२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

महोत्सव मार्फत पर्यटक स्वागत गर्ने तयारी

फेवा नववर्ष महोत्सव

दुईवर्षदेखि पर्यटकीय क्षेत्र लेकसाईड कोरोनाले आत्तिएको छ। विदेशी पर्यटक सत्कार गर्न नपाईरहेको लेकसाईड क्षेत्रलाई फेरी गुल्जार बनाउन पर्यटन व्यवसायी महोत्सव गर्नेतर्फ अग्रसर भएका छन्।

पर्यटन व्यवसायीले अंग्रेजी वर्षसँगै नेपाली नयाँ वर्षलाई पनि महोत्सवमय बनाउने धुनमा जुटेका छन्। होटल व्यवसायीले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा नववर्ष महोत्सव गर्ने तयारी गरेका छन्। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन पोखराले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पोखरा सडक महोत्सव गर्दै आएको छ।  

फेवा नववर्ष महोत्सव पनि सडकमै आयोजना हुनेछ। विगतका वर्षहरुमा फेवा नववर्ष महोत्सव हल्लनचोकस्थित क्याम्पिङचौर तथा बसुन्धरापार्कमा आयोजना हुदैं आएको थियो। महोत्सव लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा आयोजना गरिनेछ। कोभिड– १९ का कारण दुई वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको पश्चिमाञ्चल होटल संघले जनाएको छ।  

कोभिड-९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए। पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको उल्लेख गर्दै भारतीय पर्यटक आउने क्रम सुरु भएको पनि महोत्सवले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास लिए। आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास सुबेदीको थियो। अंग्रेजी नयाँबर्ष जस्तै नेपाली नयाँबर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले जोड्ने उनले स्पष्ट पारे।  

महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिए। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ। अम्मट र सेन्टरप्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरुलाई समेट्ने योजना संघले बनाएको छ।  

ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती पनि सो अवसरमा रहने छन्। महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट झाँकीको र्‍याली निकालिनेछ।  यसैबीच गत फागुन ८ देखि ११ गतेसम्म आयोजित ‘जाउँ है पोखरा’ कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि निम्तो दिएर पर्यटन व्यवसायीको टोली फर्किसकेको छ। 

प्रकाशित: ६ चैत्र २०७८ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App