१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

चामल माग्न बझाङबाट काठमाडौं

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई भेटेर चामल पठाउन आग्रह गर्दै बझाङको साइपाल गाउँपालिकाका जनप्रतिनिधि। तस्बिर : नागरिक

संघीय सरकारले पर्याप्त बजेट नदिएको भन्दै योजना माग्न जनप्रतिनिधि राजधानी आउनु नौलो होइन। तर बझाङका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यान्न नभएको भन्दै चामल माग्न काठमाडौं आएका छन्।

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको दूधे बालक बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई बुधबार भेटेर ध्यानाकर्षण गराएका जनप्रतिनिधिले बिहीबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेललाई पनि भेटेर चामल पठाउन आग्रह गरे।

गाउँमा खाद्यान्न उत्पादन नभएपछि जनता भोकभोकै हुने भएकाले चामल माग्न काठमाडौं आएको उपाध्यक्ष बोहोराले बताइन्। ‘गरिब जनताले छाक टार्न अन्न पाएनन्,’ बोहोराले भनिन्, ‘चामल पठाउन सरकारलाई गुहारेका छौं।’

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको छोरो बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्।

यो वर्ष खडेरीका कारण खाद्यान्न उत्पादन नभएको उनले बताइन्। ‘खडेरीले स्थानीय उत्पादन पनि भएन,’ उनले भनिन्, ‘चामल नपाए जनता भोकभोकै मर्ने अवस्था छ।’ उच्च हिमाली क्षेत्र भएकाले साइपालमा गहुँ, जौ, फापर खेती हुन्छ। यो वर्ष खडेरीका कारण अधिकांश बारी बाँझै रहेको उनले बताइन्। ‘स्थानीय उत्पादनले दुई/तीन महिनालाई पनि खान पुग्दैन,’ बोहोराले भनिन्, ‘खाद्यको कोटा पनि थोरै भएकाले चामल अभाव भएको हो।’

साइपालको जनसंख्या करिब ६ हजार छ। खाद्य कम्पनीले साइपालका लागि दुई हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। सरकारले दुर्गम जिल्लामा चामल ढुवानीमा अनुदान दिन्छ। कोटाको चामल सकिएकाले थप तीन हजार क्विन्टल चामल पठाउन अनुरोध गरेको उपाध्यक्ष बोहोराले बताइन्।  

खाद्यका सिइओ पौडेललाई भेटेका जनप्रतिनिधिले चामल पठाउने सुनिश्चित नहुँदासम्म घर नफर्किने बताए। रित्तै फर्किए जनताले घेराबन्दी गर्ने भएकाले चामल पठाउने निर्णय भएपछि मात्र घर फर्किने साइपाल गाउँपालिका–२ का वडाध्यक्ष हरिलाल बोहोराले बताए।

‘चामल पठाउने निश्चित नहुँदासम्म गाउँ फर्किंदैनौं,’ वडाध्यक्ष बोहोराले भने, ‘चामल लैजान नसके गाउँमा भोकमरी लाग्छ।’

साइपाल पुग्न बझाङ सदरमुकामबाट तीन दिन लाग्छ। निकै टाढा भएकाले निजी क्षेत्रले लगेको खाद्यान्न असाध्यै महँगो हुन्छ। सहज रूपमा चामल किन्न पनि नपाइने उनीहरू बताउँछन्। खाद्यले मोटा चामल प्रतिकिलो ५३ रूपैयाँमा बिक्री गर्छ।

साइपालमा खाद्यको अस्थायी डिपो छ। बझाङमा खाद्यान्न अभाव भएको विषयमा जनप्रतिनिधिले लिखित आवेदन दिएको सिइओ पौडेलले बताए। ‘खाद्यान्न अपुग भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराउनुभएको छ,’ उनले भने, ‘यस विषयमा हामी गम्भीर छौं।’ समस्या सम्बोधन गर्न गृहकार्य सुरु गरिसकेको र थप चामल पठाउन पहल गर्ने पौडेलले बताए। खाद्यको धनगढी डिपोबाट चामल पठाउने व्यवस्था मिलाउने आश्वासन पौडेलले दिएका छन्।

बझाङबाट चामल माग्न काठमाडौं आएको जनप्रतिनिधि टोलीमा संविधानसभा सदस्य अफिलाल ओखेडा, साइपाल गाउँपालिका उपाध्यक्ष बोहोरासहित वडा नम्बर १का वडाध्यक्ष गोपाल बोहोरा, वडा नम्बर २ का वडाध्यक्ष हरिलाल बोहोरा, वडा नम्बर ३ का वडाध्यक्ष जंगवीर बोहोरा, वडा नम्बर ४ का वडाध्यक्ष जैसिंङ बोहोरासहित छन्।  

साइपालस्थित खाद्यको अस्थायी डिपोलाई स्थायी गर्न पनि अनुरोध गरेको संविधानसभा सदस्य ओखेडाले बताए। हरेक वर्ष खाद्यान्न अभाव हुने भएकाले स्थायी डिपो राख्न आग्रह गरेको उनको भनाइ छ। ‘वर्षैपिच्छे चामल अभाव हुन्छ,’ उनले भने, ‘समस्याको स्थायी समाधान खोजिनुपर्छ।’

खाद्य कम्पनीले खाद्यान्न अभाव हुने २३ जिल्लामा चामल ढुवानी गरेर बिक्री गर्दै आएको छ। सरकारले खाद्य कम्पनीलाई चामल ढुवानी गर्न यो वर्ष ४६ करोड रूपैयाँ अनुदान दिएको छ। दुर्गम जिल्लामा व्यापारीले लगेको चामल महँगो हुने भएकाले सरकारले ढुवानी भाडामा अनुदान दिएर खुला बजारमा भन्दा सस्तो मूल्यमा चामल बिक्री गर्छ।

प्रकाशित: ६ चैत्र २०७७ ००:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App