२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

चामल अभाव छैन, तर अरु उपभोग्य बस्तु पाइँदैनः स्थानीय

मनाङका बाढीपीडितका लागि राहतको सामग्री पुर्‍याइँदै । तस्बिरः नागरिक

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

जेठ १५ देखि मनाङ सडक सञ्जालबाट बिच्छेद छ । स्थानीयका अनुसार अहिले पसलमा चामल बाहेकको दैनिक उपभोग्य बस्तु किन्न पाइदैन । त्यसले गर्दा बाहिरबाट गएर काम गर्ने मजदुरलाई बढी अप्ठेरो परेको छ । स्थानीयले घरमा खाद्यान्न मौज्दात राख्ने हुँदा उत्तिसारो अप्ठेरो नपरेपनि कामका लागि गएका मजदुरले भने पसलमा उपभोग्य बस्तु किन्न नपाउँदा असहज भएको छ । व्यवसायीले ढुवानी गर्न नपाउँदा पसल रित्तिएको उनीहरुको भनाई छ ।  

माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा कामका लागि पुगेका मजदुरले उपभोग्य बस्तु किन्न पाएका छैनन । सडक सञ्जाल तत्काल सुचारु हुने अवस्था नरहेको र महंगो भाडा तिरेर हेलिकप्टरबाट दैनिक उपभोग्य बस्तु ढुवानी गर्दा बढी महंगो पर्न जाने स्थानीयको भनाई छ । ‘अहिलेसम्म चामल अभाव छैन । तर, नुन, तेल, ग्यास, दाल, गेडागुडि, पिठो, अण्डा लगायतका उपभोग्य बस्तु पसलमा किन्न पाइदैन,’ मनाङका अगुवा पर्यटन व्यवसायी बिनोद गुरुङले भने, ‘चामल मात्र भएर हुँदैन । अरुपनि उपभोग्य बस्तु चाहिन्छ । तर, सबैखाले उपभोग्य बस्तु यहाँ किन्न पाइएको छैन ।’

तरकारी भने स्थानीयस्तरमै उत्पादन हुने भएकोले उत्तिसारो समस्या नभएको उनले बताए । ‘पसलमा सामान किन्न नपाउँदा बाहिरबाट मजदुरीका लागि आएका व्यक्ति मारमा परेका छन । हामीले होटलमा रहेको सामान दिएर उनीहरुलाई सहयोग गरिरहेका छौ,’ गुरुङले भने ,‘पसलमा किन्न नपाएपछि बढी अप्ठेरो छ । पसल नै रित्तिएका छन ।’  

गुरुङका अनुमानमा मनाङ ङिस्याङ गाउँपालिकामा मात्र करिब २५० जना कामदार छन् । बाहिरी जिल्लाबाट उनीहरु कामको खोजीमा मनाङसम्म उक्लेका थिए । पसलमा सामान किन्न नपाएपछि उनीहरुलाई होटल संचालकले आवश्यक उपभोग्य बस्तु उपलब्ध गराएको गुरुङले जानकारी दिए । सडक, घर, गुम्बा लगायतका निर्माणका काममा अहिले गोरखा, रुकुम, धादिङ लगायतका बाहिरी जिल्लाका कामदार छन । सडक पहुँच सहज नहुँदा उनीहरु घर फर्किन पनि सकेका छैनन । उनका अनुसार खाङसारमा मात्र बाहिरी जिल्लाका करिब ६० जना कामदार कार्यरत छन् ।  

दैनिक उपभोग्य बस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो भेगका बासिन्दाले मुस्ताङ हुँदै थोराङला भञ्ज्याङ पार गराएर आवश्यक बस्तु ढुवानी गर्ने तयारी थालेको पनि गुरुङले जानकारी दिए । उनका अनुसार मुस्ताङमा मुक्तिनाथ भन्दा माथिसम्म गाडी पुग्छ । त्यसपछि ५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य बस्तु ढुवानीको योजना बनाएको उनले बताए ।

‘मुस्ताङबाट दुईदिनमा खाद्यान्न खच्चडमार्फत टंकी मनाङसम्म झार्न सकिन्छ । तर, त्यो बाटोको अवस्था के कस्तो छ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘पर्यटकीय पदमार्ग हुँदै हिडडुल गर्नुपर्ने भएकोले ठाउँठाउँमा मर्मतसम्भार गर्नुपर्ने हुनसक्छ ।’ उपभोग्य बस्तु ढुवानीका लागि थोराङला भञ्ज्याङको विकल्प नभएको उनले बताए । हेलिकप्टरको ढुवानी महंगो हुने भएकोले पनि मुस्ताङको बाटो हुँदै ढुवानी गर्न सकिने उनले बताए ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड गण्डकी प्रदेशका प्रमुख भोजराज पाण्डेका अनुसार मनाङको हुम्देस्थित डिपोमा १५० क्वीन्टल र सदरमुकाम चामेमा ३ सय क्वीन्टल चामल मौज्दात छ । उनका अनुसार ठेकेदारले ढुवानी गर्दैगर्दा बाढीपहिरोले रोकिँदा लम्जुङको बेसीसहरमा एकसय क्वीन्टल चामल अड्किएको छ । ‘खाद्यले चामल मात्र ढुवानी गर्ने हो । अहिलेसम्म चामल अभाव छैन । तर, अरु उपभोग्य बस्तु अभाव हुन सक्छ,’ पाण्डेले भने, ‘चामलले मात्र नपुग्ने भएकोले अरु उपभोग्य बस्तु जोहो गर्ने चुनौती थपिएको हुनसक्छ ।’  उनका अनुसार बाढी पहिरो सुरु हुनु अघि २० प्रतिशत छुट दिँदा मनाङमा १७० क्वीन्टल चामल बिक्री भएको थियो । मनाङमा वर्षभरिमा १२ सय क्वीन्टल चामल खाद्यले कोटा तोकेको छ । तर, त्यहाँ बढीमा ७ सय क्वीन्टल मात्र खपत हुँदै आएको पाण्डेले जानकारी दिए ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार सडक अवरुद्ध हुँदा ‘सप्लाई चेन’ छुटेको छ । त्यसैले केही समस्या परेको हुनसक्ने उनले बताए । ‘जीवन धान्ने गरि खाद्य अभाव छैन । तर, सुविधाजनक अवस्था भने पक्का छैन,’ उनले भने, ‘एकहजार क्वीन्टल चामल र दुईसय क्वीन्टल दाल पठाउन खाद्य तथा व्यापार कम्पनिसँग सहकार्य गरिरहेका छौ ।’ उनका अनुसार गृहमन्त्रालयको पहलमा विश्व खाद्य कार्यक्रममार्फत २५० क्वीन्टल चामल आयात गर्ने तयारी भएको पनि बताए ।  

‘यहाँ खाद्य संचय गर्ने पहिलेकै चलन भएकोले अभाव नै भएको छैन । तर, कतिपय बस्तु भनेको बेला नपाउन सकिन्छ । पसल भने रित्तिएका छन । त्यसैले चाहेको बस्तु किन्न नपाइन सक्छ । तर, कोही भोकै बस्नुपरेको छैन ।’ बाढीपहिरोसँगै सहयोग आउँदा पनि सहज भएको उनले बताए । विभिन्न दाताहरुले पनि खाद्य सहयोग गर्न चाहेको तर ढुवानी खर्च महंगो पर्दा सहज नभएको उनले बताए ।  

उनका अनुसार बेसीसहर–चामे सडकबाट तत्काल ढुवानी सम्भव छैन । ‘अत्यावश्क परेमा हेलिकप्टरबाट पनि ढुवानी गर्छाै,’ उनले भने, ‘अहिले नै खाद्य अभाव भन्न मिल्दैन ।’ माथिल्लो क्षेत्रका बासिन्दाका लागि मुस्ताङको बाटो हुँदै खाद्य आपूर्ति गर्नु उपयुक्त विकल्प भएको पनि प्रजिअ लामिछानेले बताए ।  

उनका अनुसार अहिले एउटा स्काभेटर पानीमा डुबेको छ । अवरुद्ध भएको वहाव खोल्न मस्र्याङदी नदीमा पसेको बेला स्काभेटर नै बिग्रेर रोकिएको छ । त्यस्तै चामेदेखि बेसीसहरखण्डमा झन्डै आधादर्जन स्काभेटर ठाउँठाउँमा रोकिएका छन । ती साधनका लागि इन्धन अभाव भएपछि हेलीकप्टरबाट ढुवानी गर्ने तयारी भएको उनले बताए । ‘इन्धन आएपछि सहज भएसम्म सडक खोल्दै अघि बढ्ने हो,’ उनले भने, ‘सडक खोल्नासाथ आपूर्ति सुरु भईहाल्छ । तर कहिले खुल्ने भन्न सकिन्न ।’

लम्जुङको बेसीसहरदेखि मनाङको चामेसम्मको ६५ किलोमिट सडक मध्ये मनाङ खण्डमा मात्र २५ प्रतिशत सडक क्षतविक्षत भएकोले पनि स्थलमार्गबाट इन्धन र उपकरण ल्याउन नसकिने उनले सुनाए । ठाउँठाउँमा पुल बगेकोले पनि तत्काल यातायात संचालन सहज नभएको उनले बताए । 

प्रकाशित: १५ असार २०७८ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App