१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ओमिक्रोन त्रासः धमाधम बुकिङ रद्द गर्दै भारतीय पाहुना

ठुलो आकारमा होटल बुकिङ रद्द भइसक्योः व्यवसायी

पोखरा फेवातालमा डुंगा सयर गर्दै भारतीय सहितका पाहुना। तस्बिरः उमेश पुन/नागरिक

पाँचतारे होटल पोखरा ग्राण्डका करिब १२ सय कोठाको बुकिङ हालै मात्र रद्द भयो। भारतीय पाहुनाको समुहले होटलका कोठा बुकिङ गरेका थिए। तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले गर्दा अग्रिम बुकिङ गरेका पाहुनाले आउन नसक्ने भन्दै बुकिङ रद्द गरेका छन्। पाहुनाको बुकिङ रद्द हुने क्रम अझै चलिरहेको होटलले बताएको छ।  

पोखरामा संचालनमा रहेको एकमात्र पाँचतारे  पोखरा ग्राण्ड होटलमा एकै समुहका एकसयवटा सम्म कोठा भारतीय पाहुनाले बुकिङ गरेका थिए। तर, आगामि केहीदिन भित्र आउने तयारीमा रहेका ती पाहुनाले धमाधम यात्रा रद्द गरेका छन्। बुकिङ सिरिज नै रद्द भएको होटलका पदाधिकारीले बताएका छन्।  

कोरोना संक्रमणले गर्दा थलिएको पर्यटन क्षेत्रमा भारतीय र आन्तरिक पाहुनाका कारण राहत मिलेको थियो। त्यही अनुसार पछिल्लो डेढमहिनादेखि भारतीय पाहुनाको आगमन पनि बढिरहेको थियो। तर, कोरोनाको नयाँ भेरियन्टले त्रसित भएपछि भारतीय पाहुना घुमघाममा निस्कनबाट हच्केका छन्।

होटलका वरिष्ठ बजार प्रबन्धक कमल शेरचनले भारतीय पाहुनाको ठुलो समुहको होटल बुकिङ रद्द भएको जानकारी दिए। ‘करिब १२ सय कोठाको बुकिङ रद्द भईसकेको छ,’ शेरचनले भने, ‘अझै पनि बुकिङ रद्द हुने क्रम चलिरहेको छ। नयाँ बुकिङ आउन रोकिइसकेको छ।’

शेरचनका अनुसार भारतीय पाहुना समुहमा घुम्न आउने गर्छन। एउटै समुहमा झन्डै एकसय कोठामा पाहुना आइरहेका थिए। पछिल्लो समय धेरै भारतीय पाहुना समुह बनाएर घुम्न आउन थालेका थिए। अहिले बुकिङ रद्द गरेको समुहले ओमिक्रोनलाई कारण देखाएको उनले बताए।

‘भारतमा पनि ओमिक्रोनको त्रास छ। संक्रमितको संख्या पनि बढिरहेको छ। त्यसैले पाहुना आउन डराएका हुन्,’ शेरचनले भने, ‘कोरोनाले थलिएको अवस्थामा भारतीय पाहुना आउँदा केही सुधारको अपेक्षा थियो। तर, पाहुनाले नै आउन नसक्ने भन्दै बुकिङ रद्द गरेका छन।’

कोरोना संक्रमणले थलिएको पर्यटक क्षेत्रमा झन्डै दुईवर्षदेखि तेश्रो मुलुकका पर्यटक छैनन। आन्तरिक र केही संख्यामा भारतीय पाहुनाका कारण व्यवसाय धानिने अवस्थामा थियो। तर, ओमिक्रोनले भारतीय पाहुनाको आगमनका ‘चेन’ एकाएक बे्रक गरिदिएको उनले बताए। ‘कतिपय मुलुकले ओमिक्रोनलाई कारण देखाएर यात्रामा निषेध गरिसकेका छन्। 

भारतका ठाउँठाउँमा पनि ओमिक्रोनका संक्रमित फेला पारेपछि केही कडाई गरिएको छ,’ उनले भने, ‘तेश्रो मुलुकका पाहुना आउन नपाउँदा भारतीयबाट राहतको सास फेरेको पर्यटन क्षेत्रमा पुन संकट आइपर्न सक्ने देखिएको छ।’ संक्रमणको त्रासका बीचपनि कतिपय पर्यटक आएपनि ठुलो समुहमा भने भारतीय पाहुनाको हिडडुल रोकिएको उनले बताए। ‘अहिले नेपालको पर्यटनको मुल श्रोत नै भारतीय पाहुना हुन। तर, मुल श्रोतमै धक्का लागिसकेको छ,’ उनले भने।  

अर्काे होटल ल्याण्डमार्कमा पनि भारतीय पाहुनाले गरेको बुकिङ रद्द भएको छ। ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेका अनुसार कोलकाताको चारवटा समुहले होटल बुकिङ गरेकोमा तीनवटा समुहका पाहुनाले रद्द गरिसकेका छन। अब एउटा मात्र समुहको बुकिङ बाँकी छ। हरेक समुहमा ५० जनाको दरले भारतीय पाहुना थिए। उनीहरुले पोखरा, काठमाडौं, चितवन, लुम्बिनीमा घुम्दा आठरात नेपालमा बिताउने गरि बुकिङ गरेका थिए। ती पाहुनाले तीनरातका लागि पोखरामा ल्याण्डमार्क होटल बुकिङ गरेका थिए। रक्सौलबाट भित्रिएर विभिन्न सहर घुम्दै नवौदिनमा भारत फर्किने योजना भएपनि रद्द भएको उनले बताए। पाण्डेका अनुसार बुकिङ रद्द भएका पाहुनाको बुकिङ मंगलबार, बुधबार र विहीबारका लागि थियो।  

‘ओमिक्रोनको त्रासले गर्दा भारतीय पाहुना घुमघाममा निस्कनबाट हच्चेका छन्। सानो समुहमा परिवारसहित अझै पाहुना आइरहेका छन्। तर, समुहमा आउनेले रद्द गरेका छन्,’ पाण्डेले भने, ‘भारतीय पाहुनाका कारण राहतको सास फेरेकोमा ओमिक्रोनले पुन थला पार्ने सम्भावना बढेको छ।’ भारतीय र केही आन्तरिक पाहुनाका कारण पोखराको पर्यटन क्षेत्रले राहत महसुस गरेका उनले बताए।  

अर्काे होटल पोखरा भिलेज रिसोर्टका संचालक हरि शर्मा पनि भारतीय समुह अहिले नेपाल भ्रमणका उत्तिसारो इच्छुक छैनन। नेपाल प्रवेशमै भारतीय पाहुनालाई सकस छ। त्यसबाहेक अहिले ओमिक्रोनको त्रासले गर्दा पाहुना आउन चाहेका छैनन। ‘भारतीय पाहुनाको आगमनले हामीलाई निकै नै उत्साही बनाएको थियो। तर, अहिले उनीहरु घुमघाममा हच्केका छन,’ शर्माले भने, ‘बरु, नेपालमा यात्रा कत्तिको सहज छ भनेर सोधपुछ गरिरहेका छन्।’  

उनका अनुसार नेपाल प्रवेशका नाकामा पनि अहिले भारतीय पाहुनालाई सहज छैन। कोरोनाको पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बाध्यतामा पाहुना छन्। कतिपय सहरका पाहुनाले नाकासम्म आउँदै पिसिआरको ७२ घण्टाको अवधि गुजारिसकेका हुन्छन्। त्यसले गर्दा सहज नभएको उनले बताए। ‘नेपाल प्रवेशको झन्झटले पनि भारतीय पाहुनामाझ नराम्रो सन्देश फैलिएको छ। त्यसबाहेक भारतमा ओमिक्रोनका बिरामी बढिरहँदा त्यसको त्रासले गर्दा पाहुना निर्धक्क भएर घुम्न निस्कन सकेका छैनन,’ शर्माले भने, ‘कोरोना त्रासले कुन ठाउँमा रोकिनुपर्ने भन्ने निश्चित नहुँदा पाहुना बढि त्रसित छन्।’ भारतीय पाहुनाका कारण देखिएको चहलपहल एकाएक घटेको उनले बताए।  

फिस्टेल लजका महाप्रबन्धक रोशन खवास पनि ओमिक्रोनले भारतीय पर्यटकको आगमनमा प्रभाव परेको छ। नेपालको पछिल्लो समयको मुल श्रोत नै भारतीय पाहुना रहेकामा पछिल्लो समय छिमेकी मुलुकका पाहुना नेपाल आउनबाट तर्सिन थालेको उनले बताए।

 ‘अहिले पनि फाट्टफुट्ट भारतीय पाहुना आइरहेका छन्। तर, उनीहरुको आगमन समुहमा छैन, व्यक्तिगत रुपमा मात्र नजिकका सहरका पाहुना आएका छन,’ खवासले भने, ‘भारतीय पाहुनको आगमनमा ओमिक्रोनले मार पारिसकेको छ।’ उनका अनुसार केहीदिन अघिसम्म भारतीय पाहुनाको आगमन ठुलो समुहमा पनि थियो। तर, अहिले व्यक्तिगत र परिवारमा मात्र सिमित भएको उनले बताए।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का कोषाध्यक्ष समेत रहेका राजेश पहारीका अनुसार अघिल्लो सातादेखि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिँदा नेपाल आउन चाहेका भारतीय पाहुना केही हच्केका छन। त्यसबाहेक ओमिक्रोनको त्रासले पनि पाहुना घुम्न निस्कनमा उत्तिसारो इच्छुक छैनन। उनले पनि आफ्ने फेब्रुअरीको बुकिङ रद्द भईसकेको बताए।  

‘यही महिनाभित्र आउने तयारीमा रहेका पाहुना पनि के गर्ने भन्ने अन्योलमा छन्। पारिवारिक समुहमा रहेका पाहुना दोधारमा छन,’ पहारीले भने, ‘तर, फेब्रुअरीको बुकिङ भने रद्द भईसकेको छ।’ फेब्रुअरीको ३ वटा समुहमा २३० जना भारतीय पाहुना रहेकोमा उनीहरुको बुकिङ रद्द भईसकेको उनले बताए। बुकिङ रद्द गरेका ती पाहुना महाराष्ट्रका थिए। पहारीका अनुसार न्यू इयरको सेरोफेरोमा बोर्डर सिटी र पश्चिम बंगालका पाहुना नेपाल आउने गर्छन। त्यसपछिको समयमा गुजरात, महाराष्ट्र र साउथ इण्डियन भेगका पाहुना हुन्। टाढाबाट आउन चाहेका पाहुनाले बुकिङ रद्द गर्न थालेको पहारीले बताए।  

प्रकाशित: ७ पुस २०७८ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App