२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगरबाट लाइसेन्स नवीकरण

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले लाइसेन्स (सवारी चालक अनुमतिपत्र)नवीकरण सुरु गरेको छ। विराटनगर–४ खारजीस्थित कार्यालयले शुक्रबारदेखि लाइसेन्स नवीकरण सेवा सुरु गरेको हो।

यसअघि मोरङका सावरी चालकले लाइसेन्स नवीकरण गर्न सुनसरीको इटहरीमा रहेको कोसी यातायात कार्यालय जानुपर्ने बाध्यता रहेको थियो। प्रदेश १ का १४ जिल्लाका सवारी चालकले अनुमतिपत्र नवीकरण गर्न इटहरी जानुपर्ने बाध्यता थियो। इटहरीमा सवारी र लाइसेन्स नवीकरण गर्न जाँदा घन्टौं लाइनमा बस्दा पनि काम नहुने समस्या भोग्दै आएका थिए।  

इटहरी र झापाबाट लाइसेन्स सम्बन्धी सेवा प्रवाह हुँदै आएकोमा प्रदेश सरकार गठन भएसँगै उदयपुर, इलाम, धनकुटा र ओखलढुंगाबाट यसअघि नै सेवा सुरु भइसकेको छ।  

अन्य केही जिल्लामा यो सेवा सुरु भइसकेको छ। विराटनगरमा २०७१ फागुन १४ गतेबाट सञ्चालनमा आएको यातायात कार्यालयमा सवारी दर्ता, नामसारी, जाचपाँस, बाटो इजाजतपत्र जारी, रुट नवीकरण, अस्थायी पटके रुट जारी, सवारी कर संकलन, ब्लुबुक नवीकरणलगायतका सेवा दिँदै आएको थियो। शुक्रबारदेखि सेवा विस्तार गर्ने क्रममा लाइसेन्सको नवीकरण गर्दै सुरुआत गरेको हो।

‘लाइसेन्सबाहेक अन्य सवारीको दर्ता, नामसारी, ब्लुबुक नवीकरणलगायतको सेवा दिँदै आएका थियौं,’ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख अनमोलमणि भट्टराईले भने, ‘लाइसेन्स नवीकरणबाट सेवा विस्तारको सुरुआत गरेका छौं। अब सवारी चालक अनुमतिपत्र पनि जारी हुन्छ।’  

कार्यालयले नयाँ तथा वर्ग थप गर्ने लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर) कार्यालयको स्वामित्वमा नभएका कारण मापदण्ड पुगेका निजी सवारी चालक प्रशिक्षण केन्द्रमा सञ्चालन गर्न दिनका लागि आह्वान गरेको हो। साउन १ गतेदेखि नयाँ लाइसेन्स वितरण गर्ने तयारी थालिसकेको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App