६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

निकुञ्ज र मध्यवर्ती क्षेत्रका होटलको टेन्डर साउनमा

रसुवाको गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटल । तस्बिर : हिमनाथ/नागरिक

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने तयारी गरेको थियो।  

भूकम्पका कारण व्यवसाय धराशयी भएको र लगानी समेत नउठेको भन्दै व्यवसायीले टेन्डर रोक्न आग्रह गरेपछि टेन्डर हुन सकेन। आर्थिक वर्ष २०७५/७६ मा टेन्डर निकाल्ने तयारी भए पनि कोभिड–१९ का कारण पुनः रोकियो।

लामो समयदेखि टेन्डर प्रक्रिया अघि बढाइए पनि भूकम्प, कोभिड–१९ र व्यवसायीले राजस्व नतिरेका कारण रोकिएको प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले बताइन्। ‘हामीले अहिले प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भनिन्, ‘अब आउने साउनमा टेन्डर हुन्छ।’

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७६/७७ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले चार करोड ८६ लाख ७९ हजार रूपैयाँ राजस्व बुझाउनुपर्नेमा तीन करोड ४५ लाख ५७ हजार बुझाएका छन्।  

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन्। उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउन पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रूपयाँ वार्षिक राजस्व तिर्नुपर्छ। चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ।  

भूकम्प जानुअघि ५५ वटा होटल थिए। भूकम्पपश्चात निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो। लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ वटा र ठाडेपाटी रुटमा १६ वटा होटल छन्।

पर्यटकीय क्षेत्रहरूमा अझै पनि विदेशी पर्यटक आउन सकेका छैनन्। स्वदेशी पर्यटकको आगमन विस्तारै बढ्दै गएको छ। आएका पर्यटक गोसाइँकुण्ड गइरहेका छन्। लाङटाङ क्षेत्रमा थोरै संख्यामा नेपाली पर्यटक गइरहेका त्यहाँका होटल व्यवसायी ग्याल्बु लामाले बताए।

प्रकाशित: ४ चैत्र २०७७ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App