२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जापानी प्राविधिक आउन नपाउँदा केवलकारलाई अप्ठेरो

भार परीक्षण र सफ्टवेयर जडानको काम मात्र बाँकी

पोखरामा निर्माण भईरहेको अन्नपूर्ण केवलकार कम्पनिका पूर्वाधार । तस्बिरःउमेश पुन÷नागरिक

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार कम्पनिले एकवर्षदेखि रोकिएको केही काम पुरा गर्न भ्याएपनि कोरोना संक्रमणको दोश्रो लहरले संचालनमा भने ल्याउन सकेको छैन । भार परीक्षण, सफ्टवेयर हाल्ने लगायतका केही काम बाँकी रहँदा केवलकार संचालनमा ल्याउन नसकेको कम्पनिले बताएको छ । संक्रमण कम भएर अवस्था सहज भएमा असोजसम्म व्यवसायिक रुपमा केवलकार संचालनमा ल्याउने लक्ष्य कम्पनिको छ ।

पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । कोरोना भाइरस संक्रमणको दोश्रो लहरको त्रासले निषेधाज्ञा लागु भएसँगै अन्तर्राष्ट्रिय हवाई उडान रोकिँदा काम प्रभावित भएको कम्पनिले बताएको छ । लामो समयदेखि रोकिएको काम गर्न भन्दै गत बैशाख पहिलो साता आएका जापानी प्राविधिक अन्तर्राष्ट्रिय उडान रोकिन थालेपछि बैशाखमै हतारहतार स्वदेश फर्किएका थिए । प्राविधिक फर्किएपछि काम अघि बढ्न नपाएको कम्पनिका महाप्रबन्धक दिनेश पौड्यालले बताए ।

‘यसअघि रोकिएको तार टाँगेर सकिएको छ । भार परीक्षण गर्न बाँकी छ,’ पौड्यालले भने, ‘जापानी उपकरण भएकोले जडानमा पनि जापानकै प्राविधिक आउनुपर्छ ।’ उनका अनुसार पोहोर बैशाखमै यो केवलकार संचालनमा ल्याउने लक्ष्य थियो । तर, कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउने काम रोकिएको थियो । केवलकारको तार जोड्ने मुख्य काम रोकिएको थियो ।

 ‘लामो समय प्राविधिक नै आउन पाएनन । जसोतसो बैशाखमा आएका थिए । फेरि उडान रोकिने र निषेधाज्ञा लागु हुँदा प्राविधिक त्रसित भए,’ उनले भने, ‘त्यसपछि जापानी प्राविधिकहरु स्वदेश फर्किए । प्राविधिक फर्किएपनि काम पुन रोकिएको छ ।’  

केवलकारको तार (लठ्ठा) तान्ने, गण्डोला (डिब्बा) जडान गर्ने र मेसिन परीक्षणको काम मात्र बाँकी रहेकोमा अब तार तान्ने, गण्डोला जडान गर्ने लगायतका काम सकिएको छ । तर, भार परीक्षण भने गर्न नपाएको उनले बताए । ‘झन्डै दुईसाता लगाएर प्राविधिकले तार तान्ने र गोण्डला जडान गर्ने लगायतका काम सकेका छन । तर, भार परीक्षण भने गर्न पाइएको छैन,’ उनले भने, ‘अब जहिले प्राविधिक आउँछन । त्यसपछि बल्ल काम सुरु हुनेछ ।’ कोरोना संक्रमण बढेपछि जापानले अहिले आउजाउमा कडाई गर्दा तत्कालै प्राविधिक आउन नपाउने अवस्था रहेको उनले सुनाए ।

‘जापानी प्राविधिक फेरि कहिले आउने भन्नेमा अन्योल छ । कोरोनाका कारण जापानमा संकट छ । हाम्रो लक्ष्य अगष्ट पहिलो सातासम्म उनीहरुलाई ल्याउने हो,’ पौड्यालले भने, ‘तर, जापानमा कडाई छ । हामीहरु उनीहरुकै पर्खाइमा छौ ।’ जापानले प्राविधिकलाई बाहिरिन खुला भएमा ती प्राविधिक नेपाल आउन सक्ने उनले बताए ।  

पौड्यालका अनुसार ती प्राविधिक नेपाल आउन पाउने हो भने १५ दिनभित्र काम सकिन्छ । कहिदेदेखि केवलकार संचालनमा ल्याउन सकिन्छ भनेर समय तोक्न नसक्नुमा प्राविधिक आउने दिन निश्चित नहुँदा रहेको उनले बताए । ‘हाम्रो लक्ष्य असोजदेखि व्यवसायिक रुपमा संचालन गर्ने छ । तर, त्यो सबै जापानी प्राविधिकको आगमनमा भर पर्नेछ,’ उनले भने, ‘प्राविधिकले केहीदिन लोड परीक्षण गर्नेछन । केही सफ्टवेयर जडानका काम सक्नेछन । त्यसपछि संचालनमा आउनेछ ।’  

सुरुमा दुईवर्षमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको केवलकार निर्माण झन्डै चारवर्ष हुँदा पनि पुरा हुने अवस्था छैन । समय लम्बिँदै जाँदा लगानी पनि बढ्दै गएको छ । आवश्यक पुर्वाधारसँगै तारमुनिको जग्गा पनि कम्पनिले किन्नुपर्दा लागत झन्डै २ अर्ब रुपैयाँ पुगिसकेको कम्पनिको भनाई छ । कोरोनाको कहर सुरु नहुँदासम्म केवलकारको ९२ प्रतिशत काम सकिएको थियो । तर, कोरोनाले कारण एकाएक काम रोकिएको थियो ।

 यो केवलकारमा १८ वटा डिब्बा हुनेछन् । ती हरेक डिब्बाले एकपटकमा आठजना यात्रु बोक्न सक्छन् । सेदीबाट उक्लेका यात्रु १० मिनेटमै सराङकोट पुग्न सक्नेछन् । एकघण्टामा १५ सय यात्रुलाई सराङकोट उकाल्न सकिने क्षमता रहेको कम्पनिको भनाई छ । केवलकारसँगै तल्लो र माथिल्लो स्टेशनमा रेस्टुरेन्ट पनि तयार भएका छन् । केवलकार चढेर उक्लेका र ओर्लेका यात्रुले ती रेस्टुरेन्टमा खानपिन गर्न सक्नेछन् ।  

्केवलकारले मुख्यतया दुईवटा पर्यटकीय गन्तव्यलाई जोड्छ । तल्लो स्टेशनको पोखरा क्षेत्र र माथिल्लो स्टेशनको सराङकोट दुवै गज्जबका पर्यटकीय गन्तव्य हुन् । पोखरा आएका मध्ये करिब ९० प्रतिशत पाहुना घुमघामका लागि सराङकोट उक्लिने व्यवसायीको आँकलन छ । सूर्योदय र सुर्यास्त हेर्नका लागि सराङकोटमा अधिक पर्यटक जान रुचाउँछन् । सराङकोट उक्लिने र ओर्लिने तिनै आन्तरिक र विदेशी पाहुनालाई ओहोरदोहोर गराउनका लागि बिहान ६ देखि बेलुकी ७ बजेसम्म निरन्तर रुपमा केवलकार संचालनमा ल्याउने योजना कम्पकिो छ । सुर्याेदय सुर्यास्त, हिमाली श्रृंखला, हरियाली, ताल हेर्न लालायित हुने पाहुनाका लागि केवलकार गज्जबको पूर्वाधार बन्ने आँकलन पर्यटन व्यवसायीको छ ।

प्रकाशित: ४ श्रावण २०७८ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App