२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी

रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्। मल कहाँबाट ल्याएर बिक्री गरिरहेका छन् भन्ने विषयमा किसान, कृषि सहकारीहरु नियमिन निकाय अनविज्ञ छन्।  

‘सहुलियतमा आएको एक बोरा मलको ११ सयदेखि १२ सय ५० रुपैयाँसम्म पर्थ्याे,’ शहीदलखन गाउँपालिकाका एक शहकारी सदस्यले भने, ‘अहिले एक बोराको २७ सयदेखि ३२ सयसम्म ब्यापारीले बिक्री गरेका छन्।’ यसअघि मल सहकारीले ल्याउने गरेको तर अहिले ब्यापारीले मल ल्याउँदा धेरै महँगो परेपछि सहकारी प्रति किसानले आशंका गर्ने गरेको उनले बताए। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल उपलब्ध गराउन नसक्दा यहाँका सहकारीले अनुदानको मल पाएका छैनन्। अहिले ब्यापारीले ल्याएको मल पनि पुग्ने मात्रामा छैन। केही मल ल्याउने र महँगोमा बिक्री गर्ने गरेका छन्।  

गोरखाको ११ वटा स्थानीय तह मध्ये उत्तरी भेगको धार्चे र चुमनुब्रीमा रासायनिक मल प्रयोग हुँदैन। यहाँ धान खेती हुँदैन। मकै, तरकारी खेती लगायतमा रासायनिक मल प्रयोग गर्ने प्रचालन छैन। अजिरकोट गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गरिएकाले त्यहाँबाट पनि माग नभएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। बाँकी ८ वटा पालिकाको लागि गोरखामा वार्षिक तीन हजार दुई सय १९ मेट्रिक टन युरिया, एक हजार ८७ मेट्रिक टन डिएपि, पाँच सय ४२ मेट्रिक टन पोटास मलको माग छ।  

सबैभन्दा धेरै युरिया मल माग रहेको गण्डकी गाउँपालिकाका कृषि विकास अधिकृत कृष्णप्रसाद भट्टराईले बताए। ‘मल पाएनौँ भन्दै किसानले गुनासो गर्नुहुन्छ,’ उनले भने, ‘हामीले बुझिरहेका छौँ, साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडमा मल छैन।’ पोटास मल भने केही आएको उनले बताए।  

अहिले मकै र तरकारी खेतीका लागि रासायनिक मलको माग धेरै छ। ‘यो मकैमा मल राख्ने सिजन हो’ कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने, ‘अब केही समयपछि धान रोप्ने बेला किसानले मल खोज्छन्।’ मुख्य सिजनको बेला किसानले मल नपाएपछि दिनहुँ गुनासो आउने गरेको उनले बताए। ‘सरकारले नै मल ल्याउन सकेको छैन, अहिले कतैकतै आएको मल पनि महँगोमा बिक्री हुने गरेको छ भन्ने सुनिन्छ,’ उनले भने। केही मात्रामा आएको पोटास मल पनि अहिले सकिएको ज्ञान केन्द्रले जनाएको छ। हरेक वर्ष यो सिजनमा गोरखाका किसानले माग अनुसार मल पाएका छैनन्।  

मल नपाएपछि ब्यापारीले महँगो पैसा लिएर किसान ठग्ने गरेका छन्। किसानको घर सम्म मल लगिदिने, कुनै बिल बिजक नदिने, महँगोमा खरिद गरेको भन्दै तेब्बर शुल्क लिने गरेको गुनासो किसानहरुकै छ। मलमा ठगिएका किसानलाई उजुरी गर्न जिल्ला प्रशासन कर्याालयले अनुरोध गरेको छ। ‘हामीले निगरानी बढाएका छौँ, कहीँ कालोबजारी भएको सूचना आयो भने कारबाही गर्न अझै सजिलो हुने थियो,’ गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरि आचार्यले भने। महँगोमा मल बिक्री भएको विषयमा प्रहरीले निगरानी बढाइरहेको उनले बताए।

प्रकाशित: २२ जेष्ठ २०७९ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App