६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु

भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित ख्वप अस्पतालमा बिहीबारदेखि सिटी स्क्यान सेवाको सुरु भएको छ । अस्पताल स्थापनाको चार वर्षपछि सिटी स्क्यान सेवा शुरु गर्न सफल भएको हो ।  

०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पतालको नाममा सेवा सुरु भएको थियो । यसअघि २०३० सालबाट जनस्वास्थ्यको नाममा सेवा थियो । अस्पताल भक्तपुर नगरपालिकाद्धारा सञ्चालित छ ।  

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले सिटी स्क्यान सेवाको एक कार्यक्रमवीच शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले नगरवासीलाई मात्र नभई देशभरका बासिन्दाको उपचारमा गर्न ख्वप अस्पताल तयारी अवस्थामा रहनुपर्ने बताए । ख्वप अस्पतालका चिकित्सकहरुले गुणस्तरीय सेवालाई निरन्तरता दिएर देशभित्र मात्र नभइ आवश्यक परे देश बाहिर गएर पनि स्वास्थ्य सेवा दिनुपर्ने धारणा उनले राखे ।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले करिव ११ करोड रकमबाट मेशिन खरिद भएको जानकारी गराए । झण्डै ६ महिनाको अथक प्रयासपछि सेवा सुरु गर्न सफल भएको खुशी उनले व्यक्त गरे । बागमती प्रदेश सरकारको पाँच करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको उनले बताए ।

नगरवासीको स्वास्थ्य सेवालाई सहज, सहज र गुणस्तरिय सेवा दिने उद्देश्यले ख्वप अस्पताल संचालनमा ल्याएको उनले बताए । उनले आवश्यकता अनुसार विभिन्न विशेषकृत सेवा थपिँदै लैजाने पनि बताए । हाल मुटु, मृर्गौला, न्युरोको सेवा आंशिक रुपमा मात्रै सञ्चालनमा रहेको र केही समयपछि नै पूर्णकालिन रुपमा सेवा सुरु गर्ने योजना रहेको उनले बताए । अस्पतालमा अव एमआरआई सेवा सुरु गर्न बाँकी रहेको र त्यो पनि शुरु गर्ने योजना रहेको उनले सुनाए ।  

सिटी स्क्यान सेवाको शुभारम्भले यो सेवा लिन महंगो शूल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता हटेको उनले बताए । उनले हाललाई बिमामा नपरेकोले सेवाग्राहीले थोरै शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए । देशभरकै अस्पताहरुमध्ये कम शुल्कमा हाललाई सेवा दिने उनले स्पष्ट पारे । पछि बिमामा परेपछि बिमाबाट सेवा लिन सकिने उनले बताए । उनका अनुसार सेवा सुरुका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त गरिसकेको छ । तर बिमाबाट सञ्चालनका लागि बिमा बोर्डबाट स्वीकृति प्राप्त हुनुपर्छ । हाल बिमा बोर्डमा प्रक्रियामा रहेको उनले बताए ।  

अस्पतालका निमित्त निर्देशक डाक्टर मजेस प्रताप मल्लले अत्याधुनिक १ सय २८ स्लाईसदेखि २ सय ५६ स्लाईस फोटो खिच्ने क्षमताको सिटी स्क्यान मेसिनले विभिन्न रोगको सयममै पहिचान गरी उपचारमा सहज हुने विश्वास व्यक्त गरे । उनले अस्पतालले निरन्तर सेवा थप्दै गइरहेको जानकारी पनि गराए । सेवाका साथै गुणस्तरीय सेवालाई पनि उतिकै ध्यान दिंदै आएको उनले सुनाए । यसकारण देशभरमै अस्पताल कम शुल्कमा गुणस्तरीय सेवा दिंदै आएको उनले बताए । उनले अस्पतालमा हालसम्म ७० जिल्लाबासीहरुले सेवा पाइसकेको जानकारी दिए । साथै दैनिक एक हजार सेवाग्राहीहरुलाई सेवा दिंदै आएको पनि बताए ।  

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत बसन्त भटराई, भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य रवीन्द्र ज्याख्वलगायतले अस्पतालले प्रदान गर्दै आएको विविध सेवाहरुबारे चर्चा गरेका थिए ।

प्रकाशित: १ माघ २०८२ १९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App