coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

राजस्व संकलन बढ्यो

रसुवा भन्सार कार्यालय । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व संकलन बढेको छ। पछिल्लो केही महिनायता दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो। 

रसुवा भन्सार कार्यालयका अनुसार गएको साउन महिनामा लक्ष्यको तुलनामा ७१.४० प्रतिशत बढी राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा कार्यालयले ३७ करोड ४२ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा ६४ करोड १४ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।  

गत वर्ष २०७७/७८ को तुलनामा २ सय ७२ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ। कार्यालयले यो वर्ष ६ अर्ब २८ करोड ७५ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउन महिनामा वार्षिक लक्ष्यको १०.०२ प्रतिशत राजस्व उठेको छ।  

नाकाबाट साउन महिनामा सवारी साधन, मेसिन औजार, स्याउ ओखर लगायतका सामग्री आयात भएको छ। पछिल्लो समयमा आयातमा केही वृद्धि भएका कारण राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।  

२०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ। २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो। अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण डेड वर्षदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २ भाद्र २०७८ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App