coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

क्षेत्रपाटीमा महासंघको आइसोलेसन केन्द्र

नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको एफएनसिसिआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत सोमबार क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पताल भवनमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा आएको छ।

महासंघले गत वैशाख २६ देखि थालेको यो अभियान अन्तर्गत हाल २ वटा आइसोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालनमा आएका छन्। अन्य थप कार्यक्रम सञ्चालनमा ल्याउने योजनामा महासंघ छ। क्षेत्रपाटी आइसोलेसनको महासंघ अध्यक्ष शेखर गोल्छा, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सोमबार शुभारम्भ गरे।

उक्त अवसरमा सिंह र खडगीले आइसोलेसन सेन्टरको प्रभावकारी सञ्चालनमा आ–आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाए। महासंघ अध्यक्ष गोल्छाले मुलुक अप्ठेरोमा पर्दा महासंघले सधैं अग्रभागमा रहेर सहयोग गरेको इतिहास रहेको बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आम मानिसको स्वास्थ्य सुरक्षा प्रमुख चासो रहेकाले महासंघले अभियान सञ्चालन गरी सहयोग गर्न हातेमालो गरेको स्पष्ट पारे। यो आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना र सञ्चालन गर्ने सम्बन्धमा महासंघ र काठमाडौं महानगरपालिका वडा १७ बीच गत वैशाख ३० मा समझदारी गरिएको थियो।

सेन्टर अहिले ५० वटा बेडबाट सुरु गरिएको छ। आवश्यकताका आधारमा विस्तार गर्दै पछि सय बेडसम्म पु¥याउने योजना छ। उक्त केन्द्रमा घर वा कोठामा आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नभएका कोभिड बिरामीलाई खाना, औषधिसहितको आइसोलेसन सेवा प्रदान गरिने छ। यस्तै, केन्द्रमा आवश्यक भए अक्सिजन दिएर प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा बिरामीलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुनेछ।

केन्द्रमा वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयंसेवकको नियुक्ति एवं परिचालन गर्ने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको व्यवस्थापन गर्ने छ भने महासंघले कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्नेछ।

त्यसैगरी, महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउन्डेसन र महानगर वडा २९ को सहयोग एवं सहकार्यमा वैशाख ३० देखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको ड्राई आइसोलेसन केन्द्र (अक्सिजन र आपतकालीन सेवा बाहेक) सञ्चालनमा ल्याएको छ। यो केन्द्रमा हाल ४० जनाले सेवा पाइरहेका छन्। यसैगरी, महासंघले स्वास्थ्य परामर्श दिन वैशाख २६ देखि हेल्लो डाक्टर कार्यक्रम सञ्चालन गरेको छ। 

प्रकाशित: ४ जेष्ठ २०७८ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App