१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

कर्णाली नदी कटानको त्रासमा स्थानीय

कर्णाली नदीमा पानीको रङ्ग फेरिएसँगै तटीय क्षेत्रका बासिन्दाको तनाव सुरु भएको छ । केही दिन अघिसम्म निलो देखिने पानीको रङ्ग अहिले धमिलो देखिन थालेको छ । पहाडी क्षेत्रमा वर्षा भएसँगै नदीमा पानीको रङ्ग फेरिएको हो ।

नदीमा पानीको रङ्ग मात्रै फेरिएको छैन, पानीको सतह समेत बढेको छ । नदीमा पानीको सतहसँगै तटीय क्षेत्रका बासिन्दाको तनावको सतह पनि उस्तै बढ्न थालेको छ । वर्षायामसम्म जतिजति नदीमा पानीको सतह बढ्दै जानेछ त्यति नै तटीय क्षेत्रका बासिन्दाको तनावको सतह पनि बढ्दै जानेछ ।

यो समस्या तटीय क्षेत्रका बासिन्दाको वर्षेनीको नियति हो । तर यस पटक भने तटीय क्षेत्रका बासिन्दा धेरै नै डराएका छन् । उनीहरु नदी किनारको तटबन्ध भत्किए पछि विगत वर्षहरूभन्दा धेरै डराउनु स्वभाविकै हो ।

टीकापुर नगरपालिकाको पार्कदेखि कर्णाली–मोहना दोभानसम्मको अधिकांश ठाउँमा तटबन्ध जीर्ण छ । कतिपय ठाउँमा नदीले तटबन्ध बगाइसकेको छ । त्यहाँ कुनैपनि बेला नदी बस्तीतर्फ पस्ने खतरा छ । नदी बस्तीतर्फ पस्ने सबैभन्दा बढी खतरा टीकापुर नगरपालिका–५ दौलतपुरमा छ । त्यहाँ गतवर्ष समेत नदीले तटबन्ध भत्काएको थियो ।

नदीले भत्काएको तटबन्ध मर्मत गरिएको छैन । त्यस आसपासको दुई किलोमिटर तलमाथिको तटबन्धको अवस्था समेत जीर्ण छ । नदीमा पानीको सतह बढ्ने बित्तिकै कतिबेला बग्ने हो स्थानीयमा त्रास छ ।

स्थानीयले तटबन्ध भत्किएको ठाउँमा नदी कटान रोकथामका लागि पहल गरिदिन धेरै ठाउँमा भनसुन गरेका छन् । उनीहरुले मुख्यमन्त्रीदेखी उपप्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाए । सांसद र मेयरलाई पटक पटक आग्रह गरे । उनीहरुका अनुसार अहिलेसम्म कसैले पहल गरेको छैन ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले भने नदी कटान रोकथामका लागि संघीय सरकारसँग पहल भइरहेको बताए । उनले सिँचाइमन्त्री दीपक खड्काले ज्ञापन पत्र बुझ्दै नदी कटान रोकथामको प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘मन्त्रीज्यूले जसरी पनि काम गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ’ उनले भने–‘हामी काम हुनेमा आशावादी छौँ ।’

दौलतपुरमा नदी बस्तीतर्फ पस्यो भने टीकापुर नगरपालिकाका ५ वटा वडाका बासिन्दा प्रभावित हुने देखिन्छ । स्थानीय शिवराज बुढामगरले वडा नम्बर ५,६,७,८ र ९ का झण्डै ६ हजार घरपरिवार प्रभावित हुने बताए । उनले ५ वटा वडामा क्षतिको अवस्था भयावह हुने बताए ।

स्थानीयका अनुसार गतवर्ष नदी झण्डै गाउँ पसेको थियो । उनीहरुले जैविक तटबन्ध गरेर नदी कटान रोकेका थिए । उनीहरूको काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत साथ दियो । पोहोर जेनतेन रोकेको नदी कटान यो वर्ष रोक्न सक्ने अवस्था नै छैन । नदीले तटबन्ध भन्दा बाहिरको भाग समेत कटान गरिसकेको स्थानीय धर्मराज जैशीले जानकारी दिए । ‘नदी किनारमा तटबन्ध नै बचेको छैन’ उनले भने–‘यो वर्ष नदीको बहावलाई रोक्न सकिँदैन ।’

यहाँका स्थानीयले हरेक वर्ष डराई डराई बाँच्नु पर्छ । यसरी कहिलेसम्म बाँच्नुपर्ने हो उनीहरु स्वयम्लाई पनि थाहा छैन । टीकापुर नगरपालिका–५ कर्मिडाँडाका बडघर पूर्णराज बुढामगरले हरेक वर्ष मरेर बाँच्नुपर्ने बाध्यता रहेको बताए । उनले आफूहरूको पीडा कसैलाई महशुस नभएको दुखेसो पोखे ।‘हरेक वर्ष यसरी नै बाँच्नु पर्छ’ उनले भने–‘हाम्रो पीडा सुनिदिने कोही छैन ।’

कर्णाली नदीको पश्चिम किनारा कैलाली तर्फ राष्ट्रिय गौरवकोरानी जमरा कुलरीया सिँचाई आयोजनाले तटबन्ध गरेको छ । कतिपय ठाउँमा अहिले पनि तटबन्ध निर्माणको काम भइरहेको छ । कतिपय ठाउँमा ठेक्का भएर पनि तटबन्धको काम सुरु नै हुन सकेन । दौलतपुरमा तटबन्धको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाले काम नै सुरु गरेन । जसका कारण आयोजनाले निर्माण गरेको अन्य तटबन्ध नदीले बगाएको छ । एकातिर सिँचाई आयोजनाले तटबन्ध गरिरहेको छ भने अर्कोतिर निर्माण भएको तटबन्ध पनि नदीले वर्षेनी बगाइरहेको छ ।

स्थानीय अनन्त खड्काले सिँचाई आयोजनाले तटबन्धका नाममा गरेको लगानी नदीसँगै बगेर गएको बताए । ‘अहिलेसम्मको लगानी नदीमै बगेर गएको छ’ उनले भने–‘बचेको तटबन्ध पनि नदीमा बगेरै जाने हो ।’

स्थानीयको अनुभवले नदी कटान रोक्नका लागि तटबन्धको विकल्प खोज्नुपर्नेछ । पछिल्लो समय सिँचाई आयोजनाले समेत तटबन्धको विकल्प खोजेको देखिन्छ । उसले तटबन्धको विकल्पका रुपमा ‘बिग बोल्डर’ (ठूलठूला ढुङ्गा) प्रयोग गर्न थालेको छ । स्थानीयका अनुसार ‘बिग बोल्डर’ प्रयोग गरिएको ठाउँमा नदी कटान रोकिएको छ । ‘तटबन्ध भन्दा ढुङ्गाले नदी कटान रोकिएको छ’ स्थानीय खडानन्द जैशीले भने–‘अब तटबन्ध गरेर नदीमा बगाउनु भन्दा ढुङ्गाको प्रयोग गर्नुपर्छ ।’

तर, नदीको पूर्वी किनार बर्दियातर्फ भने तटबन्ध निर्माण भएको छ । स्थानीयका अनुसार त्यो तटबन्ध निकै बलियो छ । उनीहरुले बर्दियातर्फ तटबन्ध बनेपछि नदीको धार पश्चिम कैलालीतर्फ मोडिएको बताए । ‘गतवर्षदेखी नदीको धार यता मोडिएको छ’ स्थानीय नृप ठकुल्लाले भने–‘बर्दियातर्फको तटबन्धले हाम्रातिरको कटानी बढेको हो ।’

सिँचाई आयोजनाका अनुसार यो वर्ष नदी कटान रोकथामको प्रयास समेत हुने सम्भावना छैन । उसले रकम अभावको बहानामा नदी कटान रोकथाममा ध्यान दिएको छैन । आयोजनाका सूचना अधिकारी नविन पौडेलले दौलतपुरमा नदी कटान रोक्नका लागि रकम अभाव रहेको बताए । उनले माग गरिएको बजेट उपलब्ध नभएका कारण नदी कटान रोकथाममा समस्या हुने जानकारी दिए। ‘ठूलो रकम चाहिन्छ । हामीले रकम माग गरेर पठाएका थियौँ’ उनले भने–‘आर्थिक अभाव देखाएर बजेट नै स्वीकृत भएन ।’ 

स्थानीयका अनुसार कर्णाली नदीमा २०४० सालमा सबैभन्दा ठूलो बाढी आएको थियो । त्यो बाढीले तटीय क्षेत्रमा जनधनको क्षति पुर्‍याएको थियो । त्यसपछिका वर्षहरूमा समेत बेलाबेला बाढीले धेरैथोरै क्षति पुर्‍याउँदै आएको छ । नदी कटानको अवस्था हेर्दा फेरी एक पटक २०४० सालको जस्तै बाढी दोहोरिने पो हो कि भन्ने त्रासमा स्थानीय छन् । 

प्रकाशित: १० वैशाख २०८२ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App