१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटकको आगमनमा सुधार

सन् २०२२ को पहिलो महिनामा नेपाल भित्रिनेभन्दा बाहिरिनेको संख्या बढी देखिएको छ।

यस वर्षको पहिलो महिनामा १६ हजार नौ सय ७५ जना बाह्य मुलुकबाट नेपाल भित्रिएका छन् भने सोही अवधिमा नेपालबाट १७ हजार नौ सय ८४ जना नेपालबाट बाहिरिएका छन्। अध्यागमन विभागको तथ्यांक अनुसार नेपाल भित्रिनेको संख्या भने सन् २०२१ को पहिलो महिनाको तुलनामा भने ९१ प्रतिशतले बढेको छ। 

सन् २०२१ को पहिलो महिनामा आठ हजार आठ सय ७४ जना नेपाल भित्रिएका थिए। कोरोना महामारीका कारण सन् २०२० को तेस्रो महिनादेखि नेपाल आउने पर्यटकको संख्या घट्दै गए पनि पछिल्ला तथ्यांकमा भने सुधार देखिँदै गएको छ। २०२१ भर नेपालमा एक लाख ४९ हजार आठ सय ३३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ३४.९ प्रतिशत कम पर्यटक नेपाल आएका थिए। नेपाल भित्रिएका ती विदेशी पाहुना हवाई र स्थालमार्गबाट भित्रिएका हुन्।

सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक भित्रिएका थिए। जुन विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको ७० वर्षयताकै कम हो सरकारी तथ्यांकअनुसार सन् २०१९ को तुलानामा सन् २०२० मा विदेशी पर्यटकको आगमन ८० प्रतिशत घटेको थियो।

सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी नेपाल आएका थिए। वर्ष २०२० को पहिलो तीन महिनामा उल्लेख्य पर्यटक नेपाल आए पनि त्यसयताकै सबैभन्दा बढी पर्यटक यो वर्षको पहिलो महिनामा भित्रिएका छन्। यो वर्षको पहिलो महिनामा सबैभन्दा धेरै अमेरिका, बेलायत, अस्ट्रेलियाबाट नेपाल भित्रिएका देखिन्छन्।

जनवरीमा बंगलादेशबाट १२ सय ३६, भारतबाट तीन हजार नौ सय १६, पाकिस्तानबाट दुई सय पाँच, भुटानबाट ९०, श्रीलंकाबाट ५४ जना नेपाल भित्रिएका छन्। त्यस्तै चीनबाट तीन सय २१, जापानबाट एक सय ३०, मलेसियाबाट एक सय ६, सिंगापुरबाट एक सय ७०, दक्षिण कोरियाबाट दुई सय नौ, ताइपेईबाट १८, म्यानमारबाट ३९ र थाइल्यान्डबाट एक सय २१ जना नेपाल भित्रिएका छन्।

युरोपियन देशहरूमध्ये अस्ट्रियाबाट ३४, बेल्जियमबाट एक सय ८०, चेक रिपब्लिकबाट ३१, डेनमार्कबाट ७१, फ्रान्सबाट दुई सय ८३, जर्मनीबाट तीन सय ६५, इजराइलबाट ३३, इटलीबाट ६३, नेदरल्यान्डबाट एक सय ४२, नर्वेबाट ३९, पोल्यान्डबाट ४३, रसियाबाट एक सय २१, स्विटजरल्यान्डबाट ९८, स्विडेनबाट ४९, युकेबाट एक हजार आठ सय २४ जना नेपाल भित्रिएका छन्।

तथ्यांकअनुसार अस्ट्रेलियाबाट एक हजार दुई सय १३ र न्युजिल्यान्डबाट २७ जना नेपाल भित्रिएका छन्। यस वर्ष क्यानडाबाट तीन सय ६१, अमेरिकाबाट तीन हजार दुई सय ५७ जना नेपाल भित्रिएका देखिन्छन्।

नेपालमा पर्यटक आगमन वृद्धिदर दक्षिण एसियामा सबैभन्दा बढी देखिएको वल्र्ड टुरिजम अर्गनाइजेसनको पछिल्लो तथ्यांकले देखाएको छ। भूकम्प र नाकाबन्दीपछि निरन्तर बढ्दै गएको पर्यटक आगमन कोरोना महामारीका कारण कोमामा पुगेको अवस्थामा पछिल्ला तथ्यांकले पर्यटक क्षेत्रमा आशा जगाएको छ। जारी ओमिक्रोनको संक्रमणसँगै पछिल्लो समय विदेशी पर्यटकको आगमन हुन थालेपछि पर्यटन क्षेत्र केही आशावादी देखिएका छन्।

नेपाल आउने विदेशीमध्ये पदयात्रा तथा पर्वतारोहणका लागि १६ प्रतिशत, तीर्थयात्राका लागि १४ दशमलव चार र अन्य उद्देश्यले नौ दशमलव ६ प्रतिशत पर्यटक भित्रिने गरेका भए पनि कोरोना महामारीका कारण उक्त क्षेत्र चलायमान हुन नसक्दा पर्यटक आगमन घटेको थियो।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार सन् २०२१ को एक वर्षको अवधिमा नेपालले पर्यटन क्षेत्रबाट सात अर्ब ८७ करोड रूपैयाँ आर्जन गरेको छ। नेपालले सन् २०२० मा पर्यटन आय मात्र दुई अर्ब ३२ करोड रूपैयाँ रहेको थियो।

प्रकाशित: २१ माघ २०७८ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App