१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बोर्डर नखुल्दा रोकिए भारतीय पर्यटक

केही दिनअघि पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठूला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो। नेपालगन्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने खास उद्देश्य संघको थियो। त्यो अभियानका क्रममा आन्तरिक पर्यटक प्रवद्र्धनको भन्दा पनि बढी भारतीय पर्यटक नेपाल आउन नपाएको विषयमा चर्चा भयो।  

पर्यटन क्षेत्र एक वर्षदेखि पाहुनाविहीन छ। तैपनि होटलको ढोका खोेलेका व्यवसायीले यो बेला भारतीय पाहुना भित्रिने आकलन गरेका थिए। भारतीय पाहुना नेपाल आउन चाहेका पनि छन्, तर उनीहरूलाई निर्धक्क नेपाल भित्रिन दिने नगरी नाका नखुलेको व्यवसायीको गुनासो छ।  

यो भारतीयको लागि नेपाल आउने मुख्य सिजन हो। भारतीय सहरमा अधिक गर्मी हुने हुँदा उनीहरू शितल अनुभव गर्न पोखरा, चितवन, काठमाडौं लगायत सहर आइपुग्छन्। भारतीय तीर्थयात्री पनि यो बेला नेपाल आउन खोज्छन्। यो बेला मुक्तिनाथ दर्शन गर्न जाने भारतीयको भीड नै लाग्थ्यो। तर नाका नखुल्दा भारतीय आउन नसकेको व्यवसायीले बताए।  

व्यवसायीका अनुसार कोरोनाको त्रास घट्दै जान थालेपछि भारतीय नेपाल भित्रिन चाहेका छन्। भारतीयको नेपाल घुम्ने समय बाह्रै मास भए पनि मार्चदेखि बढी आउँछन् छ। उता गर्मी बढ्न थालेसँगै मार्चदेखि भित्रिने भारतीयको आगमन जुलाईसम्म हुने गरेको व्यवसायी बताउँछन्। ‘यतिबेला पर्याप्त भारतीय नेपाल आउन चाहेका छन्। तर नेपालले तिनलाई प्रवेश दिएन,’ पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष हरि शर्मा भन्छन्, ‘नाका खोल्न नेपालले नमानेको हो।’ पश्चिम क्षेत्रका व्यवसायीले पनि नाका नखोल्दा भारतीय आउन नपाएर व्यवसाय चौपटक भएको गुनासो सुनाएको शर्माले बताए।  

शर्माका अनुसार यो बेला नेपाल भित्रिएका सीमित पाहुना नाकासम्म आफ्नै सवारीमा आउँछन्। त्यसपछि पैदलै नाका पार गरेर नेपाली गाडीमा गन्तव्यसम्म पुग्ने गरेका छन्। ‘अहिले भारतीयले हिँडेर नाका पार गरिरहेका छन्, उनीहरूलाई गाडीबाट आउन रोक लगाइएको छ,’ उनले भने, ‘गाडीबाटै आउजाउ गर्न दिने हो भने कोरोनाले थलिएको पर्यटन व्यवसायमा राहत थपिन्थ्यो।’  

भारतीयहरू सकेसम्म आफ्नै गाडीमा नेपाल आउन चाहने पनि उनले बताए। ‘बारम्बार गाडी बदल्नु झन्झट हो। आफ्ना गाडी हुनेले पनि लिएर आउन पाएका छैनन्,’ उनले भने, ‘नाका नखुल्दा झमेला भएको छ।’  

उनका अनुसार कतिपयले घुम्न आउन सोधखोज पनि गरेका छन्। अहिले नेपाल आउन चाहनेमा अधिकांश धार्मिक र गर्मी छल्न चाहने भारतीय छन्। पोखरा, काठमाडौं, चितवन घुम्ने गरी आउन चाहेका थुप्रै पाहुना भए पनि उनीहरूलाई सहजै आउजाउ गर्न नदिँदा समस्या परेको शर्माले बताए। पोखरा आउने अधिकांश भारतीयले सुनौली र वीरगन्ज नाका प्रयोग गर्छन्। महाराष्ट्र भेगका भारतीय सुनौली र बंगाल, बिहारतिरबाट आउनेले वीरगन्ज नाका बढी प्रयोग गर्छन्।  

यो बेला भारतीय भित्र्याउन सके पर्यटन क्षेत्र थोरै भए पनि तंग्रिने शर्मा बताउँछन्  

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले सहज रूपमा भारतीयलाई आउन नदिँदा पर्यटन व्यवसायीले लाभ लिन नपाएको बताए। ‘नेपाल सरकारले बोर्डर खुलाउने भने पनि यातायाताका साधन लिएर आउने गरी माहोल बनाउन सकेन,’ उनले भने, ‘पर्याप्त भारतीय आउन चाहेका छन्। सहज रूपमा भित्रिन दिनुपर्छ।’  

आफ्नै गाडीमा आउन नदिने र पैदल हिँडेर वारपार गर्न पनि सहज नहुँदा भारतीय पाहुना आउन नचाहेको पोखरेलले बताए। राजनीतिक दलले हजारौं कार्यकर्ता भेला गराएर कार्यक्रम गर्ने सरकारले भारतीयलाई आउन नदिँदा व्यवसायीले लाभ लिन नपाएको उनको गुनासो छ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App