हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।
अघिल्ला दुई वर्षसम्म कोरोना संक्रमणले रोकिएको तिजी योपटक भने झनै भव्य भएको त्यहाँका स्थानीयले बताएका छन्। लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा वर्षेनि यो मेला हुने गरेको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो मेलाले त्यहाँको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेलेको उनीहरुको भनाइ छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार तिजीले योपटक ठूलो संख्यामा विदेशीलाई उपल्लो मुस्ताङसम्म उकालेको छ। त्यस्तै आन्तरिक पाहुना पनि पर्याप्त पुगेको उनले बताए। उनका अनुसार लोमान्थाङ क्षेमा करिब ५० वटा होटल छन्। ती सबै होटल अहिले स्वदेशी र विदेशी पाहुनाले भरिएका छन्। आन्तरिक पाहुना पनि पुग्दा भीडभाड बढेको उनले बताए।
‘होमस्टे र होटल सबै भरिएका छन्। कोरोनापछि सबैभन्दा बढी विदेशी पाहुना अहिले भित्रिएका छन्,’ उनले भने, ‘यहाँ मनाई तिजी पर्वले पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका निभाएको छ।’ कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो पटक राहत दिने गरी विदेशी पर्यटक पनि भित्रिएको उनले बताए। कोरोना सुरु भएपछिको सबैभन्दा बढी भीडभाड अहिले भएको उनले बताए।
उनका अनुसार लोमान्थाङ दरबारमा धर्मगुरु पद्यसम्वा रिम्पोछेको तस्बिर अंकित ठूलो आकारको थाङका प्रदर्शनी गर्दै धार्मिक विधि अनुसार पूजाआजा गरेर यो पर्व मनाईन्छ। स्थानीयले १४ औ शताब्दीदेखि यो पर्व मनाउन थालेको उनले बताए। त्यही बेलाको थाङका सुरक्षित राखेर यो पर्वमा देखाउने गरिन्छ। १४ औं शताब्दीका राजाले त्यहाँ यो पर्व मनाउन थालेको उनले जानकारी दिए।

उनका अनुसार दुईतले घर बराबरको उचाईको थाङका यो बेला दरवारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि राख्ने गरिएको छ। हरेक वर्ष जेष्ठ कृष्ण द्वादशीदेखि तीन दिनसम्म यो पर्व मनाईन्छ। अध्यक्ष गुरुङका अनुसार तिब्बती पात्रो अनुसार यो मेला एकै अवधिका लागि आयोजना हुन्छ।
लोमान्थाङ दरवार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजा गर्छन्। विभिन्न पौराणिक तथा मौलिक नृत्य पनि यो बेला प्रदर्शन गरिने उनले बताए। प्राकृतिक प्रकोप, रोगव्याधी, अनिकाल, महामारीजस्ता अनिष्ट नहुन भन्ने कामना गरेर यो पर्व मनाइने उनले जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार पहिलो दिन जमिनका देवीदेवता, दोश्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेश्रो दिन राक्षसलाई धपाएको अभिनय लामाहरुले यो मेलाको अवसरमा देखाउने गर्छन्।
लोमान्थाङका बासिन्दा समेत रहेका गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले पनि लोमान्थाङ क्षेत्र अहिले खचाखच भरिएको बताए। उनका अनुसार त्यहाँका होटल, टि–हाउस, होमस्टे समेत अहिले विदेशी र स्वदेशी पाहुनाले भरिएका छन्। ‘कोरोनाका कारणले पोहोर र परार राम्रोसँग तिजी मनाउन पाइएन, यो पर्व यहाँको ठूलो र मुख्य पर्व हो,’ विष्टले भने, ‘उपल्लो मुस्ताङको परम्परा र मौलिकतासँग जोडिएको सबैभन्दा पुरानो पर्व हो। यो अहिलेको अवस्थामा पनि जोगिएको छ। अहिले पर्व मनाउन र हेर्न आउनेको भीडभाड छ।’
कोरोनाका कारण अघिल्ला दुई वर्ष औपचारिकतामा मात्र सीमित रहेर यो पर्व मनाइएको उनले बताए। उनका अनुसार यो पटक विदेशीको संख्या उल्लेख्य हुँदा त्यो क्षेत्रमा रौकन छाएको छ। विदेशीका कारण चहलपहल निकै न बढेको पनि उनले बताए। यतिबेला विदेशी पाहुना पुग्दा स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङ अर्ध निषेधित क्षेत्र पर्छ। त्यहाँ जान विदेशी पर्यटकले अतिरिक्त शुल्क तिर्नुपर्छ। लोमान्थाङमा रहेका पर्यटन व्यवसायी विजय केसीले पनि अहिले तिजीले ठूलो संख्यामा विदेशी पाहुनालाई लोमान्थाङ उकालेको बताए। ‘सबैजसो होटल भरिभराउ छन्। विदेशी र स्वदेशी पाहुनाको भीडभाड छ,’ उनले भने, ‘अर्ध निषेधित क्षेत्र पर्ने भएकोले अतिरिक्त शुल्क तिरेर यो मेला हेर्नका लागि पनि यहाँ विदेशी आएका छन्। यसले लोमान्थाङको चहलपहल बढाएको छ।’
कोरोना संक्रमणपछि सबैभन्दा बढी विदेशी पर्यटक यतिबेला नै लोमान्थाङ उक्लिएको उनले बताए। ‘यहाँका सबै होटलमा पाहुना नअटेपछि होमस्टे र घरघरमा समेत बसेका छन्। टिहाउसमा समेत पाहुना छन्,’ उनले भने, ‘पाहुनाको आगमनले लोमान्थाङ अहिले व्यस्त छ।’
प्रकाशित: १४ जेष्ठ २०७९ १०:५१ शनिबार





