२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मे महिनाको पर्यटक आगमनः भारत, बंगलादेश र अमेरिकाबाट २०१९ मा भन्दा बढी

पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि भारत, बंगलादेश र अमेरिकी पर्यटक आगमनमा निकै नै सुधार भएको छ। कोरोना भाइरस संक्रमण अघिको भन्दा पनि बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। तीनवटा मुलुकको आगमनले पर्यटनमा ब्यापक सुधार देखिएको पर्यटन बोर्डको भनाई छ।  

पर्यटन बोर्डका अनुसार यो मे महिनामा नेपालमा सबैगरि ५३ हजार ६ सय ८ जना विदेशी पर्यटक भित्रिएका छन्। हवाई मार्ग मार्फत ती विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०१९ को मे महिनामा यो आगमन ७२ हजार १ सय ५६ रहेको थियो। २०१९ को मे महिनाको तुलनामा यो महिनामा नेपालमा पर्यटक आगमनमा झन्डै ७५ प्रतिशत सुधार भएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।  

कोरोना संक्रमणको तिब्र असरले गर्दा सन् २०२१ को मे महिनाको आगमन संख्या जम्मा १४ सय ६८ थियो। त्यो संख्या २०२० को मे महिनामा जम्मा ३१ रहेको थियो। गत अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए। नेपालमा निर्वाचन भएको र पर्यटकीय सिजन सकिने बेला भएकोले पनि अप्रिलको तुलनामा मे मा केही कम संख्यामा पर्यटक भित्रिएको बोर्डको भनाई छ।  

‘पर्यटक आगमनमा निकै नै सुधार देखिएको छ। कतिपय मुलुकले २०१९ को आगमनलाई समेत उछिनेका छन्,’ लामिछानेले भने, ‘अमेरिका, भारत र बंगलादेशको आगमन २०१९ को मे भन्दा अहिले बढी छ। यो सुधारको संकेत हो।’ कोरोना संक्रमणले गर्दा अप्ठेरोमा परेको पर्यटन क्षेत्रमा यसले ब्यापक र तिब्र सुधार भएको देखाउँछ। २०२० र २०२१ को आगमन संख्या निकै नै कम रहेकोले त्यसलाई तुलना नै नगरी कोरोना अघिको आगमन संख्यालाई विश्लेषण गर्दा अहिले सुधार देखिएको लामिछानेले बताए।  

भारत, बंगलादेश र अमेरिका मात्र नभई यूरोपको आगमन २०१९ को तुलनामा ६० प्रतिशत रिकभर भएको लामिछानले बताए। पर्यटन बोर्डका अनुसार यो मे महिनामा सबैभन्दा बढी भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। २६ हजार ६ सय ६२ जना भारतीय यो मे महिनामा नेपाल भित्रिएका छन्। कोरोना संक्रमण नहुँदाको अवस्थामा २०१९ को मे महिनामा २४ हजार ७ सय ४८ जना भारतीय नेपाल भित्रिएका थिए। २०१९ को मे को तुलनामा यो मे मा झन्डै ८ प्रतिशत बढी भारतीय नेपाल भित्रिएका छन्।  

बंगलादेशको पर्यटन आगमनमा भने निकै नै फड्को मारेको आगमन तथ्यांकले देखाएको छ। २०१९ को मे महिनामा बंगलादेशबाट जम्मा ९ सय ३२ जना पर्यटक नेपाल भित्रिएकोमा यो मे मा ३२ सय ६८ जना भित्रिएका छन्। २०१९ को तुलनामा यो मे महिनामा बंगलादेशको पर्यटक आगमनमा २५० प्रतिशत बढी छ।  

सार्क सदस्य मुलुकबाट मात्र मे महिनामा मात्र नेपालमा ३० हजार ५ सय ५६ जना पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या २०१९ को मे महिनामा २८ हजार ८ सय ६९ थियो। २०१९ को तुलनामा २०२२ को मे महिनामा सार्क मुलुकका पर्यटक आगमनमा झन्डै ६ प्रतिशत सुधार भएको छ।

त्यस्तै अमेरिकी पर्यटकको आगमनमा पनि २०१९ को मे को तुलनामा २०२२ को मे मा सुधार भएको छ। २०१९ को मे मा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए। तर, यो पटक त्यो संख्या ७ हजार २ सय ७४ जना रहेको बोर्डको तथ्यांक रहेको छ। २०१९ को मे महिनाको तुलनामा यो मे मात्र नेपालमा ८ जना अमेरिकी पर्यटक बढी भित्रिएका छन्। बोर्डका निर्देशक लामिछानेले अमेरिकीको आगमनले पर्यटन क्षेत्रमा उत्साह थपेको बताउँछन्।

अस्टे«लियाबाट भित्रिने पर्यटकमा पनि सुधार देखिएको छ। २०१९ मा अस्ट्रेलियाबाट मे महिनामा १९ सय ५३ जना भित्रिएका थिए। तर, यो महिना केही कम १६ सय ६ जना मात्र भित्रिएका छन्। तुलनात्मक रुपमा यो पनि कम संख्या नभएको लामिछानेले बताए। त्यस्तै २०१९ को मे मा नेपाल भित्रिएका बेलायती पर्यटकको संख्या ३२ सय ३० थियो। तर, यो मे मा २४ सय ५१ जना रहेको बोर्डको भनाई छ।  

चिनियाँको आगमनमा भने अझै सुधार आउन सकेको छैन। २०१९ को मे मा नेपाल भित्रिएका चिनियाँको संख्या १० हजार ३ सय २० जना रहेकोमा यो मे मा जम्मा ३ सय ८८ जना भित्रिएका छन्। नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटन क्षेत्रबाट ठुलो आश गरेको भएपनि बेलाबेला कोरोना भाइरस देखिँदा चिनियाँ पर्यटक निर्धक्क घुमफिरमा निस्कन पाएका छैनन।  

चिनियाँको आगमनमा अझै केही समय लाग्ने देखिएको छ। कुन्मिङबाट काठमाडौं उडान हालैमात्र सुरु भएको र अबका केही दिनमा आगमन बढ्न सक्ने संकेत देखिएको छ। चिनियाँसँगको हवाई सम्पर्क सुचारु नभएकोले पनि तत्कालै ठुलो संख्यामा चिनियाँ पर्यटक भित्रिने अवस्था नरहेको उनले बताए।

प्रकाशित: २० जेष्ठ २०७९ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App