२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्डः शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सोमबार आयोजित २५औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै महालेखापरीक्षक शर्माले लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड भएको बताए।

उनले विश्वसामु यो संस्थालाई उत्कृष्ट लेखा व्यवसायी संस्थाका रूपमा विकास गर्न सुझाव दिए। शर्माले लेखा व्यवसायको लागि आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिन समेत संस्थालाई आग्रह गरे।

मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्नेतर्फ लेखा व्यवसायीले ध्यान दिन सक्नुपर्ने खाँचो समेत उनले औंल्याए। लेखा व्यवसायका विषयमा कहिलेकहीँ गुनासो आउने गरेको उल्लेख गर्दै उनले लेखा व्यवसायीलाई कामप्रति जिम्मेवार बन्न आग्रह गरे। मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रविधिवाट हुने गरेको उल्लेख गर्दै लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन शर्माले सुझाए।

कार्यक्रममा अध्यक्ष युद्धराज ओलीले संस्थालाई यस अवस्थासम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद गर्दै अघिका नेतृत्वले देखाएको बाटो अनुशरण गर्ने बताए। त्यस क्रममा ओलीले संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तिर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, संस्थाका कार्यकारी निर्देशक सन्जयकुमार सिन्हा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको रणनीतिक योजना सार्वजनिक गर्नुका साथै स्मारिका समेत विमोचन गरिएको थियो।

कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिमा उच्च योगदान गर्ने संस्थाका अन्तरिम तथा प्रथम परिषद् अध्यक्ष स्व. कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो। यस्तै आठौं परिषद्का अध्यक्षहरू सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो।

संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिनुका साथै उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो।

प्रकाशित: १८ माघ २०७८ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App