३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कडा सुरक्षा घेराबीच प्रधानमन्त्रीले गरे सुख्खा बन्दरगाहको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयबासीको बिरोधका कारण कडा सुरक्षा घेराकाबीच कीर्तिपुरको चोभारस्थित सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।

स्थानीयबासी तथा वातावरण, विकास तथा संस्कृतीवीदहरुले उक्त स्थान सुख्खा बन्दरगाहका लागि अनुपयुक्त भएको भन्दै आन्दोलन गर्दै आएका छन्। यसअघि त्यस स्थानमा हिमाल सिमेन्ट कारखाना थियो।

उक्त कारखानाले उपत्यकाको वायु प्रदुषण बढाउनमा ठूलो हिस्सा ओगटेको भन्दै स्थानीयबासी र संघसंस्थाहरुले आन्दोलन गरेका थिए। तर, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नै ३० वर्षदेखि संचालन हुदै आएको उक्त कारखाना २०५८ मा बन्द गराएका थिए।

'जनताको व्यापक बिरोधका बावजुद सुख्खा बन्दरगाहको उद्घाटन गरियाे' चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले भने, 'वातावरणवीद, संस्कृतिवीद र सहरी विकासवीदले उक्त स्थानमा कुनैपनि हालतमा सुख्खा बन्दरगाह उपयुक्त नभएको सुझाव दिदादिदै सरकारले जनविरोधी र अदुरदर्शी निर्णय गरेको छ।'

उनले स्थानीय जनप्रतिनिधी र स्थानीयबासीले उद्घाटन कार्यक्रम बहिष्कार गरेको जानकारी दिए। महर्जनका अनुसार अघोषित कर्फ्यू लगाएर उद्घाटन गरियो। सुरक्षाकर्मीहरुको बाक्लो उपस्थित थियो। सरकारले सुख्खा बन्दरगाहमा सामग्री आयात गर्ने द्रुत मार्गको शुरुवात विन्दुको टुङगो लाग्नै बाँकी भएको अवस्थामा हतारहतारमा उद्घाटन गरेर जनभावना, प्राकृतिक र सांस्कृतिक महत्वलाइ बेवास्ता गर्दै उद्घाटन गरिएको उनले बताए।

यसैबीच समितिले एक विज्ञप्ति जारी गर्दै स्थानियको माग र वीद्हरुको सुझावलाई पुरै बेवास्ता गरि चोभारबासीको जग्गा लुटेर, हिमाल सिमेन्ट कारखानाका पूर्व कर्मचारीको पेटमा लात मारेर, पुरातात्विक, धार्मिक र साँस्कृतिक सम्पदालाई तहसनहस पारेर बनाईएको सुख्खा बन्दरगाहको चोभारबासीले सधै बिरोध गर्ने जनाएको छ।

समितिका संयोजक महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'धार्मिक, साँस्कृतिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण चोभार सिँगो काठमाडौं उपत्यकाकै दुषित पानीको निकास बिन्दु हो भने स्वच्छ हावाको प्रवेश बिन्दु हो। यस क्षेत्रमा बन्ने कुनै पनि योजनाले सिँगो उपत्यकाको पर्यावरणलाई प्रभाव पार्छ भन्ने कुरा बुझ्न र अनुपयुक्त ठाउँमा निर्माण गरिने योजनाले राष्ट्रलाई दिर्घकालिन नोक्सानी पुर्याउँछ भन्ने बुझ्न अर्को २० बर्ष नलागोस्।' 

।҆

समितिले बन्दरगाह बनाइएको जग्गा जनतालाई नै बिनाशर्त अबिलम्ब फिर्ता गर्न, तत्कालिन सिमेन्ट कारखानाका पूर्व कर्मचारीका तलब भुक्तानी गर्न, चोभारमा अवस्थित पुरातात्विक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक सम्पदा र पर्यावरण संरक्षण गर्न जोडदार माग गरेको छ।

काठमाडौ उपत्यकामै जेठो गणेश मन्दिरका रुपमा चिनिएको जलविनायक मन्दिर, आदिनाथ मन्दिर, जात्रापर्व संस्कृति, गुठी जग्गा र चोभार गुफालगायत धेरै सांस्कृतिक र पुरातात्विक सम्पदाहरु चोभार क्षेत्रमा पर्छ।

प्रकाशित: २२ चैत्र २०७८ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App