२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि: हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठको नाम समावेस छ। तर, ललितबहादुर नाम गरेको लाभग्राहीको अहिलेसम्म पहिचान भएको छैन। नगरपालिकाबाट हुँदैनभएको मान्छेको नाम सुरक्षित नागरिक आवास निर्माण लाभग्राहीको सूचीमा समावेश भएपछि स्थानीय अचम्मित छन्। सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि खार्मीका लागि २९ जनाको कोटा निर्धारण गरेको थियो। तर सो सूचीमा हुँदै नभएको एक व्यक्तिको नाम समावेस भएर आएको वडाध्यक्ष रामचन्द्र राईले बताए।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा पनि सुरक्षित नागरिक आवास निर्माण लाभग्राहीको सूचीमा खइबहादुर राईको नाम उल्लेख छ। तर, ‘खइबहादुर को हुन्’ भन्ने बारेमा अहिलेसम्म आफूलाई थाहा नभएको वडाध्यक्ष मुगाधन राईले बताए। वडामा खइबहादुर नभएपछि उनको स्थानमा तुलसकुमारी राईलाई सिफारिस गरिएको छ। पाथेकामै बसाई सरिसकेका तुलसी गिरीको ठाउँमा बुद्धिसिला राईलाई सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सिफारिस गरिएको वडाध्यक्ष राईले बताए। खर तथा फुसको छाना हटाउने अभियान अन्तरगत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो।  

खार्मीका वडाध्यक्ष कांग्रेस र पाथेकाका वडाध्यक्ष तत्कालिन संघीय समाजवादीबाट निर्वाचित भएका हुन्। राजनैतिक आस्थाका आधारमा वडासँग समन्वय नगरी एकलौटी सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छानिएको पाथेका र खार्मीका वडाध्यक्ष बताउँछन्। तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वडास्तरीय नेता तथा कार्यकर्ताले सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही नगरपालिकामा सिसफारिस गरेको खार्मीका वडाध्यक्ष राईले बताए। ‘हामीले १९६ जनाको आवेदन संकलन गरेर नगरपालिकामा पठाइदिने काम गरेका थियौं,’ राईले भने, ‘त्यसपछि २९ जनाको लिष्ट पठाइएछ। त्यो बेला नेकपाले लाभग्राहीको नाम सिफारिस गरेको हो। यस बारेमा वडासँग कुनै समन्वय भएको छैन। लिष्ट आएपछि मात्र हामीले थाहा पाएका हौँ।’  

खार्मीमा नेकपाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि ३१ जनाको नाम टुंग्याएर पठाएको थियो। तर, अधिकांश लाभग्राहीको नाम फेरबदल भएर आएको नेकपाबाट सिफारिस गर्नमा संलग्न एमाले नेता हर्कराज राई बताउँछन्। नेकपाबाट सिफारिस भए लगत्तै नेकपामा आएको बिभाजनको असर सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छनौटमा परेको धेरैको बुझाई छ। साविकको ९ वडाबाट कम्तीमा तीन/तीन जना लाभग्राही पर्नेगरी सिफारिस गरेकामा कतिपय वडाका कुनै पनि लाभग्राही नपरेको वडाध्यक्ष राईले बताए। कतिपय जस्ताको छाना हालिसकेका स्थानीयलाई पनि सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राहीमा समावेस गरेको पाइएको छ। सो विषयमा वडाध्यक्ष राईले गत असार २६ गतेको नगरसभामा आवाज नै उठाएका थिए।  

पाथेकामा पनि तत्कालिन नेकपाबाट सिफारिस भएका ३५ जनामध्ये १८ जनाको नाम परिवर्तन भएर आएको छ। त्यसमध्ये १५ जना सम्झौताका लागि आएकामा रोकिएको वडाध्यक्ष राईले बताए। सम्पर्कमा नआएका ३ जनाको ठाउँमा अशक्त र विधवालाई सिफारिस गरिएको छ। ३५ जनामध्ये १७ जनाले भने जस्ताको छाना हाल्नका लागि सम्झौता गरिसकेका छन्। १८ जनाभित्र तराईमा घर जग्गा भएका, जस्ताको छाना हालिसकेका, सामाजिक र आर्थिकरुपमा मजवुद व्यक्ति समावेस भएको गुनासो छ। पाथेकामा अर्कै व्यक्तिको घरको तस्बिर राखेर समेत लाभग्राहीमा दर्ज भएको पाइएको छ।  

खार्मी र पाथेकामा मापदण्ड विपरित सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छनौट गरिएको विषयमा साउन २ गते नगरपालिकाले गरेको नियमित कार्यक्रम ‘मिट द प्रेस’मा पनि प्रश्न उठाइएको थियो। सो ‘मिट द प्रेस’ कार्यक्रममा मेयर दिपनारायण रिजालले प्राविधिकले घरधुरी सर्भेक्षण गरेर ल्याएको आधारमा निर्णय गरेको तर ‘मिस यूज’ नभएको जवाफ दिएका थिए। नगरका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले पनि सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छनौटका क्रममा दुई लाभग्राहीको विषयमा गुनासो आएपछि संशोधनको प्रकृया अघि बढाइसकिएको बताए।

प्रकाशित: ४ श्रावण २०७८ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App