नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिका भित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ।बुधबार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो।
उक्त सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको नविल बैंकका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ।
सम्झौता पश्चात् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयहरुलाई निःशुल्क प्रयोग गर्नदिने सम्झौता अन्त्य नभएर शुरुवात भएको बताए। उनले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यवद्घता जनाएको स्पष्ट पारे। काठमाडौं एक जना मेयरको मात्रै शहर नभएर सबै नगरवासीको शहर भएकाले काठमाडौंलाई अझ सुन्दर बनाउन सक्ने शाहले बताए।
त्यस्तै काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले नागरिकको चेतनास्तर वृद्धि र सिकाई अभ्यास गरेर अन्तर्राष्ट्रिय दाजोमा पुर्याउन यस्तो योजना अगाडि बढाएको बताउनु भयो। उहाँले नागरिकलाई आकस्मिक सेवा दिँदै सानो काम गरेर जनसर्मथन गर्न अभियान शुरु गरिएको बताए।
काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो।
सोही निर्णय बमोजिम ऐक्यवद्धता जनाएको बैंकले बताएको छ। सम्झौता अनुसार बैंकले सार्वजनिक प्रयोगलाई सञ्चालनमा ल्याउने शौचालयको सरसफाई र आवश्यक सामग्रीहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयं बैंकले नै गर्नेछ। शौचालयको नियमित मर्मतसम्भार र सरसफाई, पानीको प्रवन्ध, निकासको व्यवस्था दुरुस्त राख्ने बताइएको छ। यो सम्झौता पाँच वर्ष अवधिको हुने सम्झौतामा उल्लेख रहेको छ।
प्रकाशित: २५ जेष्ठ २०७९ ११:२० बुधबार





