७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु

कालीगण्डकी ए विद्युत् गृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न सुरु भएको छ। यो १४४ मेगावाट जडित क्षमताको आयोजना हो। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् शनिबार राति १२ बजेबाट निर्यात सुरु गरेको हो।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मा गत बिहीबारबाट त्रिशुली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ। कालीगण्डकी सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ।

कालीगण्डकी ए को १४० मेगावाट, त्रिशुलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ। वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रूपैयाँ (७ भारु) रहेको बताए। ‘अधिकतम दर प्रतियुनिट १९ रूपैयाँ (१२ भारु), न्यूनतम २.३८ रूपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रूपैयाँ (७ भारु) छ’, घिसिङले भने।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ।

त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ। यसैगरी शनिबार प्रधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रूपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रूपैयाँ (२.५५ भारु) मा विद्युत् बिक्री गरेको छ। औसत मूल्य ११.४८ रूपैयाँ (७.१८ भारु) रहेको छ। नेपालले भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ।  

प्रकाशित: २३ जेष्ठ २०७९ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App