२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

विपदमा पनि काम लागेन मनाङको हुम्दे विमानस्थल

गाडी नचलेपनि विमान चलाउन पाए राहत हुन्थ्योः स्थानीय

मनाङको हुम्दे विमानस्थल । फाइल तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङ विगत दुईमहिना भन्दा बढी समयदेखि सडक सञ्जालबाट बिच्छेद छ । जेठ मध्यको बाढीले पुल बगाउँदा मनाङ सडक सञ्जालबाट बिच्छेद भएको थियो । असार पहिलो साताको बाढीले त झनै तहस नहस बनाउँदा सडक सञ्जालको सम्पर्क झनै कठिनयुक्त बनेको छ । दसैंसम्म सडक सञ्जाल जोड्ने प्रयास भईरहे पनि त्यो उत्ति सहज नरहेको स्थानीय प्रशासनको भनाई छ ।  

सडक सञ्जालबाट बिच्छेद भएपनि मनाङका नागरिकलाई राहत पु¥याउन र अत्यावश्यक परेका नागरिकको आउजाउमा सघाउन हवाई सञ्जालको विकल्प थियो । तर, बाढीपहिरोले क्षतविक्षत भएर पैदल हिडडुल समेत रोकिएको यो बेला जिल्लाको चल्ती अवस्थाकै विमानस्थल उपयोग गर्न समेत कसैले चाँसो दिएनन । हेलिकप्टर चार्टर गरेर दिनहुँ महंगोमा दैनिक उपभोग्य बस्तु ओसारे पनि हवाई सेवा सुरु गरेर एकैपटक धेरै परिमाणमा उपभोग्य बस्तु ढुवानीमा समेत कसैको नजर पुगेन । राज्यले समेत अप्ठेरोको यो बेलामा विमानस्थल चालु गरेर जहाजमा सामान ढुवानी गराएर सहज गराउने विकल्पतर्फ तर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । अप्ठेरोको बेला भएको विमानस्थल समेत उपयोग गर्ने ढंग नपुगेको उनीहरुको भनाई छ ।  

समुन्द्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाईमा मनाङमा हुम्दे विमास्थल छ । यो विमानस्थल भन्दा माथिल्लो क्षेत्रले जिल्लाको करिब आधा जनसंख्यालाई अहिलेको अप्ठेरोमा पनि सहजै सेवा दिन सक्ने भएपनि उपयोग नहुँदा नागरिकको दैनिकी कठिनपूर्ण बन्दै गएको मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङ बताउँछन । ‘गाडी नै नचलेको दुई महिना कटिसक्यो । अझै केही महिना मनाङमा गाडी चल्ने अवस्था छैन । यो बेलामा भएको एकमात्र विमानस्थल प्रयोगमा ल्याउन चाँसो देखाउनुपर्ने हो,’ गुरुङले भने, ‘यतातर्फ न त स्थानीय तहले चाँसो दिए, न सरकारले नै ।’  

अहिले मनाङमा खाद्यान्न सहित दैनिक उपभोग्य बस्तुको अभाव छ । कतिपय दाताहरुले महंगोमा हेलिकप्टर चार्टर गरेर राहतका सामाग्री पु¥याईरहेका छन् । यो बेला जहाजको उडान हुन्थ्यो भने केही सस्तोमा सामान ढुवानी हुने भएपनि त्यो बारेमा कसैले चाँसो नदिएको उनले बताए । 

‘पोखराबाट हेलिकप्टरमा सामान ढुवानी गर्दा प्रतिकिलो २५० रुपैयाँ पर्छ । हेलिकप्टरले एकैपटक धेरै तौल बोक्न पनि सक्दैन,’ उनले भने, ‘यो बेला जहाजमा सामान ल्याउन सकेको भए केही सस्तो पर्दथ्यो । जहाजले एकैपटक धेरै तौल पनि बोक्ने हुँदा सस्तो पर्न जान्थ्यो ।’ खाद्यान्न ओसार्ने बाहेक जहाज चलेको भए बिरामीलाइ उपचारमा पनि केही सहज हुने उनले बताए । केहीदिन अघि एकजना बिरामीलाई महंगोमा हेलिकप्टर चार्टर गरेर अस्पताल पु¥याउनुपरेको समेत उनले बताए ।

‘अप्ठेरोमा पनि भएका पुर्वाधार उपयोग गर्न सकिएन । नत राज्यले चाँसो दियो, न स्थानीय तहले,’ उनले भने । यसअघि पनि बारम्बार मनाङमा नियमित उडान गर्न भनेर राज्यका निकायमा ताकेता गरेपनि कसैले सुनुवाई नगरेको उनले बताए । ‘तत्काल बाटो बन्ने अवस्था छैन । भीरको पहरो नफुटाई बाटो खुल्दैन । ५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गराएर गराएर खच्चडबाट बोकाएर सामान ल्याएका छौै,’ उनले भने, ‘गाडीबाट ल्याउँदा प्रतिकिलो १० रुपैयाँ ढुवानी खर्च पर्दथ्यो । खच्चरबाट ४० रुपैयाँ परेको छ ।’  

मनाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष कान्छा गुरुङ पनि गाडी नचल्दाको विकल्प हवाई जहाज भएपनि विमानस्थल हुँदाहुँदै पनि उपयोगमा नआएको बताउँछन । ‘गाडी नचल्दाको यो बेलामा हवाईजहाज उडेको भए नागरिकको आउजाउ र सामना ढुवानीमा सहज हुन्थ्यो । तर, त्यतातिर कसैको ध्यान गएन,’ उनले भने, ‘मनाङमा गाडी पुग्नु भन्दा पहिला जिल्लाका नागरिकको सहरसम्मको आउजाउको विकल्प विमान थियो । त्यो बेला कच्ची धावनमार्ग सहितको विमानस्थलले थेगेको जिल्लाको यातायात अहिले कालोपत्रे धावनमार्गको विमानस्थल हुँदा समेत उपयोग हुन सकेन ।’  

विमानस्थल उपयोग गर्न नजानेको उनले बताए । ‘हेलिकप्टर बाहेक सामान ढुवानी गर्ने विकल्प छैन । बाटो नै नभएपछि खाद्यान्न ढुवानी गर्न सकिएको छैन । थोराङ पास गरेर केही सामान ल्याएपनि त्यो पनि महंगो छ,’ उनले भने, ‘कम्तिमा जहाजमा ल्याएर सामान थुप्रो लगाउन सकेको भए यो अप्ठेरोमा सबैलाई सहज हुन्थ्यो ।’ विमानस्थल चलाउनुपर्छ भनेर आफुहरुले बारम्बार भन्दै आएपनि कसैले नसुनेको उनले बताए । ‘हामीले भनेको सुन्दैनन, नेताहरु कुरा उठाउँदैनन,’ उनले भने ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले पर्यटन मन्त्रालयलाई विमानस्थल चालु गर्न सकिने बारे पत्र पठाएको पनि छ । तर, त्यो बारेमा खासै प्रगति भएको छैन । विमानस्थल भएको हुम्देबाट सदरमुकाम चामे करिब ६ घण्टाको पैदल दुरीमा पर्छ । चामे र हुम्देबीच पनि बाटो पहिरोमा बगेको छ । तर, तल्लो भेगमा भन्दा क्षति कम छ । अहिले हुम्दे र चामेबीचको आउजाउ पनि सहज  छैन । ‘हुम्देबाट तल आउन नसकेपनि जहाज चल्दा माथिल्लो भेगलाई त सहज हुन्थ्यो,’ लामिछानेले भने, ‘हामीले चाँसो देखाएर पर्यटन मन्त्रालयमा पत्र पनि पठाएका छौ । निजी क्षेत्रका हवाई कम्पनिसँग समन्वय गर्ने भनिएको हो ।’  उनका अनुसार दसैं अघि मोटरले मनाङ टेक्ने सम्भावना छैन । त्यसैले यो बेला विमानस्थल प्रयोग गर्न सकेर जहाज मार्फत यातायात र ढुवानी बढाउन सक्ने हो भने सहज हुन्छ । 

‘मनाङको आधा जनसंख्यालाई विमानस्थलको सेवाले पक्कै सहज हुन्थ्यो । तर, सदरमुकामसँग जोड्न नसकेकोले फोकस नभएकै हो,’ उनले भने, ‘अहिलेको अप्ठेरोमा पनि विमानस्थललाई उपयोग गर्न नसकिएकै हो ।’ उनले पनि यो बेला जहाजमा एकैपटक धेरै खाद्यान्न ल्याएर हुम्देमा थुपारेर आवश्यक अनुसार ढुवानी गराउन सक्ने हो भने सहज हुने बताए ।  

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) पोखराका प्रमुख बिक्रम गौतम पनि अहिलेको अप्ठेरोमा विमानस्थल उपयोग गर्न सके सबैलाई सहज हुने बताउँछन । तर, स्थानीयले विमानस्थल संचालनको मागलाई जोडतोडले उठान गर्न सक्नुपर्ने उनी बताउँछन । ‘निजी हवाई कम्पनिले उडानमा चाँसो देखाउने हो भने हामीले आजै उडान स्वीकृत गर्न सकिन्छ । नियमति उडान गर्न पाएको भए अझ राम्रो हुन्थ्यो,’ गौतलले भने, ‘लगानी गरेर पनि उपयोग हुन नसकेको विमानस्थललाई संकटको यो बेला प्रयोगमा ल्याउन सके सबैलाई राहत मिल्थ्यो । तर, यसबारेमा जिल्लाबासीले पनि दवाव दिनुपर्छ ।’ उनले कुनैपनि निकायले यो बारेमा सोच्दै नसोचेको पनि बताए ।  

पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमि)  टाढाको हुम्दे सामान्य अवस्थामा पोखरादेखि १६ देखि १८ मिनेटमा पुगिन्छ । हिमालपारिको जिल्ला मनाङको हुम्दे विमानस्थल दशक अघिसम्म नियमित संचालनमा थियो । संचालनमा रहँदासम्म विमानस्थलमा सातामा ३ वटासम्म उडान हुन्थे । पोखरा र काठमाडौंबाट हुम्देमा सिधा उडान हुन्थ्यो । त्यो बेला मनाङ जोड्ने एकमात्र यातायातको साधनको रुपमा हवाइजहाज मात्र थियो । कच्चि धावनमार्ग हुन्जेल नियमित जसो चलेको विमानस्थलमा दशक अघि धावनमार्ग कालोपत्रे भएपनि उडान हुन सकेको छैन ।  

‘सेड्युअल फ्लाइट’ नभएको कम्तिमा पनि आठवर्ष बितिसकेको छ । प्राधिकरणले धावनमार्ग कालोपत्रे गरेर स्तरोन्नती गरेपछि हुम्दे विमानस्थल बाह्रैमहिना संचालन गर्न योग्य भएको थियो । कालोपत्रे गर्ने क्रममा ६ सय मिटरबाट बढाएर ९ सय मिटर लामो धावनमार्ग बनाइएको थियो । तर, करिब नौ करोड रुपैयाँ लगानी गरेर कालोपत्रे धावनमार्ग सहितको विमानस्थल अहिले अलपत्र छ ।  यो विमानस्थलको धावनमार्ग कच्चि हुँदा सुख्खायाममा मात्र संचालन हुँदै आएकोमा कालोपत्रे भएपछि बाहै्रमास संचालन योग्य बनेको थियो । तर, कालोपत्रे भएपछि उडान नै भएको छैन । 

प्रकाशित: २० श्रावण २०७८ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App