५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लगानी बोर्ड र युएनडिपीबीच सहकार्यको समझदारी

लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच सहकार्य गर्ने समझदारी भएको छ।

समझदारीपत्रमा बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र युएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरे। समझदारी अनुसार संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गरिनेछ।

नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न सहकार्यले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गरिनेछ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले समझदारीले नेपालमा लगानी प्रवद्र्धनमा आशा सिर्जना गर्ने बताए। यसका लागि बोर्डको आन्तरिक क्षमता वृद्धि गर्ने, लगानीकर्ताका जोखिम न्यूनीकरण गर्ने, अनुमान योग्यता प्रवद्र्धन गर्ने कार्यमा सहयोग आदानप्रदान हुने पक्षमा जोड दिए। उनले लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रका रूपमा अघि बढाउन आन्तरिक रूपमा कार्य गरिरहेको बताए।

युएनडिपी नेपालका आवासीय प्रतिनिधि लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका १ सय ७० भन्दा बढी देशमा सहकार्य गरिरहेको जानकारी गराउँदै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा बोर्डसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले युएनडिपीले आगामी ५ वर्षका लागि नेपालसम्बन्धी रणनीतिक योजना तयार गरिरहेको जानकारी दिँदै शासकीय क्षेत्र, लैंगिक क्षेत्र, समावेशी आर्थिक वृद्धिजस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्ने बताए।

प्रकाशित: ९ चैत्र २०७८ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App