लेख छ। 

प्रकाशित: ९ श्रावण २०७९ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App