३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

भूकम्पले चर्कियो कुलेखानी ड्याम

काठमाडौं- बिजुली उत्पादनमा देशकै मेरुदण्डको रुपमा रहेको कुलेखानी जलाशय जलविद्युत आयोजनाको ड्याम महाभूकम्पका कारण चर्किएको छ। 'रकफिल्ड' (भिरालो माटोको सतहमा ढुंगा भरेर बनाइएको) बनेको जलाशयको ड्याम उत्तरमा फुकेको पानीको सतहतर्फ करिब ३ मिटर तल धसिएको हो।१ सय १४ मिटर अग्लो ड्याम भूकम्पले चर्किएपछि नेपाल विद्युत प्राधिकरणले यसको सुक्ष्म अध्ययन सुरु गरेको छ। करिब १२ मिटर चौडा ड्यामलाई नै आयोजना र स्थानीयले आावतजावत गर्ने सडकको रुपमा प्रयोग गर्दै आएका छन्। ड्याम बाँधेर २ सय १६ हेक्टर क्षेत्रफलमा बनेको जलाशय मानवनिर्मित ताल तथा इन्द्र सरोवरको नामले समेत चर्चित छ।

कुलेखानी पहिलो आयोजनाका अधिकारीका अनुसार भूकम्पले ड्यामको उत्तर र दक्षिण दुवैतर्फ चर्किएको छ। सडकको रुपमा प्रयोग भएको ड्यामको तीन–चार ठाउँमा चर्किएकाले त्यसको सुक्ष्म अध्ययन भइरहेको प्राधिकरण उत्पादन निर्देशनालयका उप–कार्यकारी निर्देशक शेरसिंह भाटले बताए।

'तत्काल जलाशय सञ्चालनमा कुनै समस्या आएको छैन, तर यसलाई सामान्य अवस्था मान्न सकिन्न,' उनले आइतबार नागरिकसँग भने, 'यसबाट हुने खतरा तथा जोखिम व्यवस्थापन गर्न विदेशी विज्ञ ल्याएर विस्तृत अध्ययन गर्नुपर्छ।'

मकवानपुरको मार्खु र कलंकी क्षेत्रमा बाँध बनाएर ६० मेगावाटको कुलेखानी पहिलो सन् १९८२ र ३२ मेगावाटको दोस्रो जलविद्युत आयोजना सन् १९८६ मा पूरा गरिएको थियो। 'ड्याम तथा आयोजना बनाउँदा प्राधिकरणमा कार्यरत सबै कर्मचारीले अहिले अवकाश पाइसकेका छन्,' भाटले भने, 'अवकाश प्राप्त कर्मचारीको सहयोगमा प्रारम्भिक अध्ययन भइरहेको छ।'

भूकम्प गएको दोस्रो दिन ठूला आयोजना सञ्चालन तथा मर्मत विभागका निर्देशक हरराज न्यौपानेको संयोजकत्वमा अध्ययन टोली गठन गरिएको थियो। उक्त टोलीले आइतबार प्रारम्भिक प्रतिवेदन दिएको जानकारी दिँदै भाटले भने, 'अध्ययनको निचोड नआउँदासम्म ड्याम कति जोखिममा छ भन्न सकिन्न।'

प्राधिकरणले अध्ययनमा ऊर्जा मन्त्रालयका सह–सचिव केशवध्वज अधिकारी, प्राधिकरणका पूर्वकार्यकारी निर्देशक जिवेन्द्र झा, पूर्वनिर्देशकद्वय प्रचारमानसिंह प्रधान, मृगेन्द्रबहादुर श्रेष्ठको सहयोग लिएको छ। भाटका अनुसार प्राधिकरणबाट निर्देशक न्यौपाने सहित इन्जिनियरिङ निर्देशनालय प्रमुख लीलानाथ भट्टराई, प्रितम प्रधान लगायत इन्जिनियरसमेत अध्ययनमा संलग्न छन्।

ड्याम र दुई आयोजना जापानको अनुदान (तत्कालीन समयमा ६ करोड ८० लाख अमेरिकी डलर र १२ अर्ब १५ करोड जापानी येन) मा निर्माण भएको थियो। ऊबेला जापानी प्राविधिक संलग्न रहेकाले चर्किएको क्षेत्र अध्ययन गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को उच्चस्तरीय टोलीको समेत सहयोग लिइएको छ। यो टोलीले सोमबार प्रारम्भिक अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरेको छ।

प्रारम्भिक अवस्थाका आधारमा विस्तृत अध्ययन गर्न अन्तर्राष्ट्रिय विज्ञ तथा इन्जिनियर झिकाउनुपर्ने प्राधिकरणका उच्च अधिकारी बताउँछन्। भूकम्प वा अन्य विपतबाट बाँध भत्केमा ड्यामभन्दा तल्लो तटमा पर्ने सिस्नेरी, देउराली, भैंसे गाविसलगायत हेटौंडा बजारलाई समेत ध्वस्त पार्ने खतरा छ।

मार्खु र कलंकी वरपरका ९ वटा खोला थुनेर साढे ७ किलोमिटर क्षेत्रफलमा बनाइएको जलाशयमा ४४ लाख १६ हजार क्युबिक मिटर पानी सञ्चय हुन्छ। सञ्चित पानीबाट सुरुमा ६० मेगावाटको आयोजना निर्माण भएपछि ३२ मेगावाटको कुलेखानी दोस्रो 'क्यासकेड' आयोजनाका रुपमा बनाइएको थियो।

उक्त जलाशयलाई आधार मानेर अहिले १४ मेगावाटको कुलेखानी तेस्रो बनिरहेको छ। यो आयोजनाको निर्माण करिब ९० प्रतिशत पूरा भइसकेको छ। हिउँदमा हुने चर्को विद्युत संकट समाधानको एक मात्र आधार यही जलाशयबाट बनेका दुई आयोजना हुन्।

५० वर्षसम्मका लागि जलाशय तथा बाँध चल्ने सक्ने गरी डिजाइन गरेर बनाइएको थियो। तर, प्राधिकरणका इन्जिनियरले मर्मत तथा पुनर्निर्माण गरेर सय वर्षसम्म सञ्चालन गर्न सकिने दाबी गरेका थिए। जलाशय आन्तरिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै आएको छ भने त्यहाँ माछापालन गरेर सयौं परिवारले जिविपोपार्जन गर्दै आएका छन्।

ड्याम सय वर्षसम्म कायम रहने दाबी गरिए पनि निर्माण भएको एक वर्षमै भत्कने खतरा रहेको दक्षिण अमेरिकाको पेरुस्थित 'माउन्टेन फोरम' अनलाइन पत्रिकाले किटान गरेको थियो। पत्रिकाकाअनुसार त्यतिबेला प्राधिकरणले अमेरिका, क्यानडा, अस्टे्रलिया र जापानका उच्च भूगर्भ–प्राविधिक टोलीलाई त्यसको अध्ययन गर्ने जिम्मा दिइएको थियो। टोलीको सिफारिसमा ड्याम थप बलियो बनाएर हजारौं व्यक्तिको ज्यान सक्ने जोखिम टारिएको थियो।

प्रकाशित: २० वैशाख २०७२ २२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App