१६ चैत्र २०८० शुक्रबार
अर्थ

अझै अन्योलमै पर्यटन बजार: बुकिङ र सोधपुछ राम्रो छ तर पाहुना आउने निश्चित छैन

आगामी सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। कोरोना भाइरस संक्रमणले थला पारेको पर्यटन क्षेत्र बल्ल यतिबेला बामे सर्दैछ। पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढिरहेको पर्यटन बोर्डले तथ्यांकले पनि देखाउँछ। त्यसबाहेक पर्यटन क्षेत्रमा सुधारको संकेत दिने गरी आगामी सिजनका लागि विदेशी पर्यटकको अग्रिम बुकिङ र सोधपुछ आउन थालेको पर्यटन व्यवसायीले नै बताएका छन्।

अग्रिम बुकिङ, सोधपुछ र मासिक आगमनको तथ्यांक हेर्दा सबैतिर सुधारको संकेत देखिए पनि पर्यटन व्यवसायी स्वयं भने आगामी सिजनसँग उत्तिसारो ढुक्क छैनन्। उनीहरुका अनुसार अहिलेको बुकिङ र सोधपुछ अनुसार पाहुना आउने निश्चित छैन। सिजनको अग्रिम बुकिङ हेर्दा पर्यटन क्षेत्र आशावादी भइसकेपनि पाहुना आउने निश्चित भने नभएको उनीहरु नै बताउँछन्।

अग्रिम बुकिङ भएपनि पाहुना आगमनको ‘ग्यारेन्टी’ भने नरहेको उनीहरुको भनाइ छ। सानातिना समस्याले पनि नेपाल भित्रिने पाहुनाको आगमन प्रभावित हुँने हुँदा बुकिङ भए अनुसार पाहुना आउँछन् नै भनेर भन्न नसकिने व्यवसायीको भनाइ छ। पर्ख र हेरको अवस्थामा अझै पनि पर्यटन क्षेत्र रहेको उनीहरुको भनाइ छ।

कोरोनापछिको समयको यो बुकिङ र सोधपुछले व्यवसायी केही उत्साही भएको भने व्यवसायी बताउँछन्। आगामी दिनमा कोरोनाको समस्या नथपिने हो भने आगामी सिजनका लागि बुकिङ गरेका पाहुना आउनेमा आशावादी रहेको व्यवसायीले बताए।  

व्यवसायीका अनुसार सेप्टेम्बरदेखि नोभेम्बरसम्मको बुकिङको आकार बढिसकेको छ। त्यसले व्यवसायीलाई केही खुसी तुल्याएको छ। बुकिङ मात्र नभइ सोधपुछ पनि उत्तिकै छ। कोरोना संक्रमणपछि आन्तरिक पर्यटक र पछिल्लो केही महिना भारतीय पाहुनाको भरमा थेगिएको पर्यटन क्षेत्रले अब तेश्रो मुलुकका पाहुना पाउनेमा आशावादी भएपनि पनि पाहुना आउनेमा अझै ढुक्क हुन नसकेको उनीहरुको भनाइ छ।  

लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार आगामी सिजनको बुकिङ सन्तोषजनक छ। 'किङ आउने क्रम चलिरहेको पनि उनले बताए। सबैखाले श्रोत बजारबाट नेपाल भित्रिने पर्यटकले आगामी सिजनका लागि बुकिङ गरेको भट्टराइले बताए। उनका अनुसार रिसोर्टको आगामी सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अग्रिम बुकिङको अनुपात ५० प्रतिशत हाराहारीमा पुगिसकेको छ। सेप्टेम्बर भन्दा पनि अक्टोबर र नोभेम्बरका लागि गरेको बुकिङ झनै राम्रो रहेको उनले बताए।  

कोरोनाले गर्दा शून्यमा झरेको पर्यटन क्षेत्रले संक्रमण कमजोर हुनासाथ गति लिएको भन्दै व्यवसायी खुसी छन्। ‘डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकी नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’

उनका अनुसार सेप्टेम्बर भन्दा पनि अक्टोबर र नोभेम्बरको बुकिङ झनै राम्रो छ। ‘अहिल्यै ५० प्रतिशत बुकिङ आइसकेको छ। अब नेपालमा कुनै समस्या नआउने हो भने यो आगमन अझै बढ्नेमा हामी आशावादी छौं,’ उनले भने, ‘कोरोना संक्रमण नबढ्ने हो आगामी दिनमा पक्कै पनि आगमन निश्चित हुनेछ। तर पछिल्ला दिन कोरोना संक्रमण केही बढिरहेकोले व्यवसायी तर्सिएका छन्। यसको मार पर्यटनमा पुन पर्ने त्रास हामीमा छ।’

राजनीतिक, सडक पहुँचको सकस र कोरोनाको त्रासका कारण अझै पनि पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता भने व्यवसायीमा रहिरहेको उनले सुनाए। यदी अवस्था नराम्रो हुँदै गए अहिलेको अग्रिम बुकिङ अनुसार पाहुना आउन नसक्ने भट्टराई बताउँछन्। ‘अहिलेको लागि बुकिङ राम्रो छ। तर, पाहुना आउने निश्चित भने छैन,’ उनले भने, ‘तर, हामी सुखद दिनको पर्खाइमा छौं।’

विभिन्न पाँचवटा चल्टीका होटलको बजारीकरण गरिरहेको एजिज हस्पिटालिटी ग्रुपका निर्देशक किरण तुलाधरले पनि आन्तरिक र भारतीय बाहेक तेश्रो मुलुकका पर्यटक भित्रिनेमा आशावादी रहेको बताए। उनका अनुसार आगामी सिजनका लागि यूरोपियन पर्यटकको सोधपुछ निकै नै राम्रो छ। १५–२० प्रतिशत बुकिङ भइसके पनि सोधपुछ भने निकै नै रहेको उनले बताए।  

यो समूहले विभिन्न पाँचवटा होटलको व्यस्वस्थापन हेरिरहेको छ। पोखराको सनसाइन रिसोर्ज र पोखरा च्वाइस इन, लम्जुङको गेटवे हिमालय, भोटेकोशी हेली रिजोर्ट र नवलपुरको मचान कन्ट्री भिल्ला पनि यही समूहले बजारीकरण गरिरहेको छ। ‘पोखरा, चितवन र काठमाडौँका लागि बुकिङ र सोधपुछ निकै नै राम्रो छ, तर पर्यटक नआउँदा सम्म यकिन भन्न सकिएन,’ तुलाधरले भने, ‘सोधपुछ र घुम्न आउनेको चाहना भने निकै नै छ। चाहनाले मात्र हुँदैन, पाहुना नभित्रिएसम्म यकिन हुँदैन।’ व्यवसायीका अनुसार कोरोना अघिको समयमा बुकिङ गरेका अधिक पाहुना आउँथे, तर, अहिले त्यो अवस्था छैन।

उनका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि नेपाल घुम्न आउने विदेशी पाहुनाले महिनौ अघि बुकिङ गरिसकेका हुन्थे। कतिपय पर्यटकले ६ महिना अघि नै बुकिङ गर्थे। तर, त्यो अवस्था अहिले नभएपनि सोधपुछ र चाँसो भने रहेको उनले बताए। ‘अहिले पनि पर्यटन क्षेत्रमा दोधार छ। किनकी कोरोना कुन रुपमा जाँदैछ भन्ने यकिन छैन। त्यही भएर पनि पर्यटकले बुकिङ नगरेका हुन्, तर, उनीहरुको चाँसो भने नेपाल घुमघाममा छ,’ उनले भने, ‘कोरोनापछिको अप्ठेरो समय आन्तरिक र भारतीयको भरमा गुजार्‍यौँ। अब केही सुधार हुने देखिएको छ।’

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली पनि तेश्रो मुलुकका पाहुना पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। भारतीयका लागि भने कुनै समस्या नरहेको उनले बताए। ‘भारतीय पाहुना एक साताको योजना बनाएर घुमघाममा निस्क्छन्। तर, तेश्रो मुलुका पर्यटकको अवस्था भने अझै अनिश्चित छ,’ पराजुलीले भने, ‘अझै पनि कोरोनाको त्रास छ। त्यसले गर्दा पाहुना आउने दिनसम्मको अवस्था यकिन गर्न सकिन्न।’

उनले पनि अहिलेसम्म सिजनका महिनाका लागि २० प्रतिशत अग्रिम बुकिङ आएसकेपनि त्यो निश्चित नहुने बताए। ‘अनलाइन बुकिङ आउने क्रम चलिरहेको छ। तर, जुनसुकै बेला पनि रद्द हुन सक्छ। कोभिडले अझै त्रास दिलाएको छ। पर्यटन बजार अन्योलमा छ,’ उनले भने, ‘अहिलेसम्म आन्तरिक र भारतीयको भरमा थियौ। अब केही सुधारको संकेत त मिलेको छ। तर, त्यो निश्चित छैन।’  

प्रकाशित: ३२ असार २०७९ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App