७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटनमा सम्बन्ध बढाउँदै व्यवसायी

कोरोना संक्रमण सुरु भएपछिको पहिलो अन्तर्राष्ट्रिय छलफल

पोखराको होटल बाराही परिसरमा विहीबार पोखरा र बंगलादेशी पर्यटन व्यवसायीबीच भएको व्यवसायीक छलफल। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमण कमजोर भएपछि पर्यटनमा सुधार आउने अपेक्षा सहित पर्यटन व्यवसायीले बजारीकरण थालेका छन्। त्यसको सुरुवात पोखरा र बंगलादेशका पर्यटन व्यवसायीबीचको व्यवसायिक छलफल (बीटुबी) बाट सुरु भएको छ। कोरोना संक्रमण सुरु भएपछिको यो पहिलो व्यवसायिक छलफल भएको व्यवसायीले बताएका छन्।  

पोखरा पर्यटन परिषद् (पिटिसी) ले संयोजन गरेको छलफलमा बंगलादेशका एकदर्जन टुर अपरेटर्सका संचालक र पोखराका पर्यटन व्यवसायी सहभागि थिए। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) च्याप्टर र नेपाल पर्यटन बोर्ड समेत सहभागि भएको यो छलफलमा दुई मुलुकका पर्यटन व्यवसायीले एकअर्कासँग अनुभव साट्दै व्यवसायिक अवसरको उपयोग गरेका थिए। पोखरा आएको बंगलादेशको यो टिमले काठमाडौंमा समेत पर्यटन व्यवसायीसँग छलफल गर्नेछ।  

पाटा नेपाल च्याप्टरका सदस्य समेत रहेका पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले नेपाल र बंगलादेशबीचका पर्यटक आउजाउमा सघाउने गरि भएको यो व्यवसायिक छलफलले आगामि दिनमा पर्यटनमा सुधार ल्याउन सकिने अपेक्षा रहेको बताए। ‘पर्यटनमा अब ‘रिभाईव’ को समय आएको छ। अहिलेसम्म हामी मुस्किलले ‘सर्भाइभ’ भयौं। जसोतसो जोगिएको पर्यटनलाई अब उकास्ने प्रयास सुरु भएको हो,’ बीटुबी कार्यक्रममा संयोजक समेत रहेको सापकोटाले भने, ‘सधैं सुस्ताएर मात्र बसेर भएन। अब केही कदम अघि बढेर पर्यटनलाई उकास्ने प्रयास गर्नैपर्छ। त्यसको थालनी भएको हो।’

कोरोना संक्रमण सुरु भएपछि आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र धानिएको भएपनि अब क्षेत्रीय मुलुकका पर्यटकलाई नेपाल भिœयाउने गरि पहल थाल्नुपर्ने उनले बताए। क्षेत्रीय पर्यटनको रुपमा नेपालसँग सिमा जोडिएका र नजिकका मुलुकका पर्यटक भिœयाउन पहल गर्नुपर्ने उनले बताए। ‘सुस्ताएको पर्यटन उकास्न गतिविधि आवश्यक पर्छ। ती गतिविधिमध्ये यस्तै छलफल पनि हुन्,’ उनले भने, ‘आन्तरिकसँगै अब विदेशी पर्यटनमा पनि जोड दिनुपर्छ। क्षेत्रीय मुलुकका पर्यटक भिœयाउन सक्ने हो भने पनि केही सहज हुन्छ।’ आगामि दिनमा पर्यटन क्षेत्र उकास्नका लागि पोखरेली व्यवसायीले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक गतिविधि पनि गर्ने उनले जानकारी दिए।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार २०१७ मा नेपालमा २९ हजार ६० जना बंगलादेशका पर्यटक आएका थिए। त्यो संख्या २०१८ मा २६ हजार ३ सय ५ र २०१९ मा २५ हजार ८ सय ४९ थियो। कोरोना संक्रमण सुरु भएपछि २०२० मा बंगलादेशबाट ४ हजार ९ सय १७ जना पर्यटक नेपाल भित्रिएका थिए। गत अक्टोबरमा पनि झन्डै १५ सय बंगलादेशी पर्यटक नेपाल भित्रिएका छन्।

 ‘बंगलादेशको पर्यटक आगमनको संख्या कोरोना अघि निकै नै राम्रो थियो। नजिकको गन्तव्य भएको र आउजाउमा सहज भएकोले पनि बंगलादेशी पाहुना नेपाल आउन चाहन्छन्,’ सापकोटाले भने, ‘अलिकति मेहनत गर्ने हो भने अगाामि दिनमा अहिले खस्किएको आगमनमा सुधार ल्याउन सकिन्छ।’

पाटा बंगलादेश च्याप्टरका अध्यक्ष सहीद हमिदका अनुुसार बंगलादेशको पर्यटनको अवस्था पनि निकै नै कमजोर छ। बंगलादेशले पनि आन्तरिक पर्यटनमार्फत केही राहत खेपेको भएपनि अवस्था कमजोर रहेको उनले सुनाए। ‘विश्वभरकै पर्यटन गतिलो अवस्थामा छैन। बंगलादेश पनि त्यो पटक टाढा छैन,’ हमिदले भने, ‘आन्तरिक पर्यटनबाट केही राहत मिलेपनि विदेशी आगमन नभएसम्म व्यवसायीले कमाउन सक्दैनन्। आन्तरिकको भरमा पर्यटन व्यवसाय थेगिएको मात्र छ।’  

उनका अनुसार अहिले पनि बंगलादेशले अन्तर्राष्ट्रिय मुलुकका पर्यटन भिœयाउन सकेको छैन। २०२२ को मध्यपछि बल्ल विदेशी पर्यटक आउने अपेक्षा रहेको उनले सुनाए। ‘पहिले विदेशी पाहुनासँग एकसय अमेरिकी डलर लिने व्यवसायीले अहिले आन्तरिक पाहुनाबाट ६० डलर बराबरको मुल्य मात्र पाएका छन। त्यसले व्यवसाय टिकाउने काम मात्र भएको छ,’ उनले भने, ‘अहिले व्यवसाय थेग्नु नै ठुलो उपलब्धी मानिएको छ।’

नेपाल र बंगलादेशबीच  पर्यटक आउजाउ गराउन सहज भएपनि ती सुविधा अझै अपुग रहेको उनले सुनाए। उनका अनुसार अहिले नेपाल र बंगलादेशबीच हिमालय एयरलाइन्स र बिमान बंगलादेशको उडान भएपनि त्यो अपुग छ। केही समयपछि यूएयस बांग्ला सहितका एयरलाइन्सले उडान गर्ने योजना बनाएपछि आउजाउ बढ्ने उनले बताए।  

‘झन्डै एकघण्टाको हवाई उडानबाट एकअर्का मुलुकबीच आउजाउ गर्न सकिन्छ। नेपालमा पर्यटकीय गतिविधि पनि अन्य मुलुकको तुलनामा सस्तो छ। त्यही भएर नेपाल र बंगलादेशबीच पर्यटकीय गतिविधि बढाउन सकिन्छ,’ उनले भने। उनका अनुसार नेपालका धेरै विद्यार्थी मेडिकल शिक्षाका लागि बंगलादेश जाने भएकोले पनि बंगदेशका पर्यटक नेपाल भिœयाउन सहज छ। त्यसबाहेक व्यवसायिक कामले पनि नेपाल र बंगलादेशबीच आउजाउ हुने गरेको छ।  

पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी पनि आगामि दिनमा पर्यटनमा गतिविधि जरुरी रहेको बताउँछन्। ‘अब व्यवसायमा चमक ल्याउने बेला भएको छ। दुई मुलुकबीच आउजाउ बढाउन सक्ने हो भने पर्यटनमा लाभ मिल्छ,’ भण्डारीले भने, ‘बंगलादेश र पर्यटनबीच आउजाउ सहज हुने र नजिकका गन्तव्य भएकोले पनि पर्यटनमा अब्बल रहेको छ।’

प्रकाशित: २ मंसिर २०७८ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App