बिक्रम गुरुङले पुर्ख्यौली थलो घान्द्रुकमा यतिबेला होटल निर्माण गरिरहेका छन् । झन्डै १५ वर्ष परदेशमा बिताएका उनले आठ वर्ष अघि गाउँ फर्केर भाडाको घरमा होटल चलाइरहेका थिए । कोरिया र बेलायतमा डेढ दशक बिताएका उनले विदेशमा रहँदा आफूजस्ता काम गर्नेको इज्जत कतै देखेनन् । पैसाका लागि मात्रै काम हुने देख्दा उनलाई दिक्क लाग्यो, अनि घर फर्केर होटल सुरु गरे ।
सन् २०१२ मा उनले आफन्तकै घर भाडामा लिएर होटल चलाउन थाले । यो अवधिमा उनले घान्द्रुकमा विदेशी मात्रै नभई आन्तरिक पर्यटक पनि प्रयाप्त भेटे । होटल सञ्चालन गर्दा उनले धेरै पाहुनालाई स्वागत गर्न पाए । कहिले पाहुना धेरै हुँदा व्यवस्थापनको चटारो समेत खड्कियो उनको भनाइ छ । त्यसपछि अहिले आफैंले पुख्र्याैली जग्गामा होटल बनाउन कस्सिए । अहिले बनाइरहेको होटल आगामी वैशाखमा सञ्चालन गर्ने उनको लक्ष्य छ ।
गुरुङले अहिले २४ कोठाको सुविधा सम्पन्न होटल बनाइरहेका छन् । होटलमा पाहुना राख्न सकिने क्षमता ४८ जनाको हो, तर, सिजनको बेला ६० जनासम्म राख्नमिल्ने गरी पूर्वाधार तयार पार्दै छन् । ‘अफसिजनको बेला त खासै समस्या हुँदैन,’ उनले भने, ‘जब सिजन चल्छ, त्यो बेला व्यवस्थापनमा सकस हुन्छ । त्यहीँ भएर क्षमता बढाउन मिल्नेगरी होटल बनाएको छु ।’ दुईवर्ष अघिदेखि उनले होटल बनाउन थालेका हुन् । होटलमा करिब साढे ३ करोड रुपैयाँ लगानी पुग्ने उनले बताए । होटलको काम आधा भइसक्दा गत चैतमा एकाएक कोरोना भाइरस महामारीको त्रास सुरु भयो । त्रास मात्रै नभई लकडाउन र मुलुकभर संक्रमण फैलियो ।
कोरोनाले पाहुनाको आवतजावत ठप्प भयो । आन्तरिक पाहुना समेत गाउँ आउन सक्ने अवस्था रहेन । पर्यटनको ओरालोलाग्दो गतीले उनलाई केही पिरलो थपियो । तर, गुरुङले आँट गरे, धैर्य गुमाएनन् र साहस बटुले, अनि लगानीलाई निन्तरता दिए । ‘कोरोनाको पिरलोले बीचमा होटल बनाउने काम रोक्नैपर्छ की भन्ने पनि लागेको हो,’ उनले भने, ‘तर जे होला भनेर आँट गरेको थिए । कोरोनाको त्रास कम हुनासाथ पाहुना आउन थाल्नेमा विश्वस्त छु । त्यसपछि हामीजस्ता व्यवसायीलाई राहत दिनेछ ।’
विदेशमाभन्दा गाउँमै दुःख गर्दा आम्दानी हुने देखेर आफू होटल निर्माण गर्न लागेको उनले बताए । ‘म रोजगारीका लागि विदेशमा थिए, घरमा बालबच्चा थिए । परिवार नै बाँडिएर बस्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यही भएर विदेश जाने निर्णय छाडेर गाउँमै होटल बनाउने आँट गरेको हुँ ।’ विदेशमाभन्दा गाउँमै इज्जत र कमाई देखेर बेलायत र कोरियाको बसाइँ छाडेको उनले बताए । ‘विदेशमा चिन्ने कोही थिएनन्, यहाँ त मलाई सबैले चिन्छन,’ उनले भने, ‘परिवारसँगै बस्न पनि पाएको छु ।’ उनले आन्तरिक पर्यटकमाथि निकै भरोसा राख्छन् । विदेशीलाई मात्र प्राथमिकता दिएको देख्दा उनको चित्त बुझ्दैन । उनी भन्छन, ‘अब त आन्तरिक पाहुनाबाटै पर्यटन उकासिन्छ । आन्तरिक पाहुनाको त्यही खर्चिलो व्यवस्थाले नै मलाई पूर्वाधार बनाउन घच्घच्याएको हो ।’
घान्द्रुककै मनोज गुरुङले पनि अहिले होटल बनाइरहेका छन् । उनको परिवार भने पहिलेदेखि नै होटल व्यवसायमा थियो । तर, पुरानो क्षमताले नथेगेपछि मनोजले १२ कोठा थपेर होटलको आकार बढाउन थालेका हुन् । डेढमहिना अघिदेखि उनले होटल बनाउन थालेका थिए । कोरोना महामारीबीच पनि मनोजले करिब डेढ करोड रुपैयाँ खर्च गरेर होटलका पूर्वाधार विस्तार गर्दैछन् ।
उनी भन्छन, ‘एकवर्षमा मैले होटल तयार पार्छु । अहिलेको कोरोनाको कहर केही समयका लागि हो भन्ने लागेको छ । कोरानाको त्रास कम हुनासाथ पाहुना आउन थाल्नेछन् ।’ कोरोना सकिएर पाहुना आउन थाल्दाको दिन पर्यटनमा लाभ मिल्ने देखेर होटल बनाइरहेको उनले बताए । ‘अबको एकवर्षमा पूर्वाधार तयार भइसक्छ । त्यो बेलासम्म कोरोनाको असर पनि कम हुनसक्छ,’ उनले भने, ‘मलाई अहिले नै हतार छैन । किनकी अझै केही महिना विदेशी पाहना आउँदैनन्, तत्काल आन्तरिकको भीडभाड हुने सम्भावना पनि छैन ।’
स्थानीयका अनुसार हालचालै मात्र घान्द्रुकमा ३ वटा नयाँ होटल बनेका छन् । अरु तीनवटा निर्माण भइरहेका छन् । ‘घान्द्रुक पर्यटनले धानिएको ग्रामिण भेग हो । हामीले पर्यटकलाई सेवा दिएरै कमाई गर्ने हो,’ बिक्रम भन्छन, ‘केहीवर्ष अघिसम्म पाहुना भनेपछि विदेशी मात्र हेर्ने चलन थियो । अब त्यो सोचाइ बललिएको छ । घान्द्रुकले अहिले आन्तरिक पाहुनालाई पनि उत्तिकै महत्व दिएको छ । अबको सम्भावना पनि आन्तरिक पर्यटकबाटै हो ।’
घान्द्रुकमा अहिले गाडी पुग्न थालेसँगै आन्तरिक पाहुनाको आगमन बढ्दै गएपछि व्यवसायी पनि उत्साही भएको छन् । ‘विदेशी पाहुना हिड्न रुचाउँछन् । तर, आन्तरिक पाहुनाको पहिलो रोजाइ गाडी नै हुने रहेछ । गाडी पाएसम्म आन्तरिक पाहुना हिड्न चाहँदैनन,’ उनले भने, ‘अहिले कोरोनाले गर्दा हो । नत्र यो बेला आन्तरिक पाहुनाको भीड हामीले नै थेग्न मुस्किल हुन्थ्यो ।’
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङ पनि घान्द्रुकले पर्यटकलाई सेवा दिएकै भरमा पहिचान कमाएको बताए । ‘घान्द्रुकमा जाने भने नितान्न पर्यटक हुन् । छोटो अथवा लामो दूरीको पदयात्राका लागि पाहुना घान्द्रुक पुग्ने हुन,’ उनले भने, ‘पर्यटनले नै धानिएको गाउँ हो घान्द्रुक ।’ उनका अनुसार घान्द्रुकले पछिल्लो समय आन्तरिक पाहुनाबाट निकै नै बढी लाभ लिन सकेको छ ।
त्यसकै फलस्वरुप त्यहाँ व्यवसायीले लगानी पनि बढाइरहेका छन् । ‘कुनैबेला घरभित्रका सीमित संरचनाले पर्यटकलाई सेवा दिएको घान्द्रुक अहिले भने व्यवसायिक बन्दै गएको छ । त्यही भएर ठूलो लगानीका होटल बनिरहेका छन्,’ अध्यक्ष गुरुङले भने, ‘पुख्र्यौली घरमा पाहुना राखेको भरमा अब व्यवसाय चल्ने अवस्था छैन । अब साच्चै व्यवसायिक बन्नुपर्छ ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सन् १९८६ मा स्थापना भयो । तर, यसले औपचारिक रूपमा १९९२ देखि मात्र अन्नपूर्ण क्षेत्र पुगेका विदेशी पर्यटकको तथ्यांक राख्न थाल्यो । पछिल्लो समय (सन् २०१९) मा अन्नपूर्ण क्षेत्रमा मात्र १ लाख ८१ हजार विदेशी पाहुना पुगेका थिए । अन्नपूर्ण क्षेत्रमा वर्षभरिमा करिब तीनलाख आन्तरिक पाहुना पुग्ने अनुमान छ । आधिकारिक तथ्यांक नरहँदा आन्तरिक पाहुनाको संख्या यकिन हुने गरेको छैन ।
एक्याप क्षेत्रभित्रका बढी आन्तरिक पाहुना पाउने मुख्य गन्तव्यको रूपमा पनि घान्द्रुकले पहिचान कमाएको उनले बताए । घान्द्रुक रहे मात्र त्यो क्षेत्रको पर्यटन रहने भएकोले पनि आफुहरू घान्द्रुकलाई बचाउन हरदम प्रयासरत रहेको उनले बताए । एक्यापका अनुसार अन्नपूर्ण क्षेत्रमा मात्र ११ सय ४४ वटा होटल संचालन भएका छन् । ती मध्ये निजी जग्गामा ९ सय ३ वटा र बाँकी सार्वजनिक जग्गामा २ सय ४१ वटा बनेका छन् ।
सार्वजनिक जग्गामा एक्यापले अनुमतिमा होटल बनेका हुन् । ती होटलमा १५ सय ६४ जना मजदुर कार्यरत छन् । घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविर (एबिसी) सम्मको दूरीमा ८६ वटा होटल रहेका छन् । इलाका संरक्षण कार्यालय घान्द्रुक क्षेत्रमा मात्र २ सय ७७ वटा होटल निजी र ८३ वटा सार्वजनिक जग्गामा बनेको एक्याप प्रमुख राजकुमार गुरुङले बताए । ‘अब अन्नपूर्ण क्षेत्रले विदेशी पर्यटक कुर्नुपर्दैन, नेपालीले राम्रो ब्यापार दिन्छन,’ उनले भने, ‘नेपालीले धानिन थालेका महत्वपूर्ण गन्तव्यको रूपमा घान्न्द्रुक लगायतका क्षेत्र छन् । ती गन्तव्य कुनैबेला विदेशीको भरमा चलेका थिए । तर, अहिले आन्तरिकले पनि धानिन थालेका छन् ।’
घान्द्रुक अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविर सहित छोमरोङ, घोरेपानी, पुनहिल, टाढापानीसम्मको पदयात्रामार्गको प्रवेशद्वार हो । मोटर चल्नुअघि कास्कीको विरेठाँटीबाट घान्द्रुक पुग्न करिब ५ घन्टा पैदल हिड्नुपर्दथ्यो । तर, अहिले घान्द्रुकसम्म नै मोटर पुगिसकेको छ । मोटरको पहुँच पुगेपछि घान्द्रुमा पछिल्लो समय आन्तरिक पाहुनाको हिस्सा बढेर करिब ६० प्रतिशत पुगिसकेको थियो । दसैं, तिहार र लामो विदामा त ७० प्रतिशत आन्तरिक र बाँकी ३० प्रतिशत विदेशी पाहुना हुने गरेको व्यवसायीले बताउँदै आएका छन् ।
घान्द्रुकको यो वस्तीले ५० को दशकसम्म पर्यटनबाट खासै लाभ पाउन सकेको थिएन । व्यवस्थापन गतिलो नहुँदा विदेशीले समेत घान्द्रुकलाई उत्तिसारो रुचाउँदैन्थे । तर, अहिले भने घान्द्रुक निकै नै सुध्रिएको छ । व्यवस्थापन चिरिच्याट्ट हुँदा यहाँ पुगेका पाहुनालाई पोखरा ओर्लिन मन लाग्दैन । घान्द्रुकको मुख्य ठाउँ १९५० मिटर उचाइमा पर्छ । त्यसैले घान्द्रुकबाट अग्ला हिमाल पनि देख्न सकिन्छ । जाडोमा बाक्लो हिउँ पर्दा समेत घान्द्रुकसम्म पाहुना रमाउन पोखरादेखि आउने गर्छन् ।
पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी पनि घान्द्रुकको मौलिकताले नै पाहुनालाई तानेको बताउँछन् । ‘घान्द्रुकको भिन्दै पहिचान छ । त्यसैले त आन्तरिक पाहुनाले रुचाएको गन्तव्य हो, भण्डारीले भने, ‘नेपालको पर्यटनमा घान्द्रुकले भिन्दै महत्व राख्ने भएकोले नै आन्तरिक तथा बाह्य पर्यटकले रुचाएको गन्तव्यको पहिचान बनाउन सकेको छ ।’ घान्द्रुक अन्नपूर्ण क्षेत्रभित्रको महत्वपूर्ण गन्तव्य भएकै कारणले पहिचान पनि फराकिलो बनाउन सकेको उनले बताए ।
प्रकाशित: २२ पुस २०७७ ०२:०४ बुधबार