२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

यातायात विभागकाे प्रष्टीकरणः सबै सवारी साधनलाई इम्बोस्ड नम्बर राख्न भनिएकाे हाेइन

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताए। उनले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गरे।

महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गरे। उनले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालीन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताए।

इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताए। त्यस्तै उनले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गरे।

महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति समेत व्यवस्था गरिएको जानकारी दिए।

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताए। उनले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताए। गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाई छ। उनका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताए। महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गरे।

प्रकाशित: २४ जेष्ठ २०७९ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App