८ वैशाख २०८१ शनिबार
अर्थ

गण्डकी प्रदेशः नीति तथा कार्यक्रम स्वास्थ्य केन्द्रित

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ मंगलबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै। तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्न जोड दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाएका हुन्।  

प्रदेशबासीको स्वास्थ्यमा सुधार ल्याउन, प्रदेश स्वास्थ्य नीति’कार्यान्वयन गरिने प्रदेश नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, प्रदेशमा जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ।

 प्रदेशको नीति तथा कार्यान्वयनमा लिंग पहिचान गरी भ्रुण हत्याबिरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिका तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेशको कार्यक्रममा मूलप्रवाहिकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलाको पोषणलाई प्रवर्द्धन गर्न स्थानिय तहसँगको समन्वयमा विशेष प्याकेज व्यवस्था गर्ने उल्लेख छ।

सरकारले ज्येष्ठ नागरकिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, प्रदेश सरकारसँग ‘बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। मानव सेवा आश्रम तथा वृद्धाश्रमहरुमा आश्रित दीर्घरोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारले ‘।प्रदेश सरकारको प्रतिबद्धता, मर्यादित महिनावारी र स्वच्छता’ अन्तर्गत किशोरीहरुको स्वस्थताका लागि सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क सेनिटरी प्याड र बिसर्जनको व्यवस्था गर्ने भएको छ। साथै महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७९ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App