८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल किसानलाई यतिखेर भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै किसानलाई बारीमा रोपेको मखमली, सयपत्री, गोदाबरीलगायत फूल टिप्न र माला गास्न चटारो छ। बिहान शीतसँगै टिपेका मखमली फूल दिउँसो बेच्नका लागि गाँस्न र अपराह्न पुनः फूल टिप्न सघाउन यहाँका किसान आपसमा अर्मपर्म नै गर्न थालेका छन्।

भक्तपुरको ताथली र गुन्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, बागेश्वरीलगायत ठाउँमा अहिले अधिकतर कृषकका बारीमा ढकमक्क मखमली र सयपत्री फूलेको देखिन्छ।

स्थानीय फूल कृषक सरिता गिरीका अनुसार नगदेबालीका रूपमा पछिल्लो २० वर्षदेखि यहाँ फूलखेती हुँदै आएको छ। तिहार आउनुभन्दा हप्ता दिनअगावै मखमलीको माला गाँसेर बजार पठाइसकेको बताउने उनले एक लाख रूपैयाँबराबरको माला विदेश निर्यातका लागि बिक्री गरिसकेको बताइन्।

‘पहिला यहाँका स्थानीय वनमाला जातिले मात्रै मखमलीको खेती गर्ने गरेका थिए। वनमालाहरू घरघरै फूल दिएर साटेको अन्न र पैसाले परिवारको गुजारा चलाउँथे,’ उनले भनिन्, ‘२५ वर्षअघिसम्म वनमालाले छोएको फूल चोखो हुन्छ भन्ने मान्यता रहे पनि हाल प्रायः सबैले व्यावसायिक रूपमा फूलखेती गर्न थालेका छन्। 

मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।

मखमली फूलखेतीमा गुन्डु आत्मनिर्भर बनिसकेको उनको दाबी छ। अहिले मखमलीको स्वदेशमा मात्र नभएर भक्तपुरको मालाको खोजी युरोपमा समेत हुन थालेको गिरीले बताइन्।

त्यस्तै स्थानीय कल्पना बस्नेतसमेत फूल बिक्रीबाट मात्रै किसानले ५० हजारदेखि ३ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको बताइन्। ‘तिहारको पाँच दिन अघिदेखि नेपाली बजारमा मखमलीको माग अत्यधिक हुने गरेको भए पनि यसअघि नै किसानले अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडालगायत देशमा पठाउन मखमली बिक्री गरिसकेका छन्,’ उनले भनिन्, ‘व्यापारी बारीमै आउने र हरेक वर्ष मखमलीको माग समेत बढ्दै गएकाले फूल व्यवसाय आम्दानीको राम्रो स्रोत बनिसकेको छ।’ फूलखेतीमा मेहनत र फूलका बोट बचाउन समस्या रहे पनि फूल बिक्रीका लागि बजारको अभाव नरहेको उनको भनाइ छ। जेठमा रोपेको मखमली साउनको सुरुवातसँगै टिप्न सुरु हुने उनले बताइन्।

भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब पाँच करोड रूपैयाँको फूल बिक्री हुने गरेको छ।

धानमा भन्दा फूलबाट राम्रो आम्दानी हुन थालेपछि मकै बारीमै दोहोरो बालीका रूपमा किसानले फूलखेती गर्दै आएको स्थानीयको भनाइ छ। भारतलगायत तेस्रो मुलुकबाट आयातीत फूलले नेपाली बजार ओगटिरहेको बेला यहाँ उत्पादित मखमली युरोप–अमेरिका निर्यात गर्न पाउँदा किसान दंग छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष सयपत्री, मखमली र गोदाबरीका १८ लाख ६५ हजार मालाको माग रहेको छ। गत वर्ष तिहारमा १६ लाख फूलका माला खपत भएको थियो। यो वर्ष १३ लाख १८ हजार माला आन्तरिक उत्पादनले पूर्ति हुनेछ भने दुई लाख ३२ हजार माला आयात गरिने एसोसिएनले जनाएको छ। नेपालमा वर्षेनि करिब १५ प्रतिशतले फूलखेती बढ्दै आएको तथ्यांकले देखाएको छ।

संस्थाका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष तिहारका पाँच दिनमा मात्रै १० करोड नौ लाख रूपैयाँबराबरको फूल कारोबार हुने अपेक्षा गरिएको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बजारमा फूलको माग बढ्ने उनले बताए।

यमपञ्चकभित्र मात्रै १५ लाख ५० हजार सयपत्री फूलका माला खपत हुने अनुमान गरिएको छ। अत्यधिक वर्षा भएको र सयपत्री फूलको उत्पादनमा कमी आएकाले तिहारका लागि आवश्यक फूलको माग पूर्तिका लागि गत वर्षको तुलनामा आयातमा केही वृद्वि गर्नुपर्ने अवस्था रहेको उनले बताए।

बेमौसमी वर्षाले लुम्बिनी प्रदेशमा उत्पादित ७० र वाग्मती प्रदेशमा २२ प्रतिशत फूलमा क्षति पुगेकाले आन्तरिक उत्पादनले मात्रै माग पूर्ति नहुने तामाङको भनाइ छ। अघिल्ला वर्षमा लुम्बिनी प्रदेशबाट मात्रै तिहारका लागि २२ प्रतिशत माला बजारमा आउने गरेको भए पनि सुदूरपश्चिमसहित वाग्मती प्रदेशका चितवन, मकवानपुर, धादिङलगायत जिल्लामा गरिएको फूलखेतीमा कात्तिकको वर्षाले क्षति पुर्‍याएकाले बाह्य मुलुकबाट हुने आयात बढ्नसक्ने उनको अनुमान छ।

एसोसिएसनको तथ्यांकअनुसार यो वर्ष आन्तरिक उत्पादनका सयपत्रीका १३ लाख १८ हजार माला कारोबार हुने अनुमान गरिएको छ। गत वर्ष एक लाख ५३ हजार सयपत्रीका माला आयात गरिएको थियो। यो वर्ष सयपत्री मालाको प्रतिथोक औसत मूल्य ६५ रूपैयाँसम्म तोकिएको छ।

त्यस्तै मखमली मालाको थोक मूल्य ५० रूपैयाँसम्म तोकिएको छ। यो वर्ष मखमली फूलको व्यापार एक करोड पाँच लाख तथा ५२ लाख रूपैयाँबराबरको गोदाबरी फूलको मालाको व्यापार हुने एसोसिएसनको अनुमान छ।

पछिल्लो समय नेपालमा व्यावसायिक फूल खेतीले गति लिन थालेको छ। संस्थाका अनुसार ४३ जिल्लामा करिब एक सय ६० हेक्टरमा फूल खेती गरिन्छ। फूलखेतीमा झन्डै ४५ हजार बढी श्रमिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। फूलको बहुउपयोग र बढ्दो मागका कारण नेपालमा मौसमी, आलंकारिक र कट फ्लावरलगायतको व्यावसायिक खेती फस्टाउँदै गएको छ।

पछिल्लो समय नेपालबाट पनि फूलका बिउ, बिरुवा, बल्ब निर्यात भइरहेको छ। तर फूल उत्पादनका लागि नेपाली हावापानी अनुकूल रहे पनि वार्षिक करोडौं मूल्यबराबरको फूल आयात हुँदै आएको छ। भन्सार विभागको तथ्यांकअनुसार नेपालमा भारत, अमेरिका, चीनसहित विश्वका विभिन्न देशबाट फूल भित्रिने गरेको छ। 

सबैभन्दा बढी फूल आयात भारतबाट हुने गरेको छ। नेपालमा फूल खपत हुने प्रमुख सहरमा काठमाडौं रहेको छ। असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ।

फूलको मागमा आएको वृद्धिसँगै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको संस्थाले जनाएको छ। हाल नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ।

नेपालमा पछिल्लो समय विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ। तिहारमा विशेषगरी लक्ष्मीपूजाको अवसरमा बत्तीले घर, पसल, कार्यालयलाई झिलिमिली पार्ने गरिन्छ।

केही वर्षपहिलेसम्म फूलका माला, बत्तीका पाला र मैनबत्तीले घरआँगन सजाउने गरेको भए पनि पछिल्लो समय बढ्दै गएको झिलिमिली बिजुली बत्ती तथा प्लास्टिकका फूलमाला प्रयोगले फूलको व्यापारमा असर परेको व्यवसायी बताउँछन्। काठमाडौंमा फूल व्यापार गर्दै आएका निर्मल केसीका अनुसार विद्युतीय बत्तीको बढ्दो प्रयोगले फूलको व्यापारमा असर देखिएको हो। 

‘अहिले पहिला जस्तो बत्ती पनि जाँदैन। एक पटक किन्यो भने जतन गर्नेलाई वर्षौं पुग्छ,’ उनले भने, ‘फूलको माला किन्ने पैसाले विद्युतीय माला आउने भएपछि दुनियाँ झिलिमिलीकै पछि लाग्दो रहेछ।’ भन्सार विभागको तथ्यांकअनुसार करोडौं रूपैयाँ बराबरका इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिसबाजी आयात गरिनुले उक्त कुरालाई प्रस्ट पारेको छ।

अहिले नेपाल भित्रिने त्यस्ता कुल विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात हुने गरेको नेपाल विद्युतीय महासंघले जनाएको छ। तिहारमा ८० करोडदेखि ९० करोड रूपैयाँसम्मको विद्युतीय सामग्रीको कारोबार हुने गरेको महासंघले जनाएको छ।

महासंघका अनुसार सामान्य अवस्थामा वार्षिक एक अर्बभन्दा बढी विद्युतीय बत्ती नेपाल आयात हुने गरेको छ। आयातीत बत्ती तिहारमा मात्रै ८० प्रतिशत र अन्य समय क्रिसमस, नयाँ वर्षलगायत समयमा २० प्रतिशत बिक्री हुने गरेको छ।

२०७६ सालको तिहारमा ६० करोड रूपैयाँबराबरको बत्ती आयात भए पनि गत वर्ष कोरोनाका कारण २५ करोड रूपैयाँबराबरको आयात गरिएको थियो।

प्रकाशित: १३ कार्तिक २०७८ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App