१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गण्डकीको हवाई सञ्जाल चारवटा प्रदेशसँग

पोखरा–धनगढी हवाईमार्गले जोडियो

पोखरा–धनगढीको पहिलो उडानमा जाँदै गरेका पोखराका यात्रु। तस्बिरः सन्तोष पोखरेल/नागरिक

गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाईमार्गले जोड्ने गरि पोखरादेखि सिधा हवाई उडान सुरु भएको छ। पोखरा अब चारवटा प्रदेशसँग हवाई सञ्जालले जोडिएको छ। बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो। यो उडानले पर्यटकसँगै सर्वसाधारण यात्रुलाई आउजाउमा सहज हुनेछ। बुद्धले पोखरालाई बिराटनगर, भद्रपुर र जनकपुरसम्म जोड्नेगरि उडानको तयारी पनि गरेको छ।  

पर्यटकीय सहर पोखरालाई आन्तरिक सहरमा जोड्नेगरि सिधा उडान सुरु गरेको बुद्धले बताएको छ। बुद्धका पोखरास्थित स्टेशन म्यानेजनर गौतम बरालले बुधबारदेखि पोखरा–धनगढी सिधा हवाई उडान सुरु गरेको जानकारी दिए। आगामि शनिबारदेखि पोखरा–जनकपुर उडान पनि सुरु गरिने बरालले बताए।  

पहिलो चरणमा बुद्धले पोखराबाट धनगढी सातामा तीनदिन उडान गर्नेछ। बुधबार, शुक्रबार र आइतबार पोखरा–धनगढी सिधा उडान हुने उनले बताए। त्यस्तै पोखरादेखि जनकपुर पनि सातामा तीनदिन उडान हुनेछ। विहीबार, शनिबार र सोमबार पोखरा–जनकपुर रुटमा उडान हुने उनले बताए। ‘पोखराबाट धनगढी जाने र फर्किनेगरि एकैदिनको उडान तालिका तय भएको छ। यस्तै तालिका जनकपुरका लागि पनि हुनेछ,’ उनले भने।  

पोखराबाट धनगढी झन्डै एकघण्टाको हवाई उडान हो। बुद्धले पहिलो चरणमा १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी जहाजबाट उडान थालेको छ। धनगढीका लागि पोखरादेखि सबैभन्दा बढी १२ हजार २ सय ४० र कम ६९ सय रुपैयाँ भाडा तोकिएको छ। त्यस्तै जनकपुरका लागि पनि यही जहाजबाट उडान हुनेछ। पोखरादेखि जनकपुरसम्मको भाडा अधिकतम ९ हजार ३ सय ६० र कम ४१ सय रुपैयाँ पर्ने बरालले बताए। अहिले पोखरा–धनगढीको बसयात्रा कम्तिमा २० घण्टाको हुन्छ । स्थलमार्गको लामो यात्राले यात्रुलाई सकस हुने गरेको छ।

‘आन्तरिक यात्रुको आउजाउमा सहज हुने गरि उडान थालेका हौ। यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै भूमिका निभाउनेछ,’ बरालले भने, ‘समग्र गण्डकी प्रदेशको पर्यटनमा यो उडानले साथ दिनेछ। त्यस्तै उडानबाट जोडिने गन्तव्य आसपासका क्षेत्रको पनि पर्यटन प्रवद्र्धन हुनेछ।’ बुद्धले अहिलेसम्म पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको छ। धनगढी र जनकपुर पनि उडान गर्दा पोखरा सातवटा मुख्यसहरसँग जोडिनेछ। अहिले पोखरा–काठमाडौं दैनिक १२ उडान गरिरहेका बुद्धले नयाँ गन्तव्य थपिँदा पोखराको उडान संख्या झन्डै दुइदर्जन पुग्नेछ।

‘पोखरालाई मुख्य सहरसम्म हवाई माध्यमले जोड्दा आन्तरिक पर्यटनमा बढी लाभ मिल्नेछ, त्यसबाहेक भारतीय सिमा नजिकका सहरसम्मको उडानले भारतीय पर्यटकलाई पोखरा आउजाउमा सहज हुनेछ,’ उनले भने। अहिले सानो आकारको जहाजबाट उडान थालेकोमा यात्रु संख्या बढेपछि उडान पनि थप्दै जाने वा ठुलो आकारको जहाजबाट उडान गरिने उनले बताए।  

अहिले पोखराबाट भरतपुरसम्म एटीआर ४२ बाट उडान भईरहेको छ। त्यस्तै भैरहवासम्म एटीआर ७२ बाट उडान भईरहेको छ। पोखरा–भैरहवा पछिल्लो समय निकै नै बढी यात्रुको माग भएको गन्तव्य बनेको उनले बताए। त्यस्तै पोखरा नेपालगञ्जसम्म पनि आगामि सातादेखि उडान थपिने बरालले बताए। 

अहिले दैनिक एउटा उडान भइरहेकोमा आगामि सातादेखि बढाउने उनले बताए।  बुधबार धनगढीसम्मको पहिलो उडानमा १८ जना यात्रु ओहोरदोहोर गरेका थिए। पहिलो उडानमा पोखराका पर्यटन व्यवसायीको टोली समेत प्रवद्र्धनमा गएका थिए। सुदूरपश्चिम प्रदेशमा उडान थाल्दा त्यस क्षेत्रका पर्यटकलाई पोखरा भिœयाउन सहज हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।  

‘झन्झटिलो र लामो समयको यात्राले गर्दा पश्चिम क्षेत्रका धेरै आन्तरिक पर्यटक पोखरा आउन सकेका थिएनन। पोखरा क्षेत्रका पर्यटक पनि पश्चिम क्षेत्रमा जान सकेका थिएनन,’ उनले भने, ‘यो उडानले यात्रुको आउजाउ सहज हुनेछ। अब गण्डकी प्रदेशमा पर्यटक आगमन बढ्नेछ।’ हवाई उडान नहुँदा गण्डकी प्रदेशका पर्यटक पश्चिम क्षेत्रका गन्तव्यसम्म जान नसकेको उनले बताए। ‘कम्तिमा २० घण्टाको स्थलमार्गको यात्रा अब सहज हुनेछ,’ उनले भने, ‘एकघण्टामा यात्रा हुने भएपछि पर्यटकको आउजाउ बढ्नेछ।’

सिधा हवाई उडानले सुदूरपश्चिम क्षेत्रका प्रमुख पर्टककीय स्थलमा पाहुनाको आउजाउ बढ्ने व्यवसायीले बताएका छन। खप्तड, शुक्लाफाँटा, महाभारत पर्वत, घनघश्यालेक, घोडाघोडी ताल, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, अपि हिमाल, रामारोशन क्षेत्र, दोधाराचाँदनी झोलुंगे पुलसम्म पर्यटक ल्याउने र लैजान सकिने व्यवसायीले बताएका छन्।  

प्रकाशित: १८ फाल्गुन २०७८ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App