९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

असार अन्तिममा सचिवको विदेश सयर

राजस्व असुली लक्ष्यबाहिरै

आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्।

सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य सुरुका महिनादेखि नै पूरा हुन सकेको छैन। यस्तोमा आर्थिक वर्षको अन्तिम समयमा लक्ष्य पूरा गर्न हरतरहबाट प्रयास गर्ने जिम्मेवारीमा बसेका राजस्व सचिव पुस्कर भने एक साता विदेशमै रमाए।

अस्ट्रियामा करसम्बन्धी तालिममा भाग लिन असार २१ गते त्यसतर्फ गएका सचिव पुस्कर २७ मा मात्र मन्त्रालय आए। पूर्वअर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव पुस्करको भ्रमण स्वीकृतिका लागि सबै व्यवस्था मन्त्रिपरिषद्बाट मिलाइदिएका थिए।

चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरी ११ खर्ब ८० अर्ब ६० करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ। असार २७ सम्म १० खर्ब ८ अर्ब २३ करोड संकलन भएको छ। यो लक्ष्यको ८५.४ प्रतिशत हो।

यो वर्ष गैरकर असुलीमा झनै समस्या देखिएको छ। सरकारले एक खर्ब १२ करोड रूपैयाँ गैर कर उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म ७५ अर्ब रूपैयाँ मात्र उठेको छ। यो लक्ष्यको ६६.८२ प्रतिशत हो। वर्ष सकिन ५ दिन बाँकी भएकाले अबका दिनमा सरकार राजस्व असुलीमा लक्ष्यको नजिक पुग्ने सम्भावना न्यून छ। राजस्व असुलीको यस्तो दुरवस्थालाई चटक्कै छोडेर जिम्मेवारी लिएका प्रमुख व्यक्ति भने साता लामो विदेश सयरमा रमाएर  फर्केका छन्।

अर्थ मन्त्रालयको एक महाशाखाका प्रमुखले यस्तो बेलामा विदेश जान खोज्ने सचिव, पठाउने मन्त्री र स्वीकृति दिने मन्त्रिपरिषद् कसैमा पनि राष्ट्रप्रतिको दायित्व के हो भन्ने नदेखिएको बताए। महाशाखाका ती प्रमुखका अनुसार कार्यक्रम सचिव नै जानुपर्ने कुनै विशिष्ट खालको थिएन। एक उपसचिवलाई पठाए पनि हुने करको सामान्य तालिममा राजस्व सचिवजस्तो व्यक्ति जानुलाई कसैले पनि राम्रो नमानेको महाशाखाका ती प्रमुखले बताए।

सचिव जस्तो व्यक्तिले कार्यक्रम र समयको सामान्य हेक्कासमेत नराखेर विदेश जानै मरिहत्ते गरेको देखिएको भन्दै यसको मन्त्रालयभित्रै विरोध भएको जानकारी महाशाखाका ती प्रमुखले दिए। ती प्रमुखले भने, ‘मन्त्रालयका अधिकांश महाशाखा प्रमुखले असार अन्तिममा राजस्व सचिव बाहिर जानुलाई राम्रो मानेका छैनन्। राजस्व सचिवको सबैभन्दा धेरै महत्त्व नै आर्थिक वर्षका अन्तिम महिनामा हुने हो। त्यसमा पनि असारको अन्तिम समयमा राजस्व उठाउन सबैलाई घचघच्याउनुपर्नेमा आफैं विदेशतिर लागेपछि मन्त्रालयभित्रै विरोध हुनु स्वाभाविक हो।’

अर्थ मन्त्रालयका अर्का एक उच्च अधिकारीका अनुसार राजनीतिक नेता र शक्तिशालीसँग जोडिएर काम गर्ने सीमित कर्मचारीमध्ये राजस्व सचिव पुस्कर पनि एक हुन्। विगतमा उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका अतिविश्वास पात्र थिए। त्यसबेला विकासे मन्त्रालयका कर्मचारीसँग पैसा असुली गर्न कार्कीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो।

कार्की शक्तिमा हुँदासम्म पुस्कर पनि सधैं चर्चामा र हे। कार्कीकै ठाडो आदेशमा उनले श्रमसहचारी बन्ने प्रयास गरेका थिए। त्यसमा असफल भएपछि उनी दिल्लीस्थित महावाणिज्य दूतावासमा सरुवा भएर गएका थिए। कर्मचारीमा सेवा र सुविधाका हिसाबले यो पद आकर्षक मानिन्छ। अनुभवविहीन र सबैभन्दा कान्छो सहसचिवलाई दिल्ली पठाएकोमा त्यसबेला सरकारको आलोचना भएको थियो। सधैं राजनीतिक नेता र शक्तिशाली व्यक्तिसँग सम्बन्ध जोड्ने पुस्कर अहिले पूर्वअर्थमन्त्री शर्माका अति विश्वास पात्र मानिन्छन्।

यही कारण शर्माले उनलाई टपक्क टिपेर राजस्व सचिव बनाएका हुन्। सचिव हुनुअघि पुस्करमा राजस्वसम्बन्धी काम गरेको कुनै गहिरो अनुभव थिएन। न उनी अर्थ मन्त्रालयका अन्य शाखामा लामो समय काम गरेका कर्मचारी नै हुन्। शर्मालाई रिझाएकै कारण अनुभवी र दक्ष कर्मचारीलाई पन्छाएर उनी राजस्व सचिव बन्न सफल भएका हुन्।

अर्थ मन्त्रालयको अर्को महाशाखा प्रमुखका अनुसार बजेट निर्माणमा राजस्वको दर हेरफेर गर्नमा राजस्व सचिवको भूमिका महत्त्वपूर्ण हुन्छ। तर पुस्कर बजेट निर्माणका क्रममा करका दर चलाउन पूर्वअर्थमन्त्री शर्माले ल्याएका बिचौलियाप्रति कडा रूपले प्रस्तुत हुन सकेनन्। बरु अरू कर्मचारीभन्दा नरम देखिए।

मध्यरातमा मन्त्रालय प्रवेश गराइएका बिचौलियाले केही व्यापारिक घरानालाई मात्र फाइदा पुग्नेगरी स्यानेटरी प्याड, एमएस वायर, प्रशोधित पाम र पामोलिन तेल, विद्युतीय गाडीलगायतको करका दरमा चलखेल गर्दा राजस्व सचिवको नाताले रोक्नुपर्ने थियो। तर, उनले त्यसो गरेनन्।

असार अन्तिममा विदेश भ्रमण गएको विषयमा नागरिकले राजस्व सचिव पुस्करलाई पटकपटक सम्पर्क गर्ने प्रयास गरे पनि उनले मोबाइल उठाएनन्। म्यासेज पठाएर फोन उठाउन गरिएको अनुरोधलाई पनि उनले पन्छाए।

अर्थ मन्त्रालयभित्र राजस्व सचिव पुस्करले राजस्व प्रशासनलाई पनि राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ। उनीसँग राजस्व असुलीका नयाँ क्षेत्र पहिचान गर्न सक्ने अनुभव र हैसियत दुवै छैन। राजस्व चुहावट भइरहेका क्षेत्रमा समेत नियन्त्रणका उपाय खोज्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ।

पछिल्लो समय मूल्य अभिवृद्धि कर(भ्याट) र भन्सार महसुलमा ठुला समस्या देखिइरहेका छन्। भ्याटमा नक्कली बिलको प्रयोग सबैभन्दा पेचिलो विषय बनेको छ। राजस्व अनुसन्धान विभागले दिनहुँजसो नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्नेमाथि मुद्दा दायर गरिरहेको छ।

यस्तै भन्सारमा चोरीपैठारी र न्यूनबिजकीकरणको समस्या पनि उस्तै छ। यो सबै हेर्ने दायित्व राजस्व सचिवको हो। तर राजस्व सचिवमा पुस्कर आएपछि कुनै सुधार भएको छैन। राजस्व प्रशासनमा सुधार नगरेकै कार ण यो वर्ष उच्च आयात भए पनि राजस्व लक्ष्य पूरा हुन नसकेको हो।

विगतमा राजस्व सचिव बनेकाले जे–जसरी भए पनि राजस्व उठाउने प्रयास गर्दै आएका थिए। रामेश्वर खनाल, कृष्णहरी बास्कोटा, शिशिर कुमार ढुंगाना लगायत राजस्व सचिव बनेका बेला राजस्व प्रशासनमा बेग्लै सरगर्मी थियो। खनालको उपस्थिति सबै उद्योगी व्यापारी र कर्मचारीका लागि भयको विषय बन्थ्यो।

बास्कोटा र ढुंगानाले हप्कीदप्की गरेरै भए पनि लक्षित राजस्व उठाउने प्रयास गरेको देखिन्थ्यो। बास्कोटाको नीति साउनदेखि नै लक्ष्यअनुसार राजस्व उठाउन सके अन्तिममा समस्या नहुने भन्ने थियो। उनी त्यसै अनुसार खटिएका देखिन्थे। ढुंगानाको प्रवृति पनि लगभग बास्कोटाको जस्तै थियो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राजस्वका क्षेत्रमा धेरै काम हुने भएकाले नै अर्थमा २ जना सचिवको दरबन्दी हटाइएको छैन। राजस्व सचिवले राजस्वको ठुलो अंश असुली गर्ने निकायहरूका प्रमुख र अन्य कर्मचारीसँग हरबखत समन्वयमा रहेर  काम गर्नुपर्छ। राजस्व असुली गर्ने यी निकायमा दैनिकजस्तो केही न केही समस्या आउँछन्। राजस्व सचिवले तत्कालै समस्या समाधानमा पहल गर्न सके मात्र राजस्व असुलीमा सहयोग पुग्छ। तर राजस्व सचिवको जिम्मेवारीमा रहेका व्यक्तिलाई नै जिम्मेवारी बोध नभए पछि अरू सबैलाई पनि बहाना बनाउने मौका मिलेको छ।

प्रकाशित: २९ असार २०७९ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App