coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तातोपानी कारोबार झन्–झन् ओह्रालोतिर

पुनःसञ्चालनको दुई वर्ष बितिसक्दा पनि उत्तरको मुख्यनाका तातोपानीबाट हुने नेपाल–चीन कारोबारमा वृद्धि आउन सकेको छैन। नाका पुनःसञ्चालनमा आएदेखि नै निर्यात प्रतिवन्धित छ भने आयात झन् घट्दो छ।  

२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पपछि चार वर्ष नाका पूर्णबन्द थियो। २०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ। त्यसैले नाका भएर नेपालबाट हुने निर्यात व्यापारसमेत अघोषित रुपमा प्रतिवन्धित छ। राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको यो नाकाबाट आयात व्यापार पनि बढ्नुको सट्टा घट्दो छ।  

‘नाकाको कूल क्षमताको १५ प्रतिशत पनि कारोबार पुग्न सकेको छैन,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले नागरिकसँग भने। चीन सरकारकै सहयोगमा तातोपानीमा अत्याधुनिक सुख्खा बन्दरगाह बनेको छ। नाका पुनः सञ्चालनसँगै यहीँबाट भन्सार कारोबार भइरहेको छ। कारोबार नबढ्दा बन्दरगाहबाट पर्याप्त लाभ उठाउन नसकेको गौतम बताउँछन्।

कोरोना महामारी, जीर्ण बाह्रविसे–कोदारी सडक खण्ड र बर्खाको बाढीपहिरोले नाका निरन्तर सञ्चालनमा अवरोध पुर्याइरहेको छ। यिनै कारण पुनःसञ्चालनको दुई वर्षमा झण्डै दर्जनपटक नाका बन्द हुने र खुल्ने क्रम चल्यो। गएको बर्खामा पनि लिपिङ सडक बाढीले बगाउँदा तीन महिना आयात नराम्ररी प्रभावित भयो।

मर्मतपछि लिपिङ सडक भदौ दोस्रो साताबाट सञ्चालनमा आइसकेको छ। नेपालको कोरोना संक्रमण घट्दै गएको र नाकालाई सडकले जोडेको सन्देश बेजिङ पुर्याउँदा पनि आयात बढ्न नसकेको प्रमुख भन्सार अधिकृत गौतमले बताए। नाका बन्दै पनि छैन, प्रभावकारी ढंगले सञ्चालनमा पनि आएको छैन। ‘न बन्द छ भन्नु, न सञ्चालनमा!’ उनी भन्छन्, ‘कहिले एक–दुई कन्टेनर सामाग्री आउँछन्। कुनै दिन १५–१८ कन्टेनर पनि पुग्छ। कहिले त एकै कन्टेनर सामाग्री पनि आउँदैन।’

दुई कन्टेनर सामाग्रीबाट पुनःसञ्चालनमा ल्याइएको नाकाबाट आयात बढ्दै गत हिउँदमा ४० सम्म पुगेको थियो। त्यसयता भने आयात निरन्तर घटिरहेको भन्सार तथ्यांक छ। भूकम्पअघि पर्याप्त भौतिक पूर्वाधार नहुँदा पनि नाकाबाट दैनिक औसतमा ६० कन्टेनर सामाग्री आयात हुन्थ्यो। त्यसबाट सरकारले वार्षिक ५ अर्ब रुपैयाँ राजस्व प्राप्त गथ्र्यो। प्रमुख गौतमका अनुसार दैनिक कम्तिमा सय कन्टेनर सामाग्री जाँचपास गरी राजधानी पठाउन सकिने हालको बन्दरगाह भन्सारको क्षमता छ। पर्याप्त भौतिक र जनशक्ति क्षमता हुँदा पनि कारोबार बढ्नु त के पूरानै अवस्थामा फर्कँनसम्म सकेको छैन।  

कोरोना माहामारीलाई बहाना बनाएर चीनले पर्याप्त सामाग्री पठाउन आनाकानी गर्दै आएको भन्सार अधिकारी बताउँछन्। पर्याप्त सामाग्री नपठाएकै कारण सुख्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सकेन। आव ०७७÷७८ मा ५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा १ अर्ब दुई करोडमात्र असुली भएको भन्सार तथ्यांक छ।  

पुनःसञ्चालनयता नाकाबाट कम भन्सार लाग्ने वा लाग्दै नलाग्ने धेरै कृषिजन्य र स्वास्थ्य सामाग्री भित्रिरहेका छन्। विगतमा नाकाबाट अत्यधिक आयात हुन तयारी पोशाक र इलेक्ट्र«ोनिक्स सामाग्रीको आयात ज्यादै न्यून छ। चीनले पर्याप्त सामाग्री नछोडेकै कारण अर्डर गर्न नसकेको व्यवसायीको गुनासो छ। भौतिक पूर्वाधार र जनशक्ति क्षमता पर्याप्त भए पनि कारोबार बढ्नुको सट्टा घट्दा तातोपानी छोटी भन्सारको रुपमा खुम्चँदै गएको टिप्पणी हुन थालेको छ। आयातकर्ता रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बेदबहादुर श्रेष्ठ सरकारले पर्याप्त कुटनीति पहल नगर्दा तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताउँछन्। ‘हरेक सरकारका प्रधानमन्त्री, अर्थ, वाणिज्यमन्त्री र सम्वद्ध अधिकारीलाई भेटेर निरन्तर नाकाबारे ध्यानाकर्षण गराइरहेका छौँ। तर सुन्ने काम कहिल्यै भएन,’ उनले भने।

पर्याप्त सामाग्री छोडिदिए व्यवसायी नाका कारोबार गर्न अझै उत्साही रहेको उनी सुनाउँछन्। नाका व्यापार बढाउने विषयमा गत साता ल्हासास्थित बाणिज्य दुतावासमा नेपाली र चिनियाँ वाणिज्य अधिकारीबीच छलफल भएको थियो। वाणिज्यदूतको आग्रहमा चिनियाँ अधिकारीले तत्काल दैनिक ४० कन्टेनर सामाग्री तातोपानी नाका भएर नेपाल पठाउने प्रतिवद्धता जनाएका थिए। प्रतिवद्धताको साता बिते पनि आयात बढेको छैन।

प्रकाशित: १० आश्विन २०७८ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App