२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

क्रिसमस र अंग्रेजी नयाँ वर्षका लागि सजिँदै होटल

लामो समय विदेशी पाहुना नआउँदा सुनसान बनेको ठमेल क्षेत्र कोरोनाको संक्रमण दर कम भएसँगै अंग्रेजी नयाँ वर्ष र क्रिसमस इभका लागि तयारीमा जुटेको हो। ठमेल मात्रै नभएर पछिल्लो समय राजधानीका होटल, मल, सपिङ सेन्टर, फिल्म हलमा समेत ‘क्रिसमस ट्रि’ सजाउन सुरु भइसकेको छ।

हिजोका दिनमा सरकारलाई राजस्व,विदेशी मुद्रा र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने राजधानीको ठमेल क्षेत्रमा विदेशी पाहुनाको चहलपहल बढिसकेको छ। लामो समय विदेशी पाहुना नआउँदा सुनसान बनेको ठमेल क्षेत्र कोरोनाको संक्रमण दर कम भएसँगै अंग्रेजी नयाँ वर्ष र क्रिसमस इभका लागि तयारीमा जुटेको छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने ठमेल क्षेत्रका होटल तथा रेस्टुरेन्टमा सजावट हुन थालेको हो। त्यसो त ठमेल मात्रै नभएर पछिल्लो समय राजधानीका होटल, मल, सपिङ सेन्टर,फिल्म हलमा ‘क्रिसमस ट्रि’ सजाउन सुरु भइसकेको छ। विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्ने पर्यटन व्यवसायी व्यग्र तयारीमा लागेका छन्।

पछिल्लो दुई वर्षदेखि पर्यटकको बाटो हेर्दै बसेको पर्यटन व्यवसायी पछिल्लो महिना नेपाल भित्रिएका पर्यटकको संख्या देखेर हौसियका मात्रै छैनन् आगन्तुकलाई हार्दिकता पस्कन प्रतिस्पर्धामै उत्रिएका छन्। पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहित आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन्।

व्यवसायी रात्रिकालीन मनोरञ्जन तथ होटल बसाइलगायत सेवामा विभिन्न विशेष अफर सार्वजनिक गर्न थालेका छन्। त्यस्तै ठमेलमा खुलेका गजल, लाइभ ब्यान्ड, क्लब, लाउन्ज रेस्टुराँ,डिस्को, दोहोरी साँझ, स्पा, मसाज सेन्टरलगायतले पनि नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर पाहुना तान्ने अफर सार्वजनिक गर्न थालेका हुन्।

मसाज सेन्टरले अफुरो, साउना, स्टिम, मसाजलगायत विभिन्न सेवामा छुटसहित योजना सार्वजनिक गरिरहेका छन्। ठमेल आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्न होटल तथा रेस्टुरेन्ट व्यवसायीले विभिन्न खानाका परिकारमा पनि छुटका योजना अघि बढाएका छन्।

पर्यटकीय सिजन सुरु भएसँगै बाक्लो आउजाउ हुने र राति अबेरसम्म ननिदाउने ठमेलको पर्यटन सुधारका लागि ठूला कार्यक्रम गर्न नसकेको नेपाल रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी बताउँछन्।

नयाँ वर्ष र क्रिसमसको आसपासमा ठूला कार्यक्रम गर्ने योजना रहे पनि अहिलेकै स्थितिमा गर्न नसकिएकाले नेपाली नयाँ वर्षसम्मका लागि आयोजनाको तयारी भइरहेको उनले बताए। लाखौं नागरिकको रोजगारी जोडिएको रेस्टुरेन्ट क्षेत्रलाई सरकारले उद्योगको रूपमा नलिनुसमेत दुःखको कुरा रहेको उनको भनाइ छ।

‘होटल तथा रेस्टुरेन्टमा अचेल भिड बढ्न थालेको छ। होटल तथा रेस्टुरेन्टमा आउने पाहुनामा आन्तरिकतसँगै बाह्य पाहुनासमेत हुने गरेका छन्। नेपाली परिकार र स्वदेशी उत्पादनका माध्यमबाट पाहुना आकर्षित गर्ने र विदेशी डलर भित्र्याउने यस क्षेत्रका समस्यामा राज्यले ध्यान नदिँदा अर्बौंको लगानी अझै जोखिममा रहेको छ,’ उनले भने। राज्यले कर असुलेर मात्रै नहुने भन्दै त्यसको व्यवस्थापन, सामाजिक सुरक्षा तथा व्यवसायमैत्री बनाउने पनि राज्यको दायित्व रहेको उनको भनाइ छ।

उद्योगको मान्यना नदिएकै कारण कोरोनापछिको पुनर्कर्जामा पनि राज्यबाट पाइने कुनै सहुलियत यस क्षेत्रका व्यवसायीले नपाएको उनले जनाए। अहिले पर्यटकीय गतिविधि कसरी सामान्य बनाउने भन्नेतर्फ व्यवसायीको ध्यान खिचिएको छ।

पर्यटनसँग जोडिएका होटल, घरबासमा कोरोनाको प्रभाव नराम्ररी परेको छ। सञ्चालन गर्न नसक्दा कतिपय होटल/घरबासमा ताल्चा लागेका छन्। व्यवसायी पलायन भएका छन्। उनले भने, ‘देशभरका झन्डै ३५ सय हाराहारीमा रेस्टुरेन्ट तथा बार प्रभावित भए।’ नेपाल उद्योग वाणिज्य महासंघसँगको समन्वयमा ठमेललगायत राजधानीको पर्यटन प्रवद्र्धन गर्ने किसमका कार्यक्रमको तयारी भइरहेको उनले बताए। यस क्षेत्रको सहयोगले पर्यटन उद्योगमा सरकारलाई सहयोग पुग्दै आएको छ।

त्यस्तै, ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भवी शर्माले नयाँ वर्ष तथा क्रिमसमको अवसरमा व्यवसायीले आफ्ना सेवा तथा बस्तुमा मूल्य घटाएर सेवा दिने जनाएका छन्। वार्षिक अर्बौंको कारोबार हुने यो क्षेत्र पछिल्लो समय चलायमान हुन थालेपछि व्यवसायी हौसिएका हुन्।

प्रकाशित: ५ पुस २०७८ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App