२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

पाँच महिनामै भत्कियाे ८५ लाखको वाल

हेटौंडा–१९ तीनताप्केमा भत्किएको वाल।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ तीनताप्केमा निर्माण सम्पन्न भएको ५ महिना नहुँदै नालाको वाल भत्किएको छ। शनिबार दिउँसो करिब ४० मिटर लामो वाल भत्किएर नालीनै पुरिएको छ। सोही स्थानमा निर्मित वालको अन्य भाग समेत भत्किन सुरु भएको छ।

मञ्जुश्री कन्स्ट्रक्सनले ५ महिनाअघि वाल निर्माणको काम सम्पन्न गरेको थियो। सडक डिभिजन कार्यालय हेटौंडाको करिब ८५ लाख रुपैयाँको ठेक्कामा सडकको नाली बचाउन वाल निर्माणको काम भएको जानकारीमा आएको छ। वाल भत्किएपछि जम्मा भएका स्थानीय सर्वसाधारणले हातले छुँदा समेत भत्किएपछि ठेकेदारले लापरबाही गरेको भन्दै आक्रोशित भएका थिए।

‘सिमेन्टले जोडिएको वाल यसरी हातले छुँदैमा भत्किने हुन्छ?,' हेटौंडा १९ का राजिन लामाले प्रश्न गरे। कमसल काम गरेर राज्यको सम्पती दुरुपयोग गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीय किरण मगरको माग छ। पछिल्लो समय डिभिजन सडक अन्तर्गत हुने गरेको पिच तथा वाल निर्माणको काम कमसल हुने गरेको सर्वसाधारणको गुनासो छ। यस विषयमा प्रतिक्रिया लिँदा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र दासले भत्किएको भए मर्मत सम्भार हुने बताए।

कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले वाल भत्किएको विषयमा जानकारी पाएको भन्दै विस्तृत बुझेर अघि बढ्ने प्रतिक्रिया दिए। भत्किएको भए एक वर्षभित्र पुनःनिर्माण गर्न पाइने उनको भनाइ छ। ‘तीनताप्केस्थित सडक छेउको वाल भत्किएको जानकारी पाएको छु। त्यहाँको अवस्थाको विषयमा बुझ्न बाँकी नै छ,’ उनले भने, ‘कुन ठेकेदार कम्पनीले निर्माण गरेको हो बुझेर पुनः मर्मत गर्न लगाउनेछौं।’ उक्त कम्पनीको बैंक ग्यारेण्टी र मर्मत गर्ने म्याद बाँकी नै रहेको कार्यालयले जानकारी दिएको छ। वाल निर्माणको क्रममै कमसल बनाएको जानकारी पाएपश्चात् कार्यालयका कर्मचारी र स्थानीयले सचेत गराएका थिए।

प्रकाशित: २१ जेष्ठ २०७९ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App